७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

श्रेष्ठ कि धमला?

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसले ध्यान नपुर्‍याउँदा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई केही सहजता मिलेको छ। वाम-लोकतान्त्रिक गठबन्धनका कारण नेपाली कांग्रेसका प्रभावशाली नेता ध्यानगोविन्द रञ्जित काठमाडौं ९ बाट उम्मेदवार बन्न नपाउँदा श्रेष्ठलाई जित निकाल्न सहज भएको विश्लेषण राजनीतिक वृत्तमा गर्न थालिएको हो।

पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं ९ बाट निर्वाचित रञ्जितको यस क्षेत्रमा राम्रो प्रभाव छ। यसपटक सत्तारूढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला उम्मेदवार भएपछि यो क्षेत्रका केही कांग्रेस नेताकार्यकर्ता निरास देखिएका छन्। धमलाको प्रतिस्पर्धा एमालेका श्रेष्ठसँग हुनेछ। श्रेष्ठ अघिल्लो पटक यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

‘कांग्रेस बलियो भएको ठाउँमा कमजोर धरातल रहेको माओवादीले टिकट पाएको छ,’ चन्द्रागिरि १ का महेश गजुरेलले भने, ‘यस्तोमा गठबन्धनलाई केही अप्ठेरो अवश्य नै छ।’ जित निकाल्न गठबन्धनकी उम्मेदवार धमलाले निकै मेहनत गर्नुपर्ने उनले बताए। यो क्षेत्रमा कांग्रेसबाट जो कोही उम्मेदवार बनेको भए पनि जित निश्चित भएको उनको बुझाइ छ। उनले भनेजस्तै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन परिणामअनुसार यो क्षेत्रमा कांग्रेस र एमालेको मत बराबरीजस्तै छ। स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षहरूले १९ हजार ९ सय १६ र एमालेका वडाध्यक्षले १९ हजार २ सय ८२ मत ल्याएका छन्।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार एमालेका श्रेष्ठले कांग्रेसका तत्कालीन उम्मेदवार ध्यानगोविन्द रञ्जितलाई पराजित गरे पनि त्यो गठबन्धन अहिले टुटेको छ। वाम गठबन्धन टुटेको र एमाले पनि फुटेका कारण श्रेष्ठलाई जित निकाल्न मुस्किल थियो। तर सत्ता गठबन्धनले माओवादी केन्द्रकी धमलालाई उम्मेदवार बनाएपछि एमालेका नेताकार्यकर्ता जित निकाल्न सहज हुने भन्दै हौसिएका छन्।

‘अघिल्लो पटक चुनाव जितेका एमालेका कृष्णगोपाल श्रेष्ठले यो क्षेत्रमा केके काम गरे या गरेनन् भन्दा पनि प्रतिस्पर्धी सशक्त नहुँदा उनलाई केही सहजता मिलेको छ,’ गजुरेल थप्छन्, ‘यसपटक कांग्रेसबाट उम्मेदवार भएको भए श्रेष्ठ निकै दबाबमा पर्थे।’

अघिल्लो चुनावमा यो क्षेत्रबाट उठेका विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले ४ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए। तिनै पाण्डे यसपटक साझा पार्टी नेपालबाट उम्मेदवार बनेपछि चुनावी रौनक बढेको छ। पुराना पार्टीको विकल्प खोज्ने पाण्डे गतिलो उम्मेदवार भएको कतिपयको बुझाइ छ। ‘धेरैले परिवर्तन खोजेका छन्,’ रूपक गौतम भन्छन्, ‘यस्तोमा युवा नेता पाण्डे विकल्प बन्न सक्ने छन्। उनले यसो भने पनि विभिन्न खाले स्वतन्त्र उम्मेदवार भएकाले परम्परागत दल नै बलियो हुने अवस्था देखिएको छ।

काठमाडौं ९ मा काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिकाका गरी १४ वटा वडा पर्छन्। स्थानीय तह निर्वाचनमा कांग्रेस ८ वडा र एमाले ६ वडामा विजयी भएको अवस्था छ। यस्तोमा गठबन्धन दलकी उम्मेदवार धमला नेपाली कांग्रेसको पुरै मतमा भर पर्नुपर्ने देखिन्छ। ‘कांग्रेसका नेताकार्यकर्ता सबैले भोट हाले धमलाको जित हुने सम्भावना छ,’ टेकुका प्रमेन्द्र महर्जन भन्छन्, ‘यसमा गठबन्धनका अरू दलका नेताकार्यकर्ता पनि इमानदार हुनुपर्छ। काठमाडौं ९ मा ७२ हजार १ सय ७३ मतदाता छन्।  

प्रकाशित: १ मंसिर २०७९ ००:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App