१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

कुलमानलाई प्रश्न- बालेनसँग तपाईंको सम्बन्ध राम्रो छ, भोलि नयाँ ढंगले सहकार्य हुन सक्छ ?

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भविष्यमा पार्टी एकता वा सहकार्यको सम्भावनालाई पूरै नकार्न नसकिने बताएका छन्।

राजनीतिमा जुनसुकै परिस्थिति बन्न सक्ने भन्दै उनले सही मान्छेहरूको टिम बन्ने अवस्था आए सहकार्यका सम्भावनाहरू खुला रहने बताएका हुन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै घिसिङले राजनीति सम्भावनाहरूको खेल भएकाले उपयुक्त समयमा जे पनि हुन सक्ने बताए।

रास्वपा सभापति रवि लामिछानेसँग खटपट भए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग राम्रो सम्बन्ध रहेको र भोलि नयाँ ढंगले सहकार्यको तयारी भइरहेको चर्चाबारे सोधिएको प्रश्नमा घिसिङले भने, ‘राजनीतिमा सम्भावनाहरू त धेरै रहन्छन्। जे पनि हुन सक्छ। सही समयमा त्यस्तो परिस्थिति सिर्जना हुँदाखेरि हामीले सम्भावनाहरूलाई नकारेर जान सक्दैनौँ र जाँदा पनि जाँदैनौँ। तर मुख्य कुरा, सही मान्छेहरूको टिम बन्नुपर्छ।’

प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो संवाद भएको खुलाउँदै उनले केही समयअघि भेटेर सरकार सञ्चालन र विकास निर्माणका विषयमा सुझाव दिएको जानकारी दिए।

वर्तमान सरकार र प्रधानमन्त्री सफल हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले विज्ञता र अनुभवका आधारमा सरकारलाई सहयोग गर्न आफू सधैँ तयार रहेको उल्लेख गरे।

रास्वपाभित्र हाल आन्तरिक अन्तरविरोध र विभाजनका संकेतहरू देखिएको दाबी गर्दै घिसिङले भोलिका दिनमा त्यहाँभित्रको परिस्थिति कसरी अघि बढ्छ भन्ने कुराले पनि धेरै अर्थ राख्ने बताए।

‘उहाँहरूभित्र पनि ठूलो विभाजन र समस्याहरू छन्,’ घिसिङले थपे, ‘भोलि कुनै त्यस्तो परिस्थिति सिर्जना हुन पनि सक्छ। तर अहिले नै हतारिएर रास्वपामा गएर मिसिने हाम्रो कुनै तयारी छैन।’

विगत निर्वाचनको मुखमा रास्वपासँग भएको एकता एकतर्फी रूपमा तोडिए पनि आफू व्यक्तिगत आग्रह-पूर्वाग्रहमा नरहेको उनले सुनाए।

अहिले आफ्नो सम्पूर्ण ध्यान उज्यालो नेपाल पार्टीलाई देशभर विस्तार गर्नमा केन्द्रित रहेको बताउँदै उनले भविष्यमा राष्ट्रिय हित, सुशासन र डेलिभरीका पक्षधर शक्तिहरूसँग सहकार्यको ढोका भने खुला रहने बताए।

प्रकाशित: ११ कार्तिक २०८३ २१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App