सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने आयुर्वेदिक औषधिको उत्पादन बढाउन जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी कार्ययोजना तयार गरिने भएको छ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफल तथा अन्तरक्रियापछि वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोली सम्मिलित कार्यदल गठन गर्ने निर्णय भएको हो।
कार्यदलले तीन महिनाभित्र वैद्यखानाको विकासका लागि कार्यान्वयनयोग्य खाका तयार गर्नेछ। स्वास्थ्य सल्लाहकार अग्रवालले मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गर्दै वैद्यखानाबाट उत्पादन हुने औषधिको संख्या बढाउन र आगामी दिनमा विदेशमा समेत निर्यात गर्ने लक्ष्यका साथ काम गर्नुपर्नेमा जोड दिए।
बैठकमा जडीबुटीलाई औषधिको कच्चा पदार्थका रूपमा प्रयोग गर्न संकलनदेखि प्रशोधन र उपभोगसम्म देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच समन्वय तथा कानुनी सुधार आवश्यक रहेको बताइएको थियो।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले किसानसँग सहकार्य गर्दै जडीबुटी उत्पादन विस्तार गर्नुपर्ने बताए। सहभागीहरूले जडीबुटी उत्पादन, संकलन र प्रशोधन बढाउन निजी क्षेत्र तथा सम्बन्धित संस्थासँग सहकार्य आवश्यक रहेकोमा समेत जोड दिएका छन्।
प्रकाशित: १५ आश्विन २०८३ १६:३९ बिहीबार



-600x400.jpg)

