नेकपा एमालेका नेता महेश बस्नेतले चिनियाँ भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई निडर लिडरको संज्ञा दिएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले यस्तो भनेका हुन्। एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपालको भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी भारत र चीनका बिचमा भएको सम्झौताप्रति असन्तुष्टि जनाएका थिए। सोही क्रममा ओलीको यस कामको प्रशंसा गर्दै बस्नेतले उनलाई निडर लिडरको संज्ञा दिएका हुन्।
उनले नेतृत्वले प्रशंसा मात्र नभएर आलोचना, प्रश्न र असहमति पनि सहन सक्नुपर्ने बताएका छन्। साथै साँचो नेतृत्व भनेको कठिन घडीमा साहसपूर्वक निर्णय लिन सक्ने र आलोचनाको भारलाई अवसरमा रूपान्तरण गर्न सक्ने शक्ति पनि भएको उनको भनाइ छ।
बस्नेतले लेखेका छन्, 'नेतृत्व भनेको आँखामा हाले पनि नबिझाउने लालगेडी होइन। नेतृत्वले प्रशंसा मात्र होइन, आलोचना, प्रश्न र असहमति पनि सहन सक्छ। साँचो नेतृत्व भनेको कठिन घडीमा साहसपूर्वक निर्णय लिन सक्ने र आलोचनाको भारलाई अवसरमा रूपान्तरण गर्न सक्ने शक्ति हो।'
चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै चीन–भारतबिच भएको सम्झौताप्रति नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री ओलीले असन्तुष्टि प्रकट गरेका हुन्।
चीन र भारतबिच नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी भएको सम्झौताप्रति नेपालको गम्भीर आपत्ति रहेको र सुगौली सन्धिअनुसार उक्त भूमि नेपालको भएको स्मरण गराइएको थियो।
प्रकाशित: १५ भाद्र २०८२ ०८:२३ आइतबार





