सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सांकेतिक र व्यङ्ग्यात्मक कवितामार्फत आफ्नो प्रतिक्रिया दिएका छन्।
बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक कविता पोस्ट गर्दै उनले सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।
उनले कविता मार्फत् सरकारी निर्णयका कारण नागरिकको अभिव्यक्तिमा ‘ढाट’ वा अवरोध लागेको बताए।
उनको कविताको पहिलो पङ्क्तिमै भनिएको छ- ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि।,’ अर्थात् अब सामाजिक सञ्जाल बन्द हुँदा संवाद सपनामा मात्र सीमित हुनेतर्फ व्यङ्ग्य गरेको छ।
उनले सरकारको निर्णयलाई घमण्डको संज्ञा दिँदै यसले नागरिकलाई एक हुन थप प्रेरित गर्ने आशय व्यक्त गरेका छन्। कवितामा भनिएको छ, ‘घरबाट निस्किए, मनमा एक हौँला, घमण्डको माझ परेपछि।’
प्रमुख शाहले नागरिकसँगको आफ्नो सम्बन्धलाई कुनै पनि अवरोधले तोड्न नसक्ने विश्वास दिलाउँदै लेखेका छन्, ‘हामीबीच संसार आउन सक्दैन, हात समाइदिन्छु।’
यस्तो छ उनले फेसबुकमा लेखेको कविता :
भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबीच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार फेसबुक लगायतका दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको घोषणा गरेलगत्तै प्रमुख शाहको यो कविता आएको हो।
सरकारको उक्त निर्णयको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ।
प्रकाशित: १९ भाद्र २०८२ १५:५३ बिहीबार





