१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सुनसरी १: अशोक राईलाई एमालेको भर, एमालेकै डर

स्वतन्त्र उम्मेदवारहरु दुवै गठबन्धनलाई भारी

सुनसरी क्षेत्र नं १ मा एमाले जसपा उम्मेद्वार अशोक राई, गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) र बागी स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बो। तस्बिर: नागरिक

२०४६ सालको राजनीतिक परिवर्तन पछि भएको सबै निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट कम्युनिष्ट उम्मेद्वारले जितेका छन्। ती मध्ये २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीले जितेको थियो भने अन्य सबै ५ वटा निर्वाचनमा एमालेको जित भएको थियो।

एमालेले लालकिल्ला मान्दै आएको यो क्षेत्रमा यसपाली मंसिर ४ गतेको निर्वाचनमा भने प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार उठाएको छैन। चुनावी तालमेल गर्दा एमालेले सुनसरी १ मा प्रतिनिधिसभाको टिकट जनता समाजवादी पार्टीलाई सुम्पियो। यो क्षेत्रबाट एमालेको साथमा जसपा नेता अशोककुमार राई चुनावी मैदानमा छन्।  

हेभिवेट नेताको सुचीमा पर्ने राई एमालेको साथ पाउदा पनि ढुक्क भने छैनन्। उनलाई एमालेकै असन्तुष्ट पक्षबाट अन्तरघात हुने डर छ। अहिले एमाले–जसपा नेताहरुले मतदाता माझ राईलाई राष्ट्रियस्तरका नेताको रुपमा प्रचार गर्दै जितेर गएपछि मन्त्री हुने पक्का छ भन्दै कार्यकर्ता र मतदाताहरुलाई रिझाउनु परिरहेको छ।  

सुनसरी १ बाट एमालेबाट जयकुमार राईको एकल नाम सिफारिश भएको थियो। उनी १० बुँदे पक्षधर नेता हुन्। अन्तिम समयमा जसपासँग तालमेल हुँदा एमाले गढमा पहिलो पटक उम्मेद्वारविहिन हुनुपर्दा स्थानीय नेता, कार्यकर्ताहरुमा तीव्र असन्तुष्टी छायो। निर्वाचनको संघारमै आइसक्दा असन्तुष्टी केही मत्थर भएको देखिएपनि भुसको आगो जस्तै भएको कतिपय एमाले नेताहरु नै स्वीकार गर्छन्। यसअघि २०७४ को निर्वाचनमा एमालेका जयकुमार राईसँगै नै अशोक राई दोब्बर मतान्तरले पराजित भएका थिए।

असन्तुष्ट नेता, कार्यकर्ताहरुले एमालेकै प्रदेश १ कमिटी सचिवालय सदस्य तथा धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोलाई बागी स्वतन्त्र उम्मेद्वार बनाए। उनको पक्षमा थुप्रै एमाले नेता, कार्यकर्ताहरु खुलेर चुनावी अभियानमा लागेका छन्। पार्टीले मेन्याङबोसहित दर्जन नेता, कार्यकर्ताहरुलाई कारबाही गरेपनि चुनावी अभियान यति तीव्र बनाएका छन् कि अशोक राई ढुक्क हुने स्थिति छैन।

सुनसरी १ यस्तो निर्वाचन क्षेत्र हो, जहाँ पहिलो स्थानको पार्टी एमाले र दोस्रो स्थानको नेपाली कांग्रेसको पनि आफ्नो उम्मेद्वार छैन। एमालेका कार्यकर्ताहरु जसपाको छातामा भोट मागिरहेका छन् भने कांग्रेसले माओवादी केन्द्रको गोलाकारभित्र हँसियाहथौडामा भोट माग्नुपरिरहेको छ। सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) उम्मेद्वार छन्।  

शीर्ष नेताहरुको स्वार्थले आफ्नो पार्टीको चुनाव चिह्न छोडेर अरुकोमा भोट माग्नुपर्ने भन्दै कार्यकर्ताहरु असन्तुष्ट छन्। उनीहरुले मंसिर ४ मा विद्रोह गर्लान्? अशोक राई र गठबन्धनका मुक्सामहाङ मेन्याङ्बोको भाग्य यसैमा निर्भर छ। एमाले परित्याग गरेर स्वतन्त्र उम्मेद्वारी दिएका मनोज मेन्याङ्बो धरानमा उपमेयर र मेयर भइसकेका परिचित व्यक्ति हुन्। उनी २७ वर्षमा उपमेयर र ३३ बर्षको उमेर मेयर भएको अनुभव छ। उम्मेद्वारविहिन भएको एमाले र कांग्रेस दुवै पार्टीका कार्यकर्ताहरुको भोट उनलाई जाने र त्रिपक्षीय भिडन्त हुने अनुमान छ। मेन्याङ्बोले पार्टीका शीर्ष नेताहरुको मनोपोली निर्णयविरुद्ध आफ्नो उम्मेद्वारी भएकोले सबैले साथ दिएको दाबी गर्छन्। उनलाई एमालेका मात्र होइन, कांग्रेस कार्यकर्ता, उद्योगी, व्यवसायी, बुद्धिजिवि वर्गले पनि सघाइरहेको देखिन्छ।

एमाले नेताहरु नै कार्यकर्ताहरुको भोट मनोज मेन्याङ्बोतिर जाने जोखिम रहेकोे बताउँछन्। यद्यपी, शुरुवाती अवस्था जस्तो असन्तुष्ट नेता, कार्यकर्ताहरु धेरै नभएको दाबी एमाले नेताहरुको छ। एमाले–जसपाका उम्मेद्वार अशोक राई पनि स्वतन्त्र उम्मेद्वार मेन्याङबोबाट आफुलाई चुनौती नभएको बताउँछन्। यो क्षेत्रमा प्रतिकुल अवस्थामा पनि एमालेले जित्दै आएकोले आफ्नो जित हुने दाबी गर्छन्। धरान र क्षेत्र नं १ ले राष्ट्रियस्तरको नेताको आवश्यकता महशुस गरेकोले पनि आफ्नो जित हुने उनले बताए। ‘पचास वर्षदेखि मैले लोकतन्त्रको लागि लडे, धरानमा संगठन गरे। आज पनि एमालेका धेरै नेता, कार्यकर्ताहरु मसँग सुपरिचित हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा मैले गर्नसक्ने योगदानको लागि पनि यहाँका मतदाताहरुले जिताउनुहुनेछ,’उनी भन्छन्,‘एमाले जस्तो अनुशासित र इमान्दार मान्छेहरु भएको पार्टीबाट तलमाथि हुन्छ भन्ने मलाई लाग्दैन।’

जसपा नेता राईले एमालेबाट अन्र्तघात हुने स्वीकार नगरे पनि उनका प्रतिद्धन्दी सत्ता गठबन्धनका उम्मेद्वार मेन्याङबो एमालेभित्रको असन्तुष्टीले आफ्नो जितलाई सहज बनाएको ठान्छन्। आफु युवा र फ्रेस अनुहार भएको साथै कांग्रेस, एकीकृत समाजवादीको पिन समर्थन भएकोले आफ्नो जित निश्चित भएको उनको जिकिर छ। ‘आम मतदाताको चाहना युवा आउनुपर्छ भन्ने छ। म ४० वर्ष मात्र पुगेको युवा हुँ, यहाँका मतदाताले नयाँ पात्र, अनटेष्ट र फ्रेस खोजेका छन्,’उनले भने,‘अर्काेतर्फ मेरो प्रतिद्वन्दी एमाले जसपाको आधिकारिक उम्मेद्वाविरुद्ध बागी उम्मेदवार छ, र त्यहाँ सिधै दुई धार देखिन्छ। यी सबै हेर्दा मेरो जित सुनिश्चित छ।’

गएको स्थानीय निर्वाचनमा भरोसा योग्य उम्मेद्वार नहुँदा विद्रोह गरेर स्वतन्त्र उम्मेद्वार जिताएको धरान उपमहानगरपालिकाको २० वटै वडाका मतदाताहरु पनि यही निर्वाचन क्षेत्रमा छन्। एमाले जसपा तालमेलका उम्मेद्वार र सत्ता गठबन्धनका उम्मेद्वारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) र हर्क साम्पाङ समुह भनेर चिनिएका तर्कबहादुर मगरको पनि चुनावी अभियान तीव्र छ। वैदेशिक रोजगारमा गएका युवाहरु समस्यामा पर्दा उद्दार तथा सहयोग गर्ने सरिनलाई पनि साथ दिने मतदाताहरु धेरै देखिएको छ भने धरानका मेयर साम्पाङको सहयोगी भनेर चिनिएका तर्क मगरको पनि चुनावी चर्चा धेरै नै छ।  

यी दुई उम्मेद्वारले पाउने मतले पनि यो क्षेत्रको मतपरिणामलाई प्रभाव पार्नेछ। राजनीतिक दलका नेताहरुबाट दिक्क भएका मतदाताहरुमा स्वतन्त्रप्रतिको आकर्षण छ। तर, सुनसरी १ मा २० जना उम्मेद्वारमध्ये ११ जना स्वतन्त्र भएकोले मत बाँडिनेछ, र यसको लाभ राजनीतिक दलका उम्मेद्वारलाई नै हुने देखिन्छ।  

खानेपानी, सुरुङ मार्ग र सडक सञ्जाल प्रमुख चुनावी एजेण्डा

गएको स्थानीय तह निर्वाचनमा खानेपानीको एजेण्डा बोकेर स्वतन्त्र उम्मेद्वारी दिएका हर्क साम्पाङलाई धराने मतदाताहरुले जिताए। पदभार ग्रहण गरेलगत्तैदेखि उनी खानेपानीको स्रोत थप गरेर समस्या हल गर्न केन्द्रीत छन्। मंसिर ४ को निर्वाचनमा उम्मेद्वार बनेकाहरुले पनि फेरि खानेपानीको दीर्घकालिन समाधानको एजेण्डालाई प्राथमिकता दिएका छन्।  

मेयर साम्पाङले दीर्घकालिन समाधान कोशीको पानी ल्याएर मात्र हुने बताउदै आएका छन्। यसको लागि संघीय मन्त्रालयबाट डिपिआर पनि तयारी भइरहेको छ। कार्तिक २५ गते धरान आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अब बन्ने एमालेको सरकारले कोशीको पानी ल्याएर धरानलाई खुवाउने भन्दै चुनावी कार्ड फाले। उनले कोशीबाट मात्र नभै तमोरको पानी सुरुङ बनाएर वा पम्प गरेर भएपनि धरान ल्याउने र त्यसको लागि अध्ययन गराउने बताएका थिए।

ओलीले मात्र होइन, जसपा एमालेका उम्मेद्वार अशोक राई, गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङबो, बागी स्वतन्त्र उम्मेद्वार मनोज मेन्याङबोले पनि धरान–लेउती सुरुङ मार्ग बनाएर तमोरको पानी ल्याउन सके दीर्घकालिन समाधान हुने र यसको लागि पहल गर्ने एजेण्डामा समेटेका छन्। यस्तै, धरानसँग बराहक्षेत्र, भरौल, बक्लौरीलाई सडक सञ्जालबाट जोड्ने र व्यापारीक केन्द्र बनाउनेलगायत समान एजेण्डा उनीहरुको छ। धरानका बुढासुब्बा, पिण्डेश्र, दन्तकालीलगायत प्रसिद्ध मठमन्दिर, बराहक्षेत्र, रामधुनीलाई पनि जोडेर धार्मिक पर्यटकीय हब बनाएर प्रर्वद्धन गर्ने एजेण्डा पनि उनीहरुको साझा छ।

प्रकाशित: २९ कार्तिक २०७९ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App