नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले लोकतन्त्रलाई सिध्याउने नियत बमोजिम अहिलेको राज्य पक्षबाट नेपाली कांग्रेस माथि नियोजित प्रहार गर्न खोजिएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि लगाइएको आर्थिक लेनदेनको मिथ्या आरोप लगाएर कांग्रेसलाई कमजोर बनाउने कुचेष्टा गरिएको उनले बताए।
कांग्रेसलाई कमजोर पार्न खोज्नु भनेकै लोकतन्त्र मास्ने गलत षडयन्त्रका रूपमा बुझ्नु पर्ने भन्दै उनले कांग्रेस माथिको यो प्रहारलाई सिंगो लोकतन्त्र माथिको प्रहारका रूपमा अर्थ्याए।
‘जसरी कांग्रेसका सभापति गगनकुमार थापा माथि अहिले मिथ्या आरोप लगाइएको छ, यो आरोप सरासर गलत छ,’चौधरीले भन,े ‘सभापति जी माथि यस्तो झूटा आरोप लगाएर कांग्रेसलाई कमजोर बनाउन खोजिएको स्पष्ट रूपमा बुझ्न सकिन्छ, यसर्थ कांग्रेसलाई कमजोर बनाउन खोज्नु भनेको लोकतन्त्रलाई मास्ने षडयन्त्र हो भनेर हामी सबैले बुझ्न जरुरी छ।’
यसैगरी उनले कांग्रेस माथि बुनिएको यो षडयन्त्रका विरुद्धमा नेपाली कांग्रेसले डटेर मुकाबिला गर्ने चेतावनी समेत उनले दिए।
‘जसरी नेपाली कांग्रेसलाई बदनाम गर्न यो राज्यले खोजेको छ, यो कदापि सह्य छैन,’ उनले भने ‘कांग्रेसले यसको डटेर सामना गर्छ।’
सहमहामन्त्री चौधरीले प्रेस स्वतन्त्रको पक्षमा नेपाली कांग्रेस सदैव प्रतिबद्ध पार्टीका रूपमा रहेको समेत बताए।
मुलुकको परिवर्तनका निम्ति नेपाली प्रेसले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै चौधरीले अहिलेको राज्य सत्ता पनि प्रेसको घाँटी निमोठ्न उद्धत रहेको बताए।
‘नेपाली प्रेसले खेलेको भूमिका मुलुक परिवर्तनका लागि प्रशंसनीय र उच्च छ,’ उनले भने ‘तर अहिलेको राज्य सत्ताले प्रेसको घाँटी निमोठ्न खोजेको उदाहरण हामीले देखिसकेका छौँ, यसर्थ नेपाली प्रेस माथिको यो आक्रमणका विरुद्ध नेपाली कांग्रेस अग्र मोर्चामा छ।’
यसै गरी कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य अनिता देवकोटाले नेपाली प्रेस माथि राज्य पक्षबाट गरिएको दमन कदापि स्वीकार्य नभएको बताइन्।
सञ्चार गृहमै प्रवेश गरेर पत्रकारहरूलाई नियन्त्रणमा लिने राज्यको कदमलाई राणा शासनको झल्कोका रूपमा अर्थ्याएकी देवकोटाले भनिन् ‘लोकतन्त्रमा यस्तो हुँदैन, प्रेसलाई तर्साएर आफू अनुकूल राज गर्न पाइन्छ भन्ने सोच राज्यका शासकहरूले त्याग्नु पर्छ।’
उनले नेपाली कांग्रेस सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहँदै आएको समेत बताइन्।
अर्का केन्द्रीय सदस्य प्रचण्डविक्रम न्यौपानेले नेपाली प्रेस र प्रेस स्वतन्त्रताको पक्षधर पार्टी नेपाली कांग्रेसलाई तर्साउन खोजेर राज्यले मुलुकमा लोकतन्त्र मास्ने षडयन्त्र बनाएको आरोप लगाए।
पत्रकारहरूलाई सञ्चार गृहमै पुगेर नियन्त्रणमा लिनु र कांग्रेस सभापति गगनकुमार थापा माथि लगाइएको मिथ्या आरोपको नियत लोकतन्त्रलाई धराशायी पार्ने षडयन्त्र भएको उनको भनाई छ।
यसैगरी अर्का केन्द्रीय सदस्य कमलकिशोर घिमिरेले पनि अहिले राज्यको नियत सुनियोजित रूपमा लोकतन्त्रलाई धरापमा पार्न उद्धत रहेको बताए। यसको खिलाफमा नेपाली कांग्रेस अग्र मोर्चामा रहने भन्दै उने भने ‘लोकतन्त्रलाई मास्ने वा धरापमा पार्ने जो कोहीको षडयन्त्र फेल हुन्छन्, यो षडयन्त्रको खिलाफमा नेपाली कांग्रेस अग्र मोर्चामा उभिन्छ।’
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले वर्तमान राज्य सत्ता नेपाली प्रेसलाई अंकुश लगाउने नियतमा नियोजित रूपमा लागेको भन्दै कांग्रेस सहितका विपक्षी दलहरूले यसको खबरदारी गर्नु पर्ने बताए।
प्रकाशित: २० कार्तिक २०८३ १८:४१ शुक्रबार





