९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

जो नागरिक भइरहन भोट खसाल्छन्

बन्देश्वर पासवान,भगवानपुर, सिरहा।

चुनावी रौनकले गाउँसहर उत्साहित भएका बेला सिरहा भगवानपुर–२ पासवान टोलका सुकुमबासी बिन्देश्वर पासवानको मुहारमा कुनै उत्साह देखिँदैन। उनका लागि चुनावमा भोट खसाल्नु भनेको नागरिक भएको प्रमाण हो। भोट नखसाले समाजले नागरिक नै नभएको भन्ने डरले उनले भोट खसाल्दै आएका छन्।  

सिरहा १ मा पर्ने भगवानपुरका बिन्देश्वरको भोटले २०४८ देखि २०७४ सम्म कैयन् नेता सांसद र मन्त्री भए। उनीहरूको जीवनशैली फेरियो, हैसियत फेरियो अनि पहिचान फेरियो। तर बिन्देश्वरको दुःख ज्यूँका त्यूँ छ। उनी त्यतिबेला पनि सुकुमबासी थिए, अहिले पनि छन्। बनिबुतो गरेर परिवार धान्दै आएका बिन्देश्वरका दुई छोरा र दुई छोरी छन्। एक छोरी र दुई छोराको विवाह भइसकेको छ। कान्छी छोरीको विवाह हुन बाँकी छ।  

तीन वर्षअघि नाति प्रताप पासवानलाई घरअगाडिको सडकमा गाडीले ठक्कर दियो। उनको दाहिने खुट्टामा चोट लागेपछि लहान अस्पतालमा उपचार सम्भव भएन। चिकित्सकले विराटनगर सिफारिस गरिदिए। विराटनगरमा उपचार गराउँदा एक महिनामा २ लाख ऋण लाग्यो। सुकुमबासी उनलाई यति धेरै रकम कुनै साहुले पत्याएनन्। ‘चार–पाँचजनासँग मागेर त्यति रकम जुटाई अस्पतालाई बुझाएर नातिलाई घर ल्याएँ,’ उनी भन्छन्, ‘पैसा पनि गयो नातिको खुट्टा पनि निको भएन, सुक्दै गयो।’ चिकित्सकले फेरि अप्रेसन गर्नुपर्ने भन्दै थप २÷३ लाख रकम जोहो गर्न भनेपछि बिन्देश्वरको आँट पुगेन। कारण, पहिलाकै २ लाख ऋणले थिचिएका उनीसँग थप ऋण लिने सामथ्र्य थिएन। सहयोगका लागि सांसददेखि गाउँका मुखिया सबैलाई गुहार्दा पनि कतैबाट कुनै सहयोग नभएको उनले बताए।  

‘नातिलाई देख्दा मन विचलित हुन्छ,’ घरनजिकै खेतमा भैंसी चराउँदै गरेका बिन्देश्वरका आँखा आँसुले भरिए। आफूलाई नेताहरूमाथि कुनै भरोसा नरहेको उनले बताए। ‘चुनावका बेला संसारै नाम गरिदिन्छु भन्छन् तर दुःख पर्दा फर्केर हेर्दैनन्,’ गम्छाले आँसु पुछ्दै उनले भने, ‘नेताले केही गरिदेलान् भन्ने आशामा भोट हाल्न छाडिसके। यसपालि नागरिकताको लाज राख्न, नागरिक भइराख्न भोट खसाल्छु।’  

छोरीको पनि विवाह गर्ने बेला भइसक्यो। समाजमा कुरा काट्नेहरू दिनदिनै बढ्दैछन्। जतिजति दिन बित्दैछन्, बिन्देश्वरको छोरी विवाह गर्ने चिन्ता पनि बढ्दैछ। तर उनी विवश छन्। ‘हामी गरिबको जिन्दगी ऋणमै सकिन्छ,’ उनले भने, ‘नातिको उपचार पनि साहुसँग कर्जा बोकेरै गरें। अझै ब्याज तिर्न बाँकी छ।’

छोरीको बिहे गर्ने बेला भइसक्यो। बिहेमा लाग्ने खर्चका लागि ऋण मात्र विकल्प छ। पहिलाकै ऋण तिर्न बाँकी रहेका बेला थप ऋणका लागि साहुले नपत्याउने भन्दै उनी चिन्तित छन्। ‘हाम्रो समुदायमा पनि अब दहेज (दाइजो) माग्न थालियो,’ बिन्देश्वर भन्छन्, ‘कहाँबाट ल्याउनु दहेज दिन पैसा ?’ विवाहमा कम्तीमा पनि १÷२ लाख खर्च हुने भन्दै उनले थपे, ‘हजार पनि नभएको मान्छेले लाख कहाँबाट ल्याउने ? मजदुरी गरेर आर्जन गरेको १० धुर घडेरी पनि गत साल बेच्नुप¥यो। ऐलानी जमिनमा घामपानीबाट ओत लाग्ने छाप्रो बाँकी छ।’

सोही गाउँकी सुकनी बच्चा जन्माउँदादेखि विवाह गर्दासम्म साहुमहाजनकै अगाडि ऋणको हात फैलाउनुपर्ने बताउँछिन्। ‘अर्कालाई सांसद र मन्त्री बनाउँदै जिन्दगी बित्न लाग्यो। कसैले गरिबको दुःख दूर गर्नेतर्फ सोचेनन्। यसपालि नेतालाई सांसद बनाउन होइन, नागरिक भइराख्न भोट हाल्छु,’ उनी भन्छिन्, ‘हामीलाई भोट दिनू, हामी तपाईंको समस्या सामाधान गरिदिन्छौं भन्ने नेता धेरै देखें। भोट त हाल्छु नागरिकताका खातिर तर नेताका खातिर हाल्दिन। जायजेथा नभएका सुकुमबासीलाई नेता होइन, साहुबाहेक कसैले ऋण पत्याउँदैन। साहुले ऋण त दिन्छ तर ब्याजले जिन्दगीभर बन्धक बनाइदिन्छ।’

सुकनीले जेठी र माइली छोरी फूलकुमारी र घुरनीको विवाहका लागि गाउँकै साहुसँग लिएको ऋण तिर्न भएको १० धुर घडेरी बेचिन्। ‘त्यस पैसाले पनि सबै ऋण तिर्न सकिएन,’ उनले पीडा सुनाइन्, ‘साहुले अझै डेढ लाख बाँकी छ भन्छन्। साइँली छोरीको विवाह गर्ने बेला भइसक्यो। बिहेमा लाग्ने खर्चका लागि ऋण मात्र विकल्प छ।’ पहिलेकै ऋण तिर्न बाँकी रहेका बेला थप ऋणका लागि साहुले नपत्याउने भन्दै उनी चिन्तित छन्। ‘हाम्रो समुदायमा पनि अब दहेज (दाइजो) माग्न थालियो,’ सुकनी भन्छिन्, ‘कहाँबाट ल्याउनु दहेज दिने पैसा ?’ विवाहमा कम्तीमा पनि २÷३ लाख खर्च हुने भन्दै उनले थपिन्, ‘सुकुमबासीलाई कसले उधारो पत्याउने ?’

सोही टोलकी अरहुली मलिकको अत्यास पनि उस्तै छ। गरिबीकै कारण खर्च धान्न नसकेर अरहुलीले दुई छोरी रञ्जिता र गुन्जाको विवाह एकैदिन एउटै मण्डपमा गरिदिइन्। ‘दुवै छोरीलाई एउटै मण्डपमा विवाह गर्दा पनि ४ लाख खर्च भयो,’ उनले भनिन्। आफूसँग भएको पैसाले नपुगेपछि उनले पनि साहुसँग १०० रुपैयाँको प्रतिमहिना ५ रुपैयाँ ब्याज तिर्ने सर्तमा ऋण लिएर विवाह सम्पन्न गरेको उनले बताइन्। ‘अझै डेढ लाख ऋण बाँकी नै छ। महिनाको साढे ७ हजार त ब्याज मात्रै बुझाउनुपर्छ,’ उनले भनिन्।  

भोटका बेला प्रकट हुने नेता दुःखका बेला अलप हुने उनी बताउँछन्। ‘दुःखमा मलम नलगाइदिनेलाई किन भोट दिनु ? यसपालि भोट खसाल्न मनले मान्दैन तर समाजको डर छ,’ उनले भनिन्, ‘भोट नहाले समाजले गैरनागरिक भनिदेला भने डर छ।’ डोम समुदायकी उनले सुँगुर पाल्ने, बाँसका सामग्री बनाएर बिक्री गर्ने काम गर्दै आएका छन्। पछिल्लो समय सुँगुरपालनमा गाउँसमाजले लगाम लगाउन थालेको छ। बाँसका सामग्रीको विकल्पका रूपमा फाइबर र प्लास्टिकका आकर्षक सामग्रीले बजारमा कब्जा जमाउँदै गएको छ। लगनको महिनामा बाँसका सामग्री बेचेर १ लाखसम्म कमाइ गरेको विगत सम्झँदै अरहुलीले भनिन्, ‘अहिले २०/३० हजार कमाउन पनि धौधौ पर्छ। यो कमाइले दालचामल किन्दै ठिक हुन्छ। साहुको ब्याज र साँवा कहाँबाट चुक्ता गर्नु ?’

अरहुलीकी सासू जहरी मलिक भन्छिन्, ‘हामी गरिबको जिन्दगी ऋणबाटै सुरु हुन्छ, ऋण बोकेरै सकिन्छ।’ बच्चा जन्माउन अस्पताल जाँदा पनि पहिले ऋण नै खोज्नुपर्ने उनले सुनाइन्। यतिबेला यो समुदाय आजीवन ऋणी हुनुपर्ने अवस्थाबाट मुक्ति खोजिरहेको छ तर विकल्प भेटेको छैन। श्रम गर्ने सीप भएको यो समुदाय भरपर्दो रोजगारी खोजिरहेको छ। भरपर्दो रोजगारीको व्यवस्था गरिदिने नेता खोज्ने सिरहाका यी प्रतिनिधि पात्र मात्र हुन्। मधेस प्रदेशको झन्डै १५ लाख गरिब जनसंख्या अरहुलियाहरूजस्तै भरपर्दो रोजगार दिने प्रतिनिधि खोजिरहेका छन्। लोकतन्त्र र संघीयतासँग उनीहरूले गरेको अपेक्षा पनि यही हो। संघीय नेपालको मुख्य चुनौती भनेकै पिँधका जनताका अप्ठ्यारा र आकांक्षाको सम्बोधन गर्नु हो। गरिबी र अभावसँग जुध्दै गरेको यो वर्गको स्वरलाई बेवास्ता गरियो भने संघीयता अभ्यासको जगलाई बलियो बनाउँदैन। सुकनी र अरहुली, बिन्देश्वर गरिबी र अभावको जिन्दगी बाँच्दै आएका प्रतिनिधि नागरिक हुन्। यो व्यथा सिंगो मधेसका विपन्न वर्गको हो। समाजको ठुलो हिस्सा ओगट्ने यो वर्ग स्वस्थ र सन्तुलित सेवासुविधाका लागि लामो समयदेखि प्रतीक्षारत छ।

प्रकाशित: १ मंसिर २०७९ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App