राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट चुनाव लड्ने निर्णय आफैंले लिएको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै बमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने निर्णय बालेनको ‘सोलो डिसिजन’ भएको बताएका हुन्।
बमका अनुसार पार्टीले बालेनलाई काठमाडौं-२ वा चितवन-३ जस्ता सुरक्षित मानिएका क्षेत्रबाट उम्मेदवार बन्न सुझाव दिएको थियो। तर, बालेनले सुरक्षित क्षेत्रमा बसेर प्रधानमन्त्रीको दाबी गर्न आफूलाई ‘कम्फर्टेबल’ महसुस नगरेपछि झापा जाने निधो गरेका हुन्।
‘उहाँले काठमाडौं वा चितवनका सुरक्षित क्षेत्रबाट जित्न सजिलो छ भन्ने जान्दाजान्दै पनि त्यो बाटो रोज्नुभएन,’ बमले भने, ‘बालेनजीले आफैं निर्णय गर्नुभयो कि म त्यहाँ जान्छु। उहाँको त्यो तर्क र आँट देखेपछि पार्टी कन्भिन्स भयो र स्वीकृति दियो।’
बालेनले झापा रोज्नुको मुख्य कारण केपी शर्मा ओली नभई उनले प्रतिनिधित्व गर्ने प्रवृत्ति भएको बमले स्पष्ट पारे। ४० वर्षदेखिको राजनीतिक बेइमानी र सिन्डिकेटको प्रतीकका रूपमा ओलीलाई लिइएको र त्यो प्रवृत्तिलाई संसदमै रोक्न बालेन अघि सरेको उनको भनाइ छ।
‘यो केपी ओलीसँगको रिसइबी होइन, यो ४० वर्षदेखि जरा गाडेर बसेको खराब राजनीतिक प्रवृत्तिलाई रोक्ने सांकेतिक र रणनीतिक कदम हो,’ बमले भने, ‘जेन-जीको आन्दोलन र उनीहरूको भावनालाई सम्मान गर्दै त्यो प्रवृत्तिलाई रोक्ने दायित्व बालेनले लिनुभएको हो।’
प्रकाशित: १४ माघ २०८२ १९:४४ बुधबार





