१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा तीन घेराको चुनावी सुरक्षा योजना

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेराको चुनावी सुरक्षा योजना बनाएको छ।  

निर्वाचनलाई शान्त, निश्पक्ष र भयरहित बनाउन जिल्ला सुरक्षा समितिले विशेष सुरक्षा योजना अघि सार्दै तीन घेराको सुरक्षा रणनीति अघि अबलम्बन गर्ने भएको हो। ‘सुरक्षा संवेदनशीलताको आधारमा तीन घेरामा सुरक्षा दिन्छौँ,’ प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले भने, ‘सामान्यतया दुई घेरामा सुरक्षा दिइन्छ।’  

जिल्लामा १ सय ४५ मतदानस्थल रहेका छन्। स्थानीय प्रशासनले यीमध्ये सातलाई अतिसंवेदनशील र ८२ मतदानस्थललाई संवेदनशील रुपमा लिएको छ। यसबाहेक एक अस्थायी मतदान केन्द्र तोकिएको छ।

पहिलो घेरामा रहेको मतदानस्थलमा नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा प्रदान गर्ने प्रजिअ खनालले बताए। उनका अनुसार गस्तिको माध्यमले दोस्रो घेरामा सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका हुन्छन्। अतिसंवेदनशील र संवेशदनशील स्थानमा गस्तिकै माध्यमले मतदानस्थल बाहिरबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्ने छ।  

मतदानको दिन मोबाइल, स्ट्राइक, गस्ति टोली परिचालन हुने छन् भने ‘रिजर्भ सुरक्षा टोली पनि रहने छ। ‘यसले आपत्कालीन अवस्थाका तुरुन्त फिल्डमा पुगेर काम गर्छ,’ खनालले भने। विशेष योजना बनाएर चुनावी सुरक्षा तयारी तीव्र पारिएको बताउँदै उनले भने, ‘सुरक्षाको प्रत्याभूतिसाथ चुनाव सम्पन्न गराउन तयार छौँ।’

जिल्लाभरका मतदानस्थलमा ९ सय दुई नेपाल प्रहरी र १ हजार ५ सय ५ म्यादी प्रहरी परिचालित हुने छन्। प्रतिमतदानस्थलमा तीन प्रहरी र पाँच म्यादी गरी आठ सुरक्षाकर्मी खटिने छन्। मतदानस्थलमा दुई वा सोभन्दा बढी मतदान केन्द्र भएमा प्रतिकेन्द्र बराबर दुई सुरक्षाकर्मी थपिने प्रजिअ खनालले जनाए।  

‘मतदाताको चापको आधारमा केही केन्द्रमा तीन जनासम्म थप सुरक्षाकर्मी परिचालन गर्ने योजना छ,’ उनले भने। निर्वाचनको मिति नजिकिँदै जाँदा क्रमशः सुरक्षाकर्मी फिल्डमा खटिन थालेका छन्।

२,५२६ कर्मचारी परिचालन

मतदात गराउने कार्यमा २ हजार ५ सय ६२ कर्मचारी खटाइएको छ। जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एउटाबाहेक सबै मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी खटाइएको बताए।

जिल्लामा ३ सय २० मतदान केन्द्र छन्। जुगल गाउँपालिकाको तेम्बाथान केन्द्रमा भने सात जना कर्मचारी खटिने छन्। विकट गाउँ तेम्बाथानमा पहिलो पटक मतदान केन्द्र तोकिएको हो। त्यहाँ २ सय ३२ मतदाता छन्। गाउँमै केन्द्र तोकिएपछि तेम्बाथानका अधिकांश मतदाताले पहिलो पटक यसपल्ट मतदान गर्दै छन्। यस्तै निर्वाचनको दिन जिल्लाभर १ हजार २ सय ८० स्वयम्सेवक परिचालन गरिने रिजालले जनाए।  

प्रकाशित: २९ कार्तिक २०७९ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App