३ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

देउवालाई पदमुक्त गर्ने निर्णयप्रति कांग्रेसको आपत्ति

नेपाली कांग्रेसका  सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेशसभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका छन्। 

बुधबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै शाहले कुनै प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुअघि सम्बन्धित सदस्यसँग आवश्यक सोधपुछ गरी आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने बताए। प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्बन्धित व्यक्तिलाई सुनुवाइको अवसर नदिई गरिएको निर्णय उचित नहुने उनको भनाइ छ। 

‘माननीय प्रकाश देउवालाई एक्कासि बर्खास्त गर्ने निर्णय सभामुखबाट भएको छ। यसको पछाडिको नियत के हो भन्ने कुरा सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्छ,’ शाहले भने। 

अमेरिकामा रहेका देउवा करिब ११ महिनादेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहेको जनाउँदै प्रदेशसभा सचिवालयले पद रिक्तसम्बन्धी टिप्पणी आदेश तयार गरेको थियो। उक्त आदेश सभामुख भण्डारीले स्वीकृत गरेपछि मंगलबार देउवालाई पदमुक्त गरिएको हो।  

प्रदेशसभा सचिवालयका अनुसार पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएपछि संविधानमा रहेको व्यवस्थाअनुसार देउवालाई पदमुक्त गरिएको हो। तर, शाहले देउवाले आफू अनुपस्थित रहेको जानकारी गराएको अवस्थामा समेत सभामुखले एकपटक पनि सोधखोज नगरी पदमुक्त गर्नु उचित नभएको दाबी गरे । उनले सभामुखको निर्णय पक्षपाती भएको समेत बताएका छन्। 

शाहले सभामुखले दलीय स्वार्थ वा प्रदेशसभाको अंकगणितलाई आधार बनाएर निर्णय गर्न नहुने भन्दै सभामुखको भूमिका निष्पक्ष र तटस्थ हुनुको साथै सभामुखबाट हुने गतिविधिको आफूहरूले निरन्तर निगरानी र विरोध गर्ने बताए।  

प्रकाशित: ३ भाद्र २०८३ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App