नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा नवनिर्वाचित इन्द्र बानियाँले मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा नदिए लोकतान्त्रिक प्रक्रियाबाटै हटाउने चेतावनी दिएका छन्।
संसदीय दलको नेतामा पराजित भएपछि पनि मुख्यमन्त्री लामाले पद नछाड्ने अडान लिएपछि बानियाँले यस्तो प्रतिक्रिया दिएका हुन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै बानियाँले भने, ‘उहाँ (बहादुर सिंह लामा) ले अब नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियत गुमाइसक्नुभएको छ। नैतिकता र राजनीतिक इमानदारिताका आधारमा उहाँले मार्ग प्रशस्त गर्नुपर्छ।’
यो पनि पढ्नुहोस्
मुख्यमन्त्रीबाट राजीनामा दिने आधार छैन : मुख्यमन्त्री लामा
दलभित्रको प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर पक्षको रूपमा व्याख्या गर्दै उनले यो कुनै व्यक्तिगत जित-हारको विषय नभएको बताए। ‘लोकतन्त्रमा अन्तरसंघर्ष र बाहिरी संघर्ष दुवै हुन्छ। यो लोकतन्त्रको सुन्दर पक्ष हो। यो कसैको जित वा हार होइन, जिम्मेवारीको कुरा हो,’ बानियाँले भने।
उनले मुख्यमन्त्री लामाले जनता र पार्टीका सांसदहरूको भावनाको कदर गर्दै सहज रूपमा राजीनामा दिने विश्वास व्यक्त गरे। यद्यपि, उनले त्यसो नभएमा पार्टीले लोकतान्त्रिक अभ्यास र प्रक्रियाबाटै निकास खोज्ने स्पष्ट पारे।
‘उनले मान्नुभएन भने लोकतन्त्रको अभ्यास छ, पद्धति र प्रक्रियाले हामी सहज रूपमा उहाँलाई बिदाइ गर्छौं,’ उनले भने, ‘यो प्रक्रिया धेरै लामो जाँदैन।’
प्रकाशित: १४ श्रावण २०८२ १७:२७ बुधबार





