१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

पक्राउ पुर्जीपछि वीरगन्जका मेयर सिंह आफैं अदालतमा उपस्थित, सुनुवाइ नभएपछि फर्किए

पर्सा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी सार्वजनिक भएसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह बुधबार बिहान अदालत पुगेका छन्। तर अदालतमा मुद्दाको अत्यधिक चाप रहेका कारण सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेपछि उनी आजै फर्किएका हुन्।

अदालतले जेठ ८ गते नै महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको जानकारी सार्वजनिक भएपछि मेयर सिंह स्वयं अदालतमा उपस्थित भएका थिए। उनीसँग वीरगन्ज महानगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता कमल मोहन पोखरेल पनि अदालत पुगेका थिए।

तर अदालत प्रशासनले बुधबार धेरै मुद्दाको सुनुवाइ चलिरहेकाले मेयर सिंहको मुद्दामा सुनुवाइ गर्न समय अभाव भएको जानकारी गराएको थियो। त्यसपछि आवश्यक प्रक्रिया पूरा नगरी मेयर सिंह अदालत परिसरबाट फर्किएका हुन्।

पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवले अदालतले समय अभावका कारण मेयर सिंहलाई हाजिर गराउन नभ्याएको बताए। बुधबार अदालतमा मुद्दाको चाप अत्यधिक रहेको कानुनी सल्लाहकार अधिवक्ता कमल मोहन पोखरेलमार्फत जानकारी पाएपछि आफूहरू फर्किएको मेयर सिंहले बताएका छन्।

नेपालको कानुनी व्यवस्था अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि सम्बन्धित व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराउन सक्छ। तर व्यक्तिले स्वयं अदालतमा उपस्थित भएर कानुनी प्रक्रिया अघि बढाउने अधिकार पनि राख्छ। यस्तो अवस्थामा अदालतले उपस्थितिको अभिलेख राखेर बयान लिने तथा मुद्दाको प्रकृति हेरी थुनछेक, धरौटी, तारेख वा अन्य आवश्यक आदेश दिने व्यवस्था रहेको छ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले मंगलबार साँझ प्रहरी कार्यालयमा पक्राउ पुर्जी प्राप्त भएदेखि मेयर सिंहको खोजतलास जारी रहेको बताएका छन्।

डीएसपी बस्नेतले भने, “मेयर सिंहलाई खोजतलास जारी छ। अदालतमा उपस्थित भए/नभएको बारेमा औपचारिक जानकारी प्राप्त भएको छैन।”

मेयर सिंह अदालत पुगेको घटनापछि वीरगन्जको राजनीतिक तथा प्रशासनिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। पक्राउ पुर्जी जारी हुनुको कारण, मुद्दाको प्रकृति तथा आगामी कानुनी प्रक्रियाबारे चासो बढिरहेको छ। अदालतले अब अर्को मितिमा सुनुवाइ प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ जेष्ठ २०८३ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App