२४ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

सहिदको नाममा गरिएको कार्यक्रममा सहिदकै अपमान भयो : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले जेनजी आन्दोलनका सहिदको नाममा आयोजित कार्यक्रममा सहिदकै अपमान गरिएको आरोप लगाएकी छन्।

आज सबैभन्दा धेरै सुनिनुपर्ने आवाज जेनजी आन्दोलनका घाइते, सहिद परिवारका सदस्य तथा आन्दोलनमा सहभागी युवाहरूको भएको बताउँदै उनले यस्तो आरोप लगाएकी हुन्। उनले पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि आवाज उठाउनुपर्ने तथा आन्दोलनका क्रममा बिनाकसुर थुनामा परेका जेनजी युवाहरूको रिहाइका लागि पहल गर्नुपर्ने बताइन्।

'आज सबैभन्दा धेरै सुनिनुपर्ने आवाज कसको थियो? जेनजीका घाइतेहरूको। आफ्ना सन्तान गुमाएका जेनजी सहिद परिवारका सदस्यहरूको। सडकमा उभिएर परिवर्तनको सपना देखेका, आन्दोलनमा होमिएका युवाहरूको। आज फेरि एकपटक पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि आवाज उठ्नुपर्ने दिन थियो,' सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, 'जेनजी आन्दोलनका क्रममा बिना कसुर थुनामा परेका जेनजी युवाहरूको रिहाइका लागि आवाज बुलन्द हुनुपर्ने दिन थियो। आन्दोलनले उठाएका मुद्दाहरूलाई कसरी संस्थागत गर्ने भन्ने बहस हुनुपर्ने दिन थियो।'

आन्दोलनले उठाएका मुद्दालाई कसरी संस्थागत गर्ने भन्ने विषयमा बहस हुनुपर्नेमा कार्यक्रमको मञ्चमा सहिदको सम्मानविपरीत व्यवहार भएको बमको आरोप छ।

'सहिदहरूको नाममा गरिएको कार्यक्रममा सहिदहरूको तस्बिरलाई पैतालाभन्दा तल, मञ्चको मुनि राखेर आफूहरू सहिदभन्दा माथि उभिए,’ बमले भनेकी छन्, ‘अनि मञ्चबाट घोषणा गरे- हामी सहिदलाई न्याय दिन्छौँ। कस्तो अद्भुत न्याय।’

बमले सरकार तथा आयोजकप्रति थप आक्रोश व्यक्त गर्दै गृहमन्त्रीको विरोध गर्नेहरूलाई थुनेर ‘आई लभ यू’को प्रायोजित नारा लगाउन लगाइएको आरोप लगाएकी छन्। उनले विभिन्न अपराधमा संलग्न रहेको आरोप लागेका धार्मिक अखडाका मठाधीशहरूको आवाजलाई जनतामाझ प्रस्तुत गरिएको भन्दै प्रश्नसमेत उठाइन्।

भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउनेहरूले नै कार्यक्रममा नैतिक भ्रष्टाचार गरेको उनको आरोप छ। 'यसरी उनीहरूले ‘आई लभ यू’को प्रायोजित नारा लगाउनका लागि गृहमन्त्रीको विरोध गर्नेलाई थुनिदिए। र जनतालाई सुनाए, धार्मिक अखडाका मठाधीसहरूको कर्कश आवाज जो विभिन्न अपराधमा संलग्न थिए,' उनले भनिन्, 'चर्को स्वरमा भ्रष्टाचारको विरोध गर्नेहरूले आज सबैको सामु मन्चबाटै नैतिक भ्रष्टाचार गरे।'

प्रकाशित: २४ भाद्र २०८३ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App