७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

पर्यटक उम्मेदवारलाई काठमाडौँका जनताले जिताउनु हुँदैनः कुन्ती पोखरेल

कुन्ती पोखरेल।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौँका जनताले जिताउनु नहुने बताएकी छिन्।

मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उनले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भुगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताइन्। उनले विगतमा पर्यटक उम्मेदवारका कारण काठमाडौँ २ क्षेत्रमा विकासले गति लिन नसकेको बताइन्। ‘पहिलो काम मेरो फाइल पल्टाएर यो क्षेत्रका जनताको लागि आएको बजेट हेर्ने काम हुनेछ। बजेट आएको र दुरुपयोग भएको पाएँ भने कारबाहीको लागि मैले सिफारिस गर्छु’ उनले भनिन् ‘बजेट आएको छैन भने वर्षौंदेखिको बजेट अब म यहाँ ल्याएर विकास गर्छु। यो क्षेत्रमा विकासको जिम्मेवारी म लिन चाहन्छु। पर्यटक उम्मेदवारलाई जिताएर पठाउँदा विकास नगरेको अनुभव हामीसँग छ।’

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को शंखरापुरका क्षेत्रमा पश्चिम रुकुम,रोल्पाको भन्दा विकट स्थिति रहेको उनले बताइन्।  

उनले आफ्नो एजेण्डा राष्ट्र, राष्ट्रियता र युवा शक्ति भएकाले दिनहुँ विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताइन्। ‘मेरो प्रमुख एजेण्डा भन्नु नै राष्ट्र, राष्ट्रियता र युवा शक्तिका लागि हो’ पोखरेलले भनिन् ‘युवा वर्गहरु विदेश पलायन हुनुपर्ने बाध्यता छ, त्यसलाई रोक्नका लागि पनि हो। म यहाँ डुल्दा विकास नभएको पाएँ।’

उनले कागेश्वरी क्षेत्रमा चार लेनको बाटो भएपनि सडकमा नै ढल मिसिँदा कुनैपनि सवारीसाधन नचलेको स्थिति रहेको बताउनु भयो। उहाँले आफूले जितेपछि पहिलो काम आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट हेर्ने र अनियमितता गरेको पाए कारबाही गर्ने पहिलो प्राथमिकता रहेको बताइन्। ‘कोटेश्वर, बानेश्वरतिर ठिक छ तर शंखरापुरमाथि गए रुकुम, रोल्पा जस्तो छ। कागेश्वरी भित्र सडकमै ढल छ’ उनले भनिन् ‘चार लेनको बाटोमा सवारी चल्दैनन्। यो क्षेत्रमा बजेट कति आएको छ त्यो हेर्न मन छ।’

नेतृ पोखरेलले काठमाडौं २ मा बजेट नआएको पाए वर्षौंदेखिको बजेटको हिसाब गरेर विकासका काम अघि बढाउने बताइन्। काठमाडौं २ मा विकासको जिम्मेवारी आफू लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरुसँग उनले आग्रह गरिन्।

प्रकाशित: २९ कार्तिक २०७९ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App