७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

चौथो दल बन्न जसपा, एस र लोसपाको प्रतिस्पर्धा

माधव नेपाल, उपेन्द्र यादव र महन्थ ठाकुर।

यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा चौथौ ठूलो दल बन्न जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)वीच प्रतिस्पर्धा भएको छ।  

नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी पहिलो, दोश्रो तथा तेश्रो दल बन्ने करिब करिब निश्चित छ तर चोथौ ठूलो दल कुन बन्छ भन्ने अझै निश्चित छैन। निर्वाचन पछि जसपा, एस र लोसपाका नेताहरू आफ्नो पार्टी चौथौ दल बन्ने दाबी गर्दै आएका छन्। यो दाबी मात्र हो। यही दल चौथौ बन्छ भन्ने संकेत र आधार कसैसँग छैन।  

यी ३ दलमध्ये सबैभन्दा धेरै सिटमा उम्मेदवारी जसपाले दिएको छ। जसपाको आधारभूमि मधेस हो। मधेस प्रदेशमा मात्रै जसपाले १७ सिटमा उम्मेदवारी दिएको छ त्यस मध्ये कम्तीमा १० सिटमा जसपा विजयी हुने जसपाका नेताहरूको भनाइ छ। देशभरी जसपाले ७९ सिटमा उम्मेदवारी दिएको छ। २०७४को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम (हालको जसपा) प्रतिनिधि सभामा १० सिटमा विजयी भएको थियो। समानुपातिक तर्फ उसले ६ सिट पाएको थियो। निर्वाचन पछि प्रत्यक्ष्य र समानुपातिक गरी प्रतिनिधि सभामा तत्कालिन संघीय समाजवादी फोरमको १६ सिट रह्यो। चुनाव लगत्तै तत्कालिन संघीय समाजवादी फोरम नेपाल र तत्कालिन नयाँ शक्ति पार्टीवीच एकीककरण भइ समाजवादी पार्टी निर्माण भयो। त्यसपछि समाजवादी पार्टीसँग १ सिट थपिएर १७ पुग्यो। २०७४ देखि अहिलेसम्म उपेन्द्र यादवले नेतृत्व गरेको दल पटक पटक फुट्दै, जुट्दै आएको छ। संसद्को अन्तिम कार्याकालमा जसपासँग प्रतिनिधि सभामा १९ जना सांसद थिए। ती बाहेक एक जना सांसद हरिनारायण यादव निलम्बनमा परेका थिए।  

जसपाका प्रवक्ता मनिष सुमनले यसपटक जसपा चौथौ ठूलो दल बन्ने निश्चित भएको बताए। ‘यसपटक लोसपाले गल्ती गरेको छ। हामीले सही निर्णय गर्‍यौ। त्यसैले यसपटक हामी चौथौ ठूलो बन्छौ’सुमनले भने,‘कम्तीमा चौथौ ठूलो दल बन्ने हाम्रो तयारी हो।’ यसपटक जसपाले अन्तिम समयमा एमालेसँग चुनावी सहकार्य गरेको छ। जसमध्ये एमाले र जसपाले ५२ सिटमा तालमेल गरेका छन्।  

नेकपा (एस)ले यसपटक देशभर २१ सिटमा उम्मेदवारी दिएको छ। यो पार्टी अहिले सत्तारुढ ५ दलीय गठबन्धनमा आबद्ध छ। एसका नेताहरूले देशभरीको चुनावी आँकलन पछि नेकपा (एस) चाथौ ठूलो दल बन्ने अबस्थामा रहेको बताएका छन्। नेकपा (एस)का उपमहासचिव जगन्नाथ खतिवाडाले यसपटक नेकपा (एस) चौथौ ठूलो दल सजिलै बन्ने बताए।। ‘हामीले देशभरी चुनावी आँकलन गरीरहेका छौ। एक दुई सिट तलमाथि हुन सक्छ तर हामी सजिलै चौथौ ठूलो दल बन्छौ’खतिवडाले भने।  

यसैगरी लोसपाले पनि प्रतिनिधि सभा निर्वाचनमा चौथौ ठूलो दल बन्ने दाबी गरेको छ। मधेस प्रदेश लोसपाका आधारभूमि हो। यस क्षेत्रमा लोसपाले ९ सिटमा उम्मेदवारी दिएको छ। त्यस मध्ये ७ सिटमा नेपाली कांग्रेस, माओवादी र एससँग चुनावी तालमेल गरेको छ भने बाँकि २ सिटमा मित्रवत्र प्रतिष्पर्धा गरेको लोसपाका नेताहरूले जनाएका छन्। लोसपाले देशभर ५१ सिटमा उम्मेदवारी दिएको छ।

तत्कालिन राष्ट्रिय जनता पार्टी (हालको लोसपा)ले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष्य तर्फ ११ र समानुपातिक तर्फ ६ सिट ल्याएको थियो। चुनाव लगत्तै तत्कालिन राजपा चौथौ ठूलो दल बनेको थियो तर चौथौ ठूलो दल बन्ने अवसर राजपाले धेरै बेर पाएन। चुनाव लगत्तै तत्कालिन संघीय समाजवादी फोरम र तत्कालिन नयाँ शक्ति पार्टीवीच एकीकरण भइ समाजवादी पार्टी गठन गरियो। त्यस पछि त्यस पार्टीको सिट १७ पुग्यो। त्यतिबेला राजपा र समाजवादी पार्टी बराबारी हैसियतमा रहे। प्रतिनिधि सभाको अन्तिम कार्यकालमा लोसपाको सिट संख्या १४ थियो। त्यसमध्ये एक जना सांसद रेशम चौधरी निलम्बनमा परेका थिए।  

लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले निर्वाचन पछि चौथौ ठूलो बन्ने लोसपाको तयारी भएको बताए। ‘निर्वाचन पछि हामी चौथौ ठूलो दल बन्छौ। यो हाम्रो दाबी मात्र होइन, तयारी पनि हो’ झाले भने। लोसपाले मधेस प्रदेशमा प्रत्यक्ष्यतर्फ ६ देखि ७ सिटमा विजयी हुने प्रारम्भिक अनुमान गरेको छ।  

यी ३ दल बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नागरिक उन्मुक्ति पार्टीका नेताहरूले पनि निर्वाचन पछि आफ्नो दल चौथौ ठूलो दल बन्ने दाबी गरेका छन। नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक निर्वाचनमा भाग लिन लागेको हो।

प्रकाशित: १ मंसिर २०७९ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App