८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

एक हप्ताभित्र ‘लौरो’ फिर्ता गर्न बालेनलाई चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘लौरो’ चुनाव चिन्ह अपहरण गरेर रास्वपामा बुझाएको भन्दै फिर्ता गर्न स्वतन्त्र अभियन्ताहरूको समूहले चेतावनी दिएको छ। बिहीबार ‘लौरो अभियान, स्वतन्त्र अभियान र जेन–जी अभियान’का तर्फबाट विशेष भेला तथा पत्रकार सम्मेलन गरेर अभियन्ताहरू लौरो चुनाव चिन्ह एक हप्ताभित्र फिर्ता गर्न बालेनलाई चेतावनी दिएका हुन्। 

‘लौरो चुनाव चिन्ह कुनै व्यक्ति र संस्थाको निजी सम्पत्ति थिएन। आम नागरिकको आशा र विकल्प थियो,’ अभियन्ता डम्बर साहुले भने,‘अहिले बालेनको समूहले त्यसलाई सौदाबाजीको हतियार बनाएको, राजनीतिक बेइमानी र डकैती शैलीमा लगेर रास्वपामा बुझाएका छन्।’ 

दुई थान केन्द्रीय सदस्यका लागि अनन्तराज घिमिरे र रोहन कार्कीलाई फकाइ बालेनले लौरो अपहरण गरेको उनले बताए। ‘एक हप्ताभित्र लौरो चुनाव चिन्ह दिन बालेनलाई चेतावनी दिन्छौँ। नभए देश विकास पार्टीको कार्यालय र बालेनको घरमा विरोध तथा धर्नाका कार्यक्रम गर्छौँ,’ साहुले भने। 

लौरो चुनाव चिन्हलाई बालेनले सौदाबाजीको माध्यम बनाएको पनि स्वतन्त्र अभियन्ताहरूको आरोप छ। २०७९ को स्थानीय तह निर्वाचनपछि लौरो चुनाव चिन्हलाई स्वतन्त्र समूहको साझा मन्दिरका रूपमा जोगाइराख्न त्यति बेला हाम्रो नेपाली पार्टी बनाएको साहुले बताए। 

२०७९ को चुनावमा सोही चिन्हबाट प्रदेश र संघीय निर्वाचनमा ३६७ जना उम्मेदवार पनि मैदानमा उत्रिएको बताउँदै अहिले केवल दुई जनाले मात्रै त्यो चुनाव चिन्ह अपहरण गरेको साहुको आरोप छ। 

अनन्तराज घिमिरे र रोहन कार्कीले किर्ते गरेरै हाम्रो नेपाली पार्टीको नाम फेरेको पनि उनको अर्को आरोप छ। ‘हाम्रो नेपाली पार्टीमा पदाधिकारी पनि थिए। अभियन्ता पनि जोडिएका थियौँ। तर, दुई जनाले कसैलाई थाहा नै नदिई किर्ते गरेर निर्वाचन आयोगमा नाम फेरेका रहेछन्,’ साहुले भने। त्यसपछि बनाइएको देश विकास पार्टीलाई बालेनले रास्वपामा मिसिने क्रममा बार्गेनिङको अश्र बनाएको उनको टिप्पणी छ। 

‘बालेन लौरो अभियानका स्टेक होल्डर मात्रै थिए। तर त्यो चिन्ह उनको निजी पेवा थिएन। समग्र स्वतन्त्र अभियन्ताको आस्थाको प्रतीक थियो। अहिले प्रधानमन्त्रीको पदका लागि एकलौटी बार्गेनिङ गरेर घण्टीमा मिसाए,’ साहुले भने।

बालेन जता गए पनि स्वतन्त्र अभियन्तालाई मतलब नभएको पनि उनले बताए। अगाडि भने,‘तपाईँहरूले जसरी पार्टीलाई लगेर बुझाउनुभयो, पार्टी फिर्ता गरिदिनुहोस्। तपाईँहरू घण्टीमा जानुहुन्छ कि जता जानुहुन्छ, हामीलाई मतलब भएन।’ 

प्रकाशित: २४ पुस २०८२ १६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App