नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँग जोडिएको विगतको एक रोचक प्रसंग सुनाएका छन्।
२०४६ सालको राजनीतिक परिवर्तनलगत्तै काठमाडौंको नाङ्लो रेस्टुरेन्टमा सँगै बसेर बियर पिउँदै गर्दा देउवाले कांग्रेसका शीर्ष ‘त्रिमूर्ति’ नेताहरू काम नलाग्ने अवस्थामा पुगेको र देशको वास्तविक शक्ति राजदरबारमा रहेको विश्लेषण सुनाएको कोइरालाले बताए।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै डा. कोइरालाले देउवाको राजनीतिक स्वभाव र पुरानो सम्बन्ध स्मरण गर्ने क्रममा उक्त घटना सुनाएका हुन्।
डा. कोइरालाका अनुसार २०४६/४७ सालतिर मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएपछि देउवा विदेशबाट नेपाल फर्किएका थिए। त्यसपछि गिरिजाप्रसाद कोइरालाले ‘शेरबहादुरजीलाई बोलाऊ’ भनेपछि शशांकले नै फोन गरेर देउवालाई भेट्न बोलाएका थिए।

‘त्यसपछि हामी नाङ्लो रेस्टुरेन्टमा बियर खाएर बसिरहेका थियौं,’ कोइरालाले भने, ‘उहाँ लामो समय इंग्ल्यान्ड बसेर फर्किनुभएको थियो, त्यसैले हामीबीच अंग्रेजीमा कुराकानी हुन्थ्यो। मैले सोधेँ, शेरबहादुरजी, देशमा यत्रो ठूलो परिवर्तन भयो, अब के हुन्छ ? कस्तो हुन्छ ?’
शशांकको प्रश्न सुनेपछि देउवाले कांग्रेसका तत्कालीन सर्वमान्य नेता गणेशमान सिंह, सभापति कृष्णप्रसाद भट्टराई (किशुनजी) र गिरिजाप्रसाद कोइरालाबारे निर्मम टिप्पणी गरेका थिए।
कोइरालाले देउवाको भनाइ जस्ताको तस्तै उद्धृत गर्दै भने, ‘उहाँले अंग्रेजीमा भन्नुभयो, ‘किशुनजी इज अ क्रिपल, इज सिनाइल’। ‘गणेशमान इज अ क्रिपल’। अनि ‘गिरिजाप्रसाद कोइराला इज अ स्पेन्ट फोर्स’।’
शीर्ष तीनै जना नेताहरूबारे यस्तो टिप्पणी सुनेपछि आफू स्तब्ध बनेको कोइरालाले बताए। ‘मैले भनें- के कुरा गर्नुहुन्छ तपाईं, देशमा यत्रो परिवर्तन आइसक्यो !’
कोइरालाका अनुसार तीनै जना शीर्ष नेतालाई ‘आउटडेटेड’ भनेपछि देउवाले राजदरबारतर्फ हात देखाउँदै अर्को वाक्य बोलेका थिए। ‘उहाँले प्यालेस तिर देखाएर भन्नुभयो- ‘द पावर लाइज देयर’। कोइरालाले भने, ‘नभन्दै त्यसको भोलिपल्टै उहाँ राजाको अगाडि पुग्नुभयो।’
देउवाको उक्त दृष्टिकोण विवादास्पद भए पनि आफूले त्यसलाई एउटा राजनीतिक धारणाका रूपमा सम्मान गर्ने कोइरालाले बताए।

‘सायद त्यो गलत थियो होला, तर उहाँसँग एउटा स्पष्ट धारणा त थियो। उहाँ त्यही धारणा बोकेर दृढतापूर्वक अगाडि बढ्नुभयो र नेता बन्नुभयो,’ कोइरालाले भने, ‘उहाँको त्यही स्पष्टता र आँटका कारण म उहाँलाई आज पनि धेरै सम्मान गर्छु।’
कुराकानीका क्रममा डा. कोइरालाले देउवासँगको आफ्नो सम्बन्ध दशकौं पुरानो रहेको प्रसंग पनि कोट्याए।
बीपी कोइरालाले नै देउवालाई राजनीतिमा अगाडि बढाएको स्मरण गर्दै उनले बनारसमा रहँदा आफू र देउवाले एकै दिनमा चारवटासम्म सिनेमा हेरेको र त्यस विषयमा बीपीले दिएको ‘बायोस्कोप’ सम्बन्धी रोचक उपदेशको संस्मरणसमेत सुनाए।
प्रकाशित: १४ आश्विन २०८३ १९:४७ बुधबार





