सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताएका छन्।
पूर्वसांसद मञ्च नेपालले आज ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उनले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताए।
सभामुख अर्यालले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको बताए । ‘विधेयकको निर्माण कसले गर्दिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ ?’ उनले प्रश्न गरे।
कानुनको प्रयोगकर्तालाई थाहा नदिई निर्माण भएका कतिपय विधेयकले हाम्रो भूगोल र चेतनाको स्तरलाई समेट्न नसकेको बताउँदै उनले भने, ‘कानुनको प्रयोगकर्तालाई कस्तो कानुन बन्छ भन्ने थाहा हुँदैन। हामी कानुन बनाइदिन्छौँ, तिमी प्रयोग गर’ भनेर कोसिस गर्छौँ’, सभामुख अर्यालले भने । ‘यसबाट जनताले आफूले प्रयोग गर्ने काननु थाहा पाउँदैनन् र जबर्जस्ती सो कानुन पालना गर्न बाध्य हुन्छन्।’
सभामुख अर्यालले मुलुकमा गणतन्त्रको बिहानी ल्याउन पूर्वसांसदहरुले खेलेको भूमिका असाधारण रहेको भन्दै अग्रजहरूको अनुभव र तत्कालीन राजनीतिक परिस्थितिमा गरेको सङ्घर्ष तथा पछिल्लो पुस्ताको क्रियाशीलताबाट मुलुक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे।
मञ्चका उपाध्यक्ष सुशीला शर्माले पूर्वसांसदको अनुभव र वर्तमान सांसदको क्रियाशीलताले संसदीय अभ्यासले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिन्। साथै मञ्चका कार्यवाहक अध्यक्ष विष्णुबहादुर राउतले ‘संसदीय समितिमा विधायकी अभ्यास’, ‘संसदीय समितिमा गैरविधायकी अभ्यास’ र ‘अन्तरराष्ट्रिय महासन्धि र अदालतका आदेश कार्यान्वयनमा समितिको भूमिका’ विषयमा विज्ञबाट प्रस्तुति गर्ने कार्यक्रम रहेको बताइन्।
प्रकाशित: ८ जेष्ठ २०८३ १४:३६ शुक्रबार





