नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित नौ वाम घटकबिच आज काठमाडौंको भृकुटीमण्डपमा पार्टी एकता घोषणा हुँदैछ। दिउँसो एक बजे हुने एकता सभाअघि जनप्रदर्शन हुनेछ।
एकतापछि बन्ने पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न पाँच कुने तारा हुने सहमति छ। ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने योजना छ। संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल रहने र मार्गदर्शक सिद्धान्त मार्क्सवाद(लेनिनवाद हुने सहमति भएको छ।
एकतामा सहभागी दलहरूमा माओवादी केन्द्रसँगै एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी रहेका छन्।
गत आइतबार आठ दलले सहमति पत्रमा हस्ताक्षर गरेका थिए। त्यसलगत्तै गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा पनि सहभागी भएको हो। मंगलबार माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले एकता निर्णय अनुमोदन गरेको थियो।
यद्यपि, माओवादी र एकीकृत समाजवादीका केही नेता असन्तुष्ट छन्। माओवादीमा जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरेको छ। उता, झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्री लगायत नेताहरूले एकताको विरोध गरिरहेका छन्।
नेकपा (माओवादी केन्द्र) का नेता दाहालले नेकपा (एमाले) का पूर्वनेता भीम रावल लगायतका नेताहरू पार्टी एकता प्रक्रियामा सामेल हुने सम्भावना अन्तिम चरणमा पुगेको बताएका छन्।
प्रकाशित: १९ कार्तिक २०८२ ०७:२७ बुधबार





