नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका सम्पूर्ण निकायहरू अन्योलको अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
वर्तमान सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै उनले अहिले देखिएका राजनीतिक तथा प्रशासनिक लक्षणहरू राम्रो नभएको बताएका हुन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारका राम्रा काममा सहयोग रहने भए पनि गलत कामको विरोध र खबरदारी गर्ने आफ्नो स्पष्ट नीति रहेको दोहोर्याए।
‘अहिले कता-कता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ,’ पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै दाहालले भने, ‘सुरुदेखि हामीले भनेका छौं, राम्रो गर्नुस् सहयोग हुन्छ, समर्थन हुन्छ। नराम्रो गर्दा आलोचना हुन्छ, टिप्पणी हुन्छ, विरोध हुन्छ। हरेक क्षेत्रमा हाम्रो त्यही भनाइ रहिआएको छ, तर अहिले लक्षण राम्रो देखिएको छैन।’
पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजलाई राष्ट्र तथा जनताप्रति थप गम्भीर र उत्तरदायी बन्न आग्रह गरे। मुलुक अन्योलतर्फ धकेलिएका बेला समाजका सबै सचेत पक्ष एकजुट हुनुपर्ने उनको भनाइ थियो।
देशको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोपरी राख्नुपर्नेमा जोड दिँदै उनले लामो बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि सबै पक्षलाई जिम्मेवार हुन आह्वान गरे।
‘सबभन्दा ठूलो कुरा राष्ट्र नै हो। राजनीतिक नेतृत्व, कर्मचारी, नागरिक समाज र सबै सचेत नागरिकहरूले फेरि राष्ट्र, जनता र आफ्नो स्वाधीनताप्रति अझ गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘हामी सबैले राष्ट्रको स्वाधीनता, देशको अखण्डता र लामो संघर्षबाट प्राप्त गरेको स्वतन्त्रता तथा लोकतन्त्रको रक्षामा केन्द्रित हुनैपर्छ।’
प्रकाशित: २० भाद्र २०८३ १७:०८ शनिबार



-600x400.jpg)

