१८ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

इतिहास र विचार माथि आक्रमण गर्नु लोकतन्त्र विपरित हो : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टीका संयोजक माधवकुमार नेपालले राजनीतिक मतभिन्नताको नाममा इतिहास, विचार र राष्ट्रिय व्यक्तित्वमाथि आक्रमण गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित तुलसीलाल स्मृति प्रतिष्ठान स्थापना कार्यक्रममा बोल्दै उनले तत्कालीन समयमा कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित बैठकहरू नियमित रूपमा तुलसीलाल अमात्यको निवासमा बस्ने गरेको र संगठन विस्तारसँगै छुट्टै स्थानको आवश्यकता महसुस भएपछि तत्कालीन सरकारसँग पहल गरेर प्रतिष्ठानका लागि जग्गा प्राप्त गरिएको बताए। 

नेपालले हालै विभिन्न राष्ट्रिय नेताहरूका सालिक तथा स्मारकमाथि भएको तोडफोडप्रति गम्भीर असन्तुष्टि जनाए । उनले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका राष्ट्रिय विभूतिका सालिक र स्मारकमाथि भएको तोडफोडलाई ‘अपराधपूर्ण र इतिहासविरोधी कार्य’ भएको बताए । साथै राष्ट्र निर्माणमा योगदान दिएका व्यक्तित्वहरूको सम्मान जोगाउनु सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताए। 

भाषणका क्रममा नेपालले कम्युनिष्ट आन्दोलनको इतिहास अविस्मरणीय रहेको भन्दै रौतहटको इनर्वा गाउँ किसान आन्दोलनको महत्वपूर्ण केन्द्र बनेको र तुलसीलाल अमात्यको नेतृत्वमा हजारौं किसानलाई संगठित गरी सामन्ती व्यवस्थाविरुद्ध आन्दोलन सञ्चालन गरिएको बताए। उक्त आन्दोलनले बारा, रौतहट र सर्लाहीलगायतका जिल्लामा व्यापक राजनीतिक चेतना फैलाएको बताए। 

नेपालले किसान आन्दोलनले नेपालमा कम्युनिष्ट आन्दोलनलाई जनस्तरसम्म स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै २०१५ सालको आमनिर्वाचनमा कम्युनिष्ट पार्टीले चार सिट जितेको र तीमध्ये एक सिट तुलसीलाल अमात्यले जितेको तथा रौतहटबाट पनि कम्युनिष्ट उम्मेदवारहरू विजयी भएको बताए। 

उनले राजनीतिक प्रतिस्पर्धा लोकतन्त्रको स्वाभाविक प्रक्रिया भए पनि इतिहास, विचार र राष्ट्रिय व्यक्तित्वमाथिको आक्रमण सभ्य समाजका लागि स्वीकार्य नहुने बताए। 

प्रकाशित: १७ श्रावण २०८३ १४:३६ आइतबार