राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा सडक यातायात सुचारु गर्न तथा पीडितहरूको तत्काल व्यवस्थापन र पुनर्निर्माण कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
भौगोलिक विकटताका कारण आफ्नै क्षमताले नपुगे ठूला बेलिब्रिजसहितका आवश्यक पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग लिनसमेत उनले सुझाव दिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति पौडेलले बाढीपीडितको सुरक्षित बसोबासका लागि होल्डिङ सेन्टर र यातायात सञ्चालनलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे।
साथै, जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी आसन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रधानमन्त्रीले सशक्त आवाज उठाउनुपर्नेमा उनले जोड दिए।
केही दिनअघि आफैंले गरेको स्थलगत अवलोकनको स्मरण गर्दै राष्ट्रपति पौडेलले बाढीप्रभावित क्षेत्रको जनजीवन निकै कष्टकर बनेको सुनाए। नागरिकको दैनिक जीवन सहज बनाउन तत्कालका काम तत्कालै सम्पन्न गर्न र भत्किएका संरचनाको पुनर्निर्माण कार्यलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक योजना बनाएर अघि बढाउन उनले मन्त्रीहरूलाई निर्देशन दिए।
परराष्ट्रमन्त्री खनालसँगको छलफलमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देलसमेत सहभागी थिए।
सो क्रममा मन्त्रीहरूले बाढीप्रभावित नागरिकका लागि दसैंअघि नै सडक यातायात पूर्ववत् सञ्चालनमा ल्याउने र अस्थायी टहरा अर्थात् ‘क्याप्सुल होम’ निर्माण सम्पन्न गर्ने लक्ष्यसहित चौबीसै घण्टा काम भइरहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए।
मन्त्रीद्वयले तत्कालका लागि वैकल्पिक सडक निर्माण कार्य तीव्र पारिएको र खोला तथा नदीहरूमा जोड्न आवश्यक लामा बेलिब्रिजहरूका लागि मित्रराष्ट्रहरूसँग औपचारिक आग्रह गरिसकिएको बताए।
ती आवश्यक सामग्रीहरू आउने क्रममा रहेको र बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाका लागि अन्य आवश्यक योजनाहरू पनि सरकारले द्रुत गतिमा अघि बढाइरहेको उनीहरूले अवगत गराएका थिए।
प्रकाशित: २४ भाद्र २०८३ १६:१६ बुधबार





-600x400.jpg)