नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू र अध्यक्ष केपी शर्मा ओलीबिच फाटो ल्याउन खोजिएको बताएका छन्।
ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले पार्टी पुनर्गठन र ‘कोर्स करेक्सन’ सम्बन्धी सुझावलाई गलत रूपमा व्याख्या गरिएको बताए।
'अध्यक्षले मैले हटाउन खोजेको रूपमा बुझ्नुभएछ। कार्यदलमा आएको सुझावका आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ। उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो, दूरी बढाइयो,' उनले भने।
बैठकमा उपस्थित एक नेताका अनुसार पोखरेलले अध्यक्ष ओली र आफूबिच फाटो ल्याउने प्रयास भएको दाबी गर्दै त्यसलाई वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत गरिएको भनाइ राखे।
साथै, 'तपाईं र मेरो दूरी छैन,' महासचिव पोख्रेलको भनाइ उदृत गर्दै एक नेताले भने, 'पार्टीभित्र समस्या छन् रियलाइजेसन गरौं, अनि मात्रै समाधान हुन्छ।'
एमाले केन्द्रीय कमिटी बैठकको अध्यक्षता अध्यक्ष ओली स्वयंले गरिरहेका छन्। बैठकको सुरुआतमा उनले पदाधिकारीहरूलाई धारणा राख्न समय दिएका थिए। प्रत्येक पदाधिकारीलाई १५ मिनेट समय छुट्याइए पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले मात्रै आफ्नो धारणा राखेका छन्।
हाल बैठकमा केन्द्रीय सदस्यहरूले वर्णानुक्रमअनुसार बोलिरहेका छन्। केन्द्रीय सदस्यहरूलाई आफ्ना धारणा राख्न तीन–तीन मिनेट समय निर्धारण गरिएको छ।
प्रकाशित: ६ आश्विन २०८३ १३:३१ मंगलबार





