७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

चुनाव आयो तर तातेन सहर

‘चुनाव आएजस्तो लागेकै छैन’

पोखरामा चुनावका लागि आवश्यक सामग्री जोहो गरिँदै । तस्बिर: उमेश पुन/नागरिक

पोखरा महानगरपालिका–५ माले पाटनका भरत शर्मा (नाम परिवर्तन) सरकारी कर्मचारी हुन्। अघिल्ला सबैजसो चुनावमा उम्मेदवारलाई भन्दा बढी चुनाव उनलाई लाग्थ्यो। कलाकारको टोली नै लिएर एमालेको घरदैलो र कोणसभामा गीत गाउँदै र नाच्दै हिँड्ने उनलाई चुनावको अन्तिम एक महिना भ्याईनभ्याई हुन्थ्यो। तर अहिलेको चुनावले उनलाई छोएन। पहिलेजस्तो कुनै सांस्कृतिक कार्यक्रममा पनि उनी सहभागी छैनन्।  

कास्कीको रूपा गाउँपालिकाका कांग्रेस नेता प्रकाशमोहन खनाललाई पनि पहिलेको चुनावमा जस्तो रस छैन। भोट खसाल्नुभन्दा एक–डेढ महिना अघिदेखि नै उनलाई चुनावी चटारोले छुन्थ्यो। तर यसपटक खनाललाई चुनाव आएजस्तै लागेको छैन। घरदैलोका क्रममा उम्मेदवार घरमा आउँदाबाहेक उनले बाहिरी चुनावी गतिविधि देखेका छैनन्। जबकि आफ्नो दलका उम्मेदवारका लागि भोट माग्न पनि उनी निस्केका छैनन्।  

भरत र प्रकाश मात्रै होइनन्, यसपटकको चुनाव धेरैलाई लागेको छैन। व्यवसायी, विद्यार्थी, कलाकार, सर्वसाधारणले कसैले पनि चुनावी माहोल तातेको देखेका छैनन्। राजनीतिक दलकै कार्यकर्तालाई पनि यसपटक चुनाव लागेको छैन। भोट खसाल्ने दिन नजिकिँदै गए पनि निर्वाचनबारे धेरैलाई चासो छैन। न सर्वसाधारणले घरदैलो कार्यक्रम देखेका छन् न कोणसभा नै। उम्मेदवारको घरदैलोमा पनि ८/१० जनाभन्दा बढी हिँडेको देख्नै पाइन्न।  

चुनावी माहोलमा पुराना नेता तथा कार्यकर्ता, शुभेच्छुक र मतदाता त परिचालित भएनन् नै, स्वयं राजनीतिक दल पनि सक्रिय देखिँदैनन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ठुला दलका जिल्लास्तरका नेता औपचारिकताका लागि दिनमा एकपटक नजिकको घरदैलोमा देखिए पनि केहीबेर सहभागी भएपछि छल परेर निस्कने गरेका छन्। त्यति मात्र होइन, सर्वसाधारणलाई पनि चुनावप्रति दलहरूले तान्न सकेका छैनन्। उम्मेदवार घरदैलोमा पुग्दा कोही खेतबारीमा भेटिन्छन् त कोही व्यापारव्यवसायका लागि कार्यक्षेत्रमा। दलहरूले न त मतदातालाई आकर्षण गर्न सकेका छन्, न कार्यकर्ता परिचालन नै। निर्वाचनको प्रचारप्रसार गर्ने समय घर्किनै लाग्दा पनि सहरमा चुनावी माहोल तातेको दलहरूले नै पाएका छैनन्।

त्यति मात्र होइन, ठुला दलहरूले अहिलेसम्म चुनावी सभा पनि गरेका छैनन्। अघिल्ला चुनावमा जनसहभागितामा प्रतिस्पर्धा गर्दै केन्द्रीय नेताको सहभागितामा आम सभा गर्न तँछाडमँछाड गर्ने दलहरूले पनि यसपटक ठुला सभा आयोजना गरेका छैनन्। केही दिनअघि केन्द्रीय नेतालाई बोलाएर पोखरा सभागृहमा औपचारिक कार्यक्रम मात्र गरेका थिए। निर्वाचन आयोगले आचारसंहितामा कडाइ गर्दै कात्तिक १७ देखि मंसिर १ गतेसम्म आमसभा, कोणसभा, जुलुुस गर्न पाउनेगरी समय तोकिदिएको भए पनि दलहरू ठुला आकारका आम सभा गर्न चुकेका छन्। आम सभा, कोणसभा गर्न पाउने भए पनि आयोगले चुनाव क्षेत्रमा भएको आम सभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च विवरण चुनाव सकिएको १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ।  

ठूला दलले आमसभा त गरेनन् नै, मतदाता पनि उति सारो चुनावी माहोलमा उत्साहित छैनन्। गाउँका मतदाता अहिले धान थन्क्याउने चराटोमा छन्। नेताहरूको नचाहिँदो आश्वासनको पोको सुन्ने फुर्सद नभएको उनीहरू बताउँछन्। ‘राजनीति त फोहोरी खेल रहेछ। यस्तो फोहोरी राजनीतिमा पनि उम्मेदवारको पछि लागेर कोही हिँड्छ ? म त हिँड्दिनँ अबदेखि,’ शर्माले भने, ‘नेताका झुटा आश्वासन सुनेर कान दुखाउनु छैन।’ दलका नेताको झुटो आश्वासनदेखि दिक्क भएर घरदैलोमा आउँदा पनि घरबाहिर ननिस्केको उनले बताए। ‘पहिले पनि भोट हालैको हो तर हामीलाई के भो ? अब फेरि पनि तपाईंहरूलाई भोट किन हाल्ने ?’ म यस्तै जवाफ माग्छु, त्यसपछि उम्मेदवार नाजवाफ हुन्छन्,’ उनले भने। कांग्रेस नेता खनाल भने पार्टी जिम्मेवारीमा नभएकाले चुनावमा नहिँडेको बताउँछन्। खनालले भने, ‘चुनावमा कार्यकर्तालाई कुनै जिम्मेवारी दिइएन। अब के भनेर भोट माग्दै हिँडौं। चुनाव आएजस्तो पनि लागेको छैन।’  

विश्लेषकहरू पनि चुनावी माहोल अघिल्लोपटकको जस्तो नभएको बताउँछन्। समाजशास्त्री दिनेश प्रसाईं भन्छन्, ‘चुनावी तामझाम पटक्कै छैन। पहिला जस्तो प्रचारप्रसार पनि सुनिन्न।’ आयोगको आचारसंहिताले केही कडाइ गरे पनि यो बेला आम सभा गर्न छुट दिँदा पनि दलहरूले नगरेको उनले बताए। ‘कार्यकर्ताको वितृष्णा पनि हुन सक्छ। यसपटक पोखरामा ठूला चुनावी सभासमेत हुन सकेनन्। धेरै तामझाम ठुला दलहरूले गर्थे तर यसपटक ती केही भएनन्,’ उनले भने।

आम जनताको ठुला दलप्रति वितृष्णाका कारण यो अवस्था आएको हुन सक्ने उनको अनुमान छ। ‘दलहरूले जनता तान्न सकेका छैनन्। आम सभा गरिहाले पनि मतदाता सहभागी हुनेमा पार्टी ‘कन्फिडेन्स’ नभएकाले पनि हुन सक्छ,’ उनले भने, ‘कतिपयलाई गठबन्धनका कारण टिकट नपाएको झोंक पनि छ। गठबन्धनले गर्दा चाहेका उम्मेदवार नपाउँदा दलनिकटका मतदाता सुस्ताएको पनि हुन सक्छ।’ उनले सबैतिरका सहरमा चुनावी गतिविधि नतातेको बताए। ‘बरु स्वतन्त्रको चर्चा बढी छ। कोणसभामा पनि स्वतन्त्रको जोस जाँगर बढी देखिन्छ तर ठुला पार्टी चुपचापजस्तै छन्,’ उनले भने, ‘बरु गाउँमा चुनाव लागेजस्तो देखिए पनि सहरमा भने चुनावी माहोल नै देखिएन।’  

राजनीति शास्त्रका प्राध्यापक कपिलमणि दाहाल पनि आयोगले आमसभा, कोणसभा गर्न अनुमति दिए पनि खर्च विवरणमा केही कडाइ गरेको छ। तर गतिविधि नै गर्न नपाउने भन्ने नभएको उनी बताउँछन्। ‘आचारसंहिताले केही कडाइ त गरेको छ तर आम सभा नै गर्न नपाउने भन्ने होइन, चुनावी माहोल तातेको देखिन्न,’ दाहालले भने, ‘दलहरूमा विकल्प नदेखेर हो वा परिवर्तन नदेखेर, मतदाता पनि उत्साहित छैनन्। जो आए पनि उस्तै हो भन्ने लागेकाले पनि दलका कार्यक्रममा सहभागिता घटेको हुन सक्छ। पार्टीले पनि क्याम्पेनिङ गरेको देखिएन।’

दाहालको नजरमा पनि पहिलेजस्तो प्रभावकारी प्रचारप्रसार कतै छैन। ‘आयोगले कोणसभा, आम सभा गर्न त रोकेको छैन। तर कार्यकर्ता परिचालन गर्न खोज्दा पहिलेजस्तो ठुलो आकार देखाउन अब दलहरूलाई गाह्रो छ,’ उनले भने, ‘अहिले मतदाता नै इच्छुक छैनन्। पहिला पहिला धम्क्याएर पनि ल्याउने गरिन्थ्यो, अहिले त्यो अवस्था छैन।’ हिजोका लागि केही दल र उम्मेदवार नयाँ हुँदा चुनावी आकर्षण बढे पनि अहिले सबै पात्र, प्रवृत्ति उस्तै भएपछि मतदातामा चासो कम भएको हुन सक्ने उनको अनुमान छ। ‘अहिले मान्छे भेला गराउन पनि सहज छैन,’ उनले भने, ‘त्यसैले गर्दा दलहरू हच्किएका हुन सक्छन्।’  

कांग्रेसका कास्की प्रवक्ता विश्वशंकर पालिखे आचारसंहिताको कडाइले केही कमजोर भएको स्विकार्छन्। ‘आचारसंहिताले गर्दा २५ जनाभन्दा बढी लिएर हिँड्न पाइँदैन। बढीभन्दा बढी सोसल मिडिया, विद्युतीय सञ्चारमाध्यममा प्रचारप्रसार भएकाले पनि चुनावी सभा कम भएका हुन्,’ उनले भने, ‘उम्मेदवारले घरदैलोमा फोकस गर्दा आमसभा कटौती भएको हो। कोणसभा भने भएको छ।’ ठुलो आम सभा गर्न केन्द्रीय नेतृत्व नै व्यस्त भएको उनले बताए। ‘यो बेला धान काट्ने समय भएकाले पनि कार्यकर्तालाई अलिकति व्यस्त बनाएको छ,’ उनले भने।

एकजना नेताले भने आफ्नो दलको उम्मेदवार नभएकाले शून्यता छाएको बताए। ‘कताकता गठबन्धनले गर्दा पनि आफ्नो दलको उम्मेदवार नभएको मानसिकता पार्टीका शुभेच्छुकमा छ। कसैलाई चासो नै छैन। यो अवस्था आउनुमा दलहरू विचार र सिद्धान्तबाट विचलित हुनु हो, जसरी पनि जितेर नेतृत्व तहमा पुग्ने रणनीति बनाउनु हो, सोही कारण पनि मतदाता तथा स्वयं पार्टीका कार्यकर्तामा पनि वितृष्णा सिर्जना भएको छ,’ ती नेताले भने, ‘पहिला घरघरमा झन्डा राखिन्थ्यो, सभा–सम्मेलन हुन्थे। उम्मेदवार पनि कस्सिएर घरघर पुग्थे। अहिले सबैतिर सुनसान छ।’  

एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले भने आफूलाई चुनाव लागेको बताए। ‘मेरा लागि भ्याइ न भ्याइ छ तर पहिलेजस्तो घरदैलोमा २/४ सय जना शुभेच्छुक लिएर कोही हिँडेका छैनन्,’ उनले भने, ‘ठुलो आवाजमा म्युजिक बजाउन आचारसंहिताले कडाइ गरेको छ। तर उम्मेदवार मतदाताको घरमा भने पुगेका छन्। बाहिरको तामझाम देखिएको छैन।’ आमसभा गर्न पाउने भए पनि केन्द्रीय नेताको व्यवस्तताले सम्भव नभएको उनले बताए। ‘केन्द्रीय नेता पनि व्यस्त छन्। त्यसले गर्दा पनि आमसभा भएको छैन। आवश्यकताअनुसार कोणसभा गर्न भनेका छौं। चुनावी हिसाबले लावालस्कर लिएर नगएकै हो,’ अधिकारीले भने, ‘लावालस्कर नहुँदा चुनाव लागेजस्तो अनुभव नभएको हुन सक्छ।’

प्रकाशित: २९ कार्तिक २०७९ ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App