१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

औधोगिक क्षेत्रका नाममा एक जनालाई पनि विस्थापित हुन दिन्नौं: गृहमन्त्री खाँण

गृहमन्त्री तथा रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण खाँणले लामो समयदेखि अलमल र विवादमा परेको रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रलाई स्थापित गर्दा स्थानीयबासी कसैलाई  पनि विस्थापित नगरीने बताएका छन्।  

आज(मंगलबार) क्षेत्र नं. ३ (ख)को फार्साटिकरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दे गृहमन्त्री खाँणले स्थानीय जनतालाई विस्थापित नगरी सरकारी तथा सार्वजनिक जग्गामै नमुना औधोगिक क्षेत्र बनाउने बताएका हुन्।

वर्षौदेखि बसोबास गर्दै आएका नागरिकको उठिबास लगाएर औधोगिक क्षेत्र नबन्ने भन्दै उनले एक जनालाइ पनि विस्थापित हुन नदिने प्रतिबद्धता दोहारयाए। ‘मोतिपुर औधोगिक क्षेत्रको नाममा हामीले यहाँका नागरिकको उठिबास हुन दिने छैनौ, यदी यहाँको एक जना नागरिकलाई विस्थापित गर्न खोजीए त्यतीबेला तपाइका लागि यहाँका नागरिकका लागि म आफै धर्नामा बस्ने छु’ गृहमन्त्री खाँणले भने। यसअघिको केपि ओली सरकार र पुर्वअर्थमन्त्री बिष्णु पौडेलप्रति लक्षित गर्दै उनले जनतालाई उठिबास लगाउँदैमा विकास नहुने टिप्पणी पनि गरे। ‘साथीहरुले थालमा पस्कनु पर्ने भात नाङलोमा पस्कीनु भयो,जनतालाइ घरबास बिहिन बनाउनुलाई विकास भनीदैन’ गृहमन्त्री खाँणले भने।

वर्षदेखि स्थानीयले जोगाएर राखेको  जमीनमा स्थानीयकै  हक हुने भन्दै उनले स्थानीयलाई विस्थापित गरेर औधोगिक क्षेत्र स्थापित नहुने बताए। ‘यहाँका स्थानीयको जग्गा नचलाइकनै नमुना औधोगिक क्षेत्र बनाउँछौ र यहीका जनतालाई रोजगारी दिलाउने छौ’ गृहमन्त्री खाँणले भने।

यसअघिको केपि ओली नेतृत्वको सरकारले वर्षौदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयको मागलाई वेवास्ता गर्दै उचित व्यवस्थापन नै नगरी औधोगिक क्षेत्र निर्माणको काम अगाडी बढाउन खोजेपछि आन्दोलन चर्केको थियो। तर काग्रेस नेतृत्वको सरकार बनेपछि यसै क्षेत्रका पुर्व प्रतिनिधिसभा सांसद समेत रहेका गृहमन्त्री खाँणले स्थानीयको घरबास नउठने गरी औधोगिक क्षेत्र निर्माणको काम अगाडी बढाउन पहल कदमी लिएका थिए।  

रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिकाको केही क्षेत्रमा यो औधोगिक क्षेत्र पर्छ। गृहमन्त्री खाँण र बुटवल उपमहानगरपालिकाका प्रमुख  पाण्डेले आफुहरुलाई घरबार बिहिन हुनबाट जोगाएको भन्दै अहिले त्यस क्षेत्रका स्थानीय हर्षित छन्।  

यसअघि अनुमानका आधारमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा स्थानीयको घरबास पर्ने गरी८१३ बिगाहा क्षेत्रको लालपूर्जा बनाइएपछि चर्को बिरोध भएको हो। स्थानीयलाई थाहै नदिइ वर्षौदेखि जोतभोग गर्दै आएको जमिन औधोगिक क्षेत्रको नाममा बनाइएको थियो। स्थानीयको विरोधका बावजुद पुर्वअर्थमन्त्री बिष्णु पौडेलले सुरक्षा घेरामा औधोगिक क्षेत्रको सिलन्यास समेत गरेपछि पौडेललाई स्थानीयले ढुगा हानेर लखेटेका थिए।  

मोतीपुर क्षेत्रका स्थानीय केशव भट्टराईले गृहमन्त्रीले नै स्थानीयलाई विस्थापित नगरी औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउने प्रतिबद्धता जनाएपछि  खुशी व्यक्त गरे। ‘अघिल्लो सरकारले हामीलाई घरबासबिहिन बनाउने गरी योजना ल्याएकाले विरोध गरेका हौं तर अहिले गृहमन्त्रीले नै तपाइहरुलाई घरबासबिहिन हुन दिन्न भन्नु भएको छ, हामीलाइ उहाँ प्रति विश्वास छ’भट्टराइले भने। स्थानीयको घरबास नउठाइकन  औधोगिक क्षेत्र बनाउने ररोजगारी दिनेलाई यसपाली भोट दिने सल्लाह भएको प्रस्तावित औधोगिक क्षेत्र नजिकै घर भएकी रचना खडकाले बताइन्।  

यसअघि मोतीपुर औद्योगिक क्षेत्रको नाममा जग्गा ल्याउँदा अनुमानका आधारमा ल्याइएको जानकारी दिँदै काग्रेस नेतृत्वको सरकार बनेपछि स्थानीयको जग्गा सुरक्षित गर्न ड्रोनबाट जग्गाको नाप जाच गरीएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज  पाण्डेले जानकारी दिए। यो आयोजनाका लागि तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिका पनि सहकार्य गरेर अगाडी बढेका छन्। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पनि स्थानीयका माग पूरा हुने गरी काम अघि बढाउने र स्थानीयलाई घरबास सुरक्षित गरीने प्रतिबद्धता जनाए।

सरकारको प्रारम्भिक अध्ययन अनुसार औद्योगिक क्षेत्र निर्माणमा १२ अर्ब रुपैयाँ लगानी हुनेछ । उक्त क्षेत्रमा उद्योगका लागि २ सय ६२ वटा प्लट, विद्युत्, पानी, ढल निकास, सडक, स्वास्थ्य क्लिनिक लगायत पूर्वाधार बन्ने गुरुयोजनामा उल्लेख छ । पाँच वर्षसम्म उद्योगीले भाडासमेत तिर्नुपर्ने छैन। यो औद्योगिक क्षेत्रमा दुई वर्षभित्रै न्यूनतम पूर्वाधार निर्माण गरी उद्योग खोल्न दिने योजना छ । ठुला उद्योगका लागि १ सय १९ वटा, मझौला उद्योगका लागि ५१ वटा र साना उद्योगका ९२ वटा प्लट निर्माण हुनेछ।

प्रकाशित: २९ कार्तिक २०७९ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App