४ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

मोदीसँगको भेटपछि रविले भने- पुरानो संकुचन तोडेर विकास कूटनीतिको नयाँ युगमा प्रवेश गरौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि नेपाल र भारतबीचको सम्बन्धलाई पुराना अड्चनहरूबाट मुक्त गर्दै विकास कूटनीतिको नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका छन्।

बुधबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय भेटवार्तापछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

भारतीय प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो सघन र फलदायी संवाद भएको उल्लेख गर्दै लामिछानेले दुई देशबीचको भविष्यका लागि साझा दृष्टिकोण प्रस्तुत गरिएको जानकारी दिए।

उनले भनेका छन्, ‘नेपाल र भारतले विगतका संकुचनहरूलाई पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्ने प्रधानमन्त्री मोदीको दृष्टिकोणमा मेरो पनि ऐक्यबद्धता छ।’

लामिछानेले भेटका क्रममा दुई मुलुकबीचको सम्बन्धलाई परम्परागत दायराभन्दा माथि उठेर आधुनिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए। उनले विशेषगरी तीनवटा मुख्य स्तम्भहरू, साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर र सहज कनेक्टिभिटीमार्फत साझेदारी सुदृढ गर्न सकिने उल्लेख गरे।

‘हाम्रो साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर र सुदृढ कनेक्टिभिटीमा ध्यान केन्द्रित गरेर हामीले प्रगति र आपसी विश्वासमा आधारित वास्तविक साझेदारी निर्माण गर्न सक्छौं,’ लामिछानेले अगाडि भनेका छन्, ‘यी सम्भावनाहरूलाई नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यथार्थमा परिणत गर्न राष्ट्रिय स्वतन्त्र पार्टी तत्पर छ।’

यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रास्वपा सभापति लामिछानेसँगको भेटप्रति उत्साह व्यक्त गरेका छन्। मोदीले नेपाल भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गतको एक प्राथमिकताको साझेदार रहेको बताए।

भेटबारे जानकारी दिँदै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको छ। साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत र पूर्ण समर्थन गर्दछु।’

प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध विशेष र बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई नयाँ उचाइमा लैजान भारत प्रतिबद्ध रहेको बताए।

उनले आगामी दिनमा नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास समेत दिलाएका छन्।

भेटका क्रममा लामिछानेले नेपालको आर्थिक विकासमा भारतको सहयोग र सद्भावको अपेक्षा राख्दै कनेक्टिभिटी र डिजिटल पूर्वाधारमा गरिने लगानीले दुवै देशलाई फाइदा पुग्ने उल्लेख गरेका थिए।

प्रकाशित: २० जेष्ठ २०८३ १६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App