श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देशका ठूला भ्रष्टाचार तथा हत्याकाण्डका फाइल खोलेर दोषीलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न दुईतिहाइ बहुमत आवश्यक परे आफ्नो पार्टी सरकार बाहिरै बसेर पनि निःशर्त समर्थन गर्न तयार रहेको बताए।
गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसद राईले विगतमा प्रचार गरिएका चर्चित फाइलहरूको अवस्थाबारे जवाफ मागे।
‘निर्मला पन्त हत्याकाण्ड, दरबार हत्याकाण्ड, गिरी बन्धु टी-स्टेट र वाइडबडी काण्डको फाइल कहाँ पुग्यो ?’ उनले प्रश्न गरे, ‘आज पक्राउ गर्ने र भोलिपल्टै छाड्ने कस्तो सुशासन हो ? के यी काण्डहरू केवल पपुलारिटीका लागि मात्रै बोलिएका थिए ?’
सरकार दुईतिहाइको नजिक रहेको स्मरण गराउँदै उनले भ्रष्टाचारीमाथि कारबाही गर्न कुनै बहानाबाजी नचल्ने बताए।
‘भ्रष्टहरूलाई कारबाही गर्न दुईतिहाइ चाहिन्छ भने भन्नुहोस्, श्रम संस्कृति पार्टी साथ दिन तयार छ,’ उनले भने, ‘हामीलाई सरकारमा जानु छैन, देश बनाउन र भ्रष्टहरूलाई थुन्न हामी बाहिरैबाट काँध हाल्न तयार छौं।’
विगतका आन्दोलनमा तोडफोड र आगजनी गर्न उक्साउनेहरू मन्त्री र सांसद बन्ने तर सामान्य नागरिकले जेल बस्नुपर्ने अवस्थाप्रति उनले आक्रोश पोखे।
‘जेन-जी आन्दोलनमा जलाऊ र ठोका भन्नेहरू आज सांसद र मन्त्री हुने, तर आन्दोलनमा सहभागी युवाहरू जेल बस्नुपर्ने ?’ उनले भने, ‘आफूले खनेको खाल्डोमा आफैं पर्नु हुँदैन, यो सरकारले दोहोरो चरित्र देखाउन बन्द गरोस्।’
बर्खे अधिवेशन अन्त्य हुन लागेको प्रसंग उठाउँदै सांसद राईले संसद् छलेर संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशितामाथि कुनै पनि किसिमको कुचेष्टा नगर्न सरकारलाई चेतावनीसमेत दिए।
आफूहरू सुतेर नभई सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर बसेको उनको भनाइ थियो।
प्रकाशित: १५ आश्विन २०८३ २०:५५ बिहीबार

