६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

विमानस्थलमा तोडे तामझाम, संसद्‌‌मा लत्याए थिति

कार्यकारी प्रमुख विदेश जाँदा विमानस्थलमा देखिने सेनाको सलामी, रातो कार्पेट, मन्त्रीहरूको लावालश्कर र फूलगुच्छाको परम्परालाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरे।

संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभामा भाग लिन गएका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण बाहिरबाट जति सादगी देखियो, उति नै संसद्लाई छलेर र परम्परागत कूटनीतिक परामर्शबिना उडेको भन्दै आलोचनाको घेरामा पनि पर्‍यो।

विमानस्थलमा देखिएको दृश्य विगतका सरकार प्रमुखहरूको भन्दा विल्कुलै भिन्न थियो। राष्ट्रिय पोसाक दौरा-सुरुवाल छाडेर कोट, पाइन्ट र स्पोर्ट्स सुजमा सजिएका प्रधानमन्त्रीलाई न त सेनाले सलामी दिए, न त कुनै औपचारिक बिदाइ समारोह नै राखियो।

अन्य सर्वसाधारण यात्रु जहाज चढिसकेपछि मात्र बालुवाटारबाट निस्किएका उनलाई बिदाइ गर्न गृहमन्त्री सुदन गुरुङ र पर्यटनमन्त्री खडकराज पौडेल मात्र विमानस्थल पुगेका थिए। उनीहरूको हातमा समेत कुनै फूलगुच्छा थिएन।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन अनौपचारिक पोसाकमै सामान्य कक्षबाट जहाज छिरे भने कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेले बालुवाटारमै पुस्तक उपहार दिएर बिदाइ गरे। विगतमा प्रधानमन्त्रीहरूले पत्नीलाई साथै लैजाने गरे पनि बालेन यसपटक एक्लै गए।

तर, विमानस्थलको सादगीभन्दा बढी प्रधानमन्त्रीले सार्वभौम संसद्प्रति बेवास्ता गरे। यसअघि तत्कालीन प्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश जानुअघि संसद्‌मा उपस्थित भएर भ्रमणका एजेन्डा सार्वजनिक गर्ने स्थापित थिति थियो।

तर, आफ्नै पार्टीको बहुमत रहेको संसद् र आफ्नै पार्टीका पूर्वसांसद रहेका सभामुख डिपी अर्याललाई समेत प्रधानमन्त्री शाहले भ्रमणबारे सामान्य जानकारी गराउन आवश्यक ठानेनन्। संसद् सचिवालयले परम्परा सम्झाउँदा समेत प्रधानमन्त्री कार्यालयबाट कुनै जवाफ दिइएन।

नेपालको संसदीय इतिहासमा २०४८ फागुन ११ गते तत्कालीन सभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ नै गरेका थिए।

तर, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बैठक छाडेर हिँडेका, आफ्नै नीति-कार्यक्रमको छलफल र सांसदहरूको प्रश्नोत्तर छल्दै आएका प्रधानमन्त्री शाहले यसपटक पनि संसद्लाई पूर्ण रूपमा उपेक्षा गरे।

परराष्ट्रमन्त्री शिशिर खनालले केही दिनअघि यसबारे सदनलाई जानकारी गराएका थिए भने मंगलबारको बैठकमा रास्वपा सांसद श्रद्धा कुँवरले प्रधानमन्त्रीलाई शुभकामना दिएकी थिइन्।

यता, कूटनीतिक दृष्टिकोणबाट पनि प्रधानमन्त्रीको भ्रमण पूर्वतयारीविहीन देखिएको छ। देशमा भर्खरै गएको भोटेकोशी बाढी र जलवायु विपद्बारे विश्व मञ्चमा उठाउने एजेन्डा तय गर्न उनले न पूर्वप्रधानमन्त्रीहरूसँग सल्लाह गरे, न पूर्वपरराष्ट्रमन्त्री वा विज्ञहरूसँग नै सुझाव मागे।

अमेरिका बसाइका क्रममा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबाहेक अन्य विश्व नेताहरूसँग कुनै साइडलाइन वार्ता समेत तय गरिएको छैन। असोज ८ मा महासभालाई सम्बोधन गरेर १० गते नै फर्कने तालिका बनाएका उनले बाँकी भेटवार्ताको जिम्मा परराष्ट्रमन्त्री खनाललाई सुम्पिएका छन्।

प्रकाशित: ६ आश्विन २०८३ २१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App