८ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

ट्राफिक नियम उल्लङ्घन गरेका सांसद बब्लुले भने : अब यही जोश देश र जनताको हितमा समर्पित गर्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ताले ट्राफिक नियम उल्लङ्घन गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि क्षमायाचना गरेका छन्।

बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भएको बताउँदै उनले त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा आफूले ट्राफिक नियम उल्लङ्घन गरेको कुरा महसुस गरेको जिकिर गरे।

'अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ। बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए,' उनले सामाजिक सञ्जालमार्फत भने, 'त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु।'

यस्तै, उनले अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

'अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु!' उनले भनेका छन्।

पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनमा कडाइ गरिरहेका बेला सिरहा निर्वाचन क्षेत्र नम्बर १ का सांसदले नै यसरी नियम उल्लंघन गरेपछि सर्वसाधारणले कारबाहीको माग गरेका छन्।

भाइरल भिडियोमा सांसद गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा भिडियो बनाइरहेको देख्न सकिन्छ। गुडिरहेको सवारीसाधनमा सुरक्षाको बेवास्ता गर्दै यात्रा गरेको भन्दै सामाजिक सञ्जालमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई मेन्सन गर्दै उनीमाथि तत्काल कारबाही गर्न माग गरिएको छ।

यसअघि, गुडिरहेको कारको झ्यालबाट आधा जिउ बाहिर निकालेर रमाइलो गरिरहेको भिडियोका कारण रास्वपाकै सांसद सृष्टि भट्टराई पनि विवादमा आएकी थिइन्। सर्वसाधारणले उनीमाथि पनि कारबाहीको माग गरेपछि सांसद भट्टराईले स्पष्टीकरण दिँदै उक्त भिडियो आफ्नो सार्वजनिक जिम्मेवारी वा सांसद पदमा निर्वाचित हुनुभन्दा धेरै अगाडिको निजी समयको पुरानो भिडियो भएको बताएकी थिइन्।

यो पनि पढ्नुहोस्

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउने रास्वपा सांसद गुप्ताको भिडियो भाइरल, कारबाहीको माग

प्रकाशित: ८ श्रावण २०८३ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App