१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

आफ्नालाई आफ्नैको डर!

सुरुल पुन ‘अजयशक्ति’।

देशमा माओवादी द्वन्द्व चलिरहेको थियो। मार्ने र मर्ने सामान्य जस्तै थियो। २०५८ मंसिर १० गते सोलुखुम्बुमा रहेको नेपाली सेनाको आक्रमणमा सुरुल पुन ‘अजयशक्ति’ गम्भीर घाइते भए। साथिहरुले मरेको ठानेर उनलाई जंगलमा कतै स्याउलाले पुरेर अगाडि बढे। ‘होस आउँदा फरक अनुभुति भयो। घाइते शरिर बाच्ने इच्छाले मलाई हौसला थप्यो।’ रुकुम पूर्वको प्रदेश (क) मा माओवादीका बागी स्वतन्त्र उम्मेदवार सुरुलले विगतको स्मरण गरे।

मरेको अनुमानमा लाश भनेर जंगलमा फालिएको सुरुल होसमा आउँदा तिर्खाले सतायो तर पानी नपाएपछि आफ्नै पिसाब पिउनुको बिकल्प भएन। छापामार युद्धको पहिलो सफलता २०५३ माघ १६ गते पुथाउत्तरगंगा १२ प्युवाङ चौकिका हतियार कब्जा गरेपछि माओवादी लडाकुभित्र हिरो बनाइएका सुरुल यतिबेला माओवादी उम्मेदवारको बागि उठेका छन्।

२०४९ सालमा जनमोर्चाको विद्यार्थी युवा संगठन हुँदै २०५२ सालदेखि भूमिगत भएका उनी सुरक्षा कमाण्डर भए। १० वर्ष लडाकु भएर युद्ध लडेका सुरुलको जन्म २०३५ वैशाख १५ गते भएको हो। ‘सुरुमा सरकारी हतियार कब्जा गरेपछि प्रचण्डदेखि सबैले मलाई हिरो बनाए। देशका धेरै ठाउँमा खटाए। २०५८ मंसिर १० गते सोलुखुम्बु ब्यारेक आक्रमणमा गम्भीर घाइते भए।’ सुरुलले थपे ‘साथिहरुले मरेको ठानेर जंगलमा छाडेछन्। होसमा आएपछि त्यहाँका लामाहरुको शरणमा पुगे अनि उनीहरुले बचाए।’ सोलुखुम्बुका लामाहरुलाई धर्म बुवाका रुपमा सम्बोधन गर्ने उनलाई चौरीको दुध र जडिबुटिले नयाँ जीवन दियो।

‘देशका प्राय सबै ठूला भिडन्तमा लडे। एम्बुसका कुरै नगरौं। कुनै ठाउँ ठाउँको लडाइँमा अछुतो छैन।’ अहिलेसम्म लाभको पदमा नबसेका सुरुलको फोक्सोमा आज पनि द्वन्द्वको अवशेष गोली बसेको छ। ‘लाभको पदका कुरा नगरौं म अहिलेसम्म उपभोक्ता समितिमा समेत बसेको छैन। नेतृत्वले अवसरका समयमा परिवारवाद मात्र हेर्न थाल्यो।’

‘परिवर्तनका लागि युद्ध लडेको वर्ग समुदायले निर्वाचनमा अवसर नपाउनु दुःखद हो। म निर्वाचित भए भने पहुँच पुग्ने ठाउँमा द्वन्द्वपीडितका मुद्दालाई प्राथमिकता दिनेछु। १० वर्षे द्वन्द्वले दुवै पक्षलाई थिलाथिलो बनाएको छ। नेतृत्वले त्यता ध्यान दिएन। मेरो समेत फोक्सोमा अहिले पनि गोली छ।’ सुरुलले थपे ‘उम्मेदवारी फिर्ताका लागि सत्ता गठबन्धनका नेताहरुले ललिपप देखाउनेदेखि प्रेसरसम्म आयो। आजसम्म हामीले अरुलाई अवसर दिएकै हो। नेताका श्रीमतीदेखि परिवार सबैलाई बनाएका हौ। पूर्वीरुकुम मगर समुदायको बाहुल्यता भएको जिल्ला हो। २०६४ देखि अरुलाई अवसर दियौं। उहिले लड भन्दा लड्यौं। भोट भाग्दा दियौं। अब जिल्लाका लागी आफूले केही गर्नैपर्छ भन्ने लागेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ।’

‘माओवादीभित्रै नयाँ राजा जन्माए जस्तो भयो। परिवारवाद हावी भयो। पाटिमा नव सामन्तवाद उदय भयो।’ माओवादी पार्टीले कारबाही गरेर पनि आफूभित्रको माओवाद जीवित रहेको बताउँदै सुरुलले भने ‘कारबाहीले म भित्रको माओवाद मर्दैन। पार्टीले कारबाही गर्ने न हो। उनीहरुले हाम्रो रगतमाथि खेलवाड गर्ने एकाधिकार लाद्ने। कारबाहीको डण्डाले केही हुन्न। स्वतन्त्र हुँ तर पनि म माओवादी हुँ भन्ने मेरो अधिकार हो।’

आफूले ठूलो सपनाका एजेन्डा नल्याएको बताउने सुरुल सडक, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता एजेन्डा आफूसँग रहेका बताउँछन्। रुकुम पूर्वको प्रदेश (क) मा यतिबेला चुनावको रौनक फरक छ। हिजोसँगै एउटै पार्टीमा रहेर युद्ध लडेकाहरु आमने सामने छन्। स्वतन्त्रका पक्षधरले दलका उम्मेदवारलाई भोटमाग्न गाउँ छिर्न समेत नदिएपछि फरक तरंग आएको पूर्वीरुकुम देश संघीयतामा जादा बनाइएको नयाँ जिल्ला समेत हो। यहाँ सत्ता गठबन्धनका तर्फबाट माओवादीले तेजबहादुर वलीलाई उम्मेदवार बनाएको छ।

आधार क्षेत्रमा बागीको बिगबिगी

त्यसो त पूर्वीरुकुमको प्रदेश (ख) मा पनि स्वतन्त्रको त्रासले सत्ता गठबन्धनलाई चुनौती थपेको छ। माओवादीबाट स्वतन्त्र उम्मेदवारी परेपछि रुकुम पूर्वको प्रदेश सभा ‘ख’ मा चुनावी प्रतिस्पर्धा रोचक बनेको हो। गठबन्धन अनुसार यो क्षेत्र काँग्रेसलाई भाग परेको छ। गठबन्धनबाट काँग्रेसका धनबहादुर केसी चुनावी मैदानमा छन्।

तर, सिट बाँडफाँडमा अन्याय भएको भन्दै माओवादीबाट स्वतन्त्र उम्मेदवारी परेको छ। जसले गर्दा यो निर्वाचन क्षेत्रको लडाइँ रोचक बनेको हो। गठबन्धन चुनाव जित्नेमा ढुक्क देखिन्छ भने स्वतन्त्रले पनि माओवादीको मतले विजयी हुने आश राखेका छन्। रुकुममा जस्तै रोल्पामा पनि माओवादी स्वतन्त्रको कारण सत्ता गठबन्धनलाई तर्साएको छ।

रोल्पाको प्रदेश (ख) मा माओवादी पोलिटब्यूरो सदस्य दीपेन्द्रकुमार पुनले काँग्रेस प्रदेश सभापति अमर सिंह पुनका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्। यी जिल्लाहरुमा माओवादीले दर्जन बढीलाई कारबाही गरेको पत्र पठाए पनि बागी बनेकाहरुलाई कतिपय नेतृत्वले भित्री रुपमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरिरहेको आरोप आउँन थालेको छ।

प्रकाशित: २९ कार्तिक २०७९ ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App