नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु सर्वसत्तावादी सोचको चरम रूप भएको टिप्पणी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले सार्वजनिक पदमा रहेका व्यक्तिको गतिविधि, न्यायिक शुद्धता र शक्तिको दुरुपयोगबारे खोजी गरी नागरिकलाई जानकारी गराउनु प्रेसको संवैधानिक दायित्व भएको बताएका हुन्।
समाचार सामग्रीप्रति असहमति वा आपत्ति भए त्यसको कानुनी प्रक्रियाबाट निरूपण गर्न सकिने व्यवस्था हुँदाहुँदै राज्यशक्तिको प्रयोग गरेर पत्रकारलाई त्रसित बनाउनु विधिको शासनविपरीत हुने उनको भनाइ छ।
‘प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले पक्राउ परेका पत्रकारलाई तत्काल ससम्मान रिहा गर्न, सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप तथा निगरानी रोक्न र आवश्यक छानबिन कानुनी प्रक्रियाबाट अघि बढाउन सरकारसँग माग गरेका छन्।
यसअघि पनि गाडी तेर्स्याएर आतंकित पार्ने प्रयास भएको उल्लेख गर्दै पौडेलले राज्यसंयन्त्रबाटै त्यस्तै व्यवहार दोहोरिनु लज्जास्पद र अस्वीकार्य भएको बताएका छन्। आफ्ना कमजोरी लुकाउन सञ्चारमाध्यमलाई त्रसित बनाउने प्रयास तत्काल बन्द गर्न पनि उनले सरकारलाई सचेत गराएका छन्।
प्रकाशित: १३ कार्तिक २०८३ १९:४९ शुक्रबार





