१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बाँके–२ लाई ‘शैक्षिक हव’ बनाउने कांग्रेसको संकल्प

बाँके क्षेत्र नम्बर २ को संकल्प पत्र विमोचन गर्दै काँग्रेस नेताहरु। तस्बिर: अर्जुन ओली/नागरिक

प्रतिनिधीसभा क्षेत्र नम्बर २ र प्रदेशसभा–२ (१) र (२) का उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रलाई शैक्षिक हव बनाउने संकल्प गरेका छन्। नेपालगन्जमा सोमबार निर्वाचन लक्षित संकल्प पत्र विमोचन गर्दै उनीहरुले यस्तो संकल्प गरेका हुन्।

उक्त कार्यक्रममा प्रतिनिधीसभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेशसभा–२ (१) का उम्मेदवार राजकुमार बर्मा र प्रदेशसभा–२ (२)का उम्मेदवार सुरेन्द्रबहादुर हामाले क्षेत्र नम्बर २ मा रहेका नेपालगन्ज उपमहानगरपालिका र डुडवा गाउँपालिका क्षेत्रलाई शैक्षिक हव बनाउने प्रमुख संकल्प रहेको बताए।  

शिक्षाको विकास भएपछि मात्र समग्र रुपमा क्षेत्रकै समृद्धि हुने भएकाले यसलाई प्रमुखताका साथ उठाइएको उम्मेदवारहरुको जोड छ। पश्चिम नेपालका लागि नेपालगन्ज सहर शिक्षाको केन्द्र रहेकोले यस क्षेत्रमा रहेका विद्यालयहरुको स्तरोन्नतीका लागि आफूहरुले प्रमुख एजेण्डा बनाएर लैजाने बताए।  

सार्वजनिक गरिएको संकल्प पत्रमा नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसलाई स्तरोन्नती गर्न विशेष जोड दिइएको छ। उक्त क्याम्पसललाई नेपालगन्ज विश्व विद्यालयका रुपमा स्तरोन्नती गर्दै डिजिटल प्रणालीमा लैजाने उल्लेख गरिएको छ।  

त्यस्तै मंगल प्रसाद कन्या क्याम्पसका छात्राहरुलाई उपयोगी नवीन विषयमा अध्ययनका लागि प्रोत्साहित गर्ने, यस क्षेत्रका विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन प्रशिक्षण र प्रविधीको प्रयोग गर्ने, प्राविधिक उच्च शिक्षालाई प्राथमिकता दिँदै भेरी प्राविधिक शिक्षालयलाई प्रतिष्ठानको रुपमा विकास गर्ने, डुडुवा गाउँपालिकामा उच्च शिक्षाका लागि क्याम्पस स्थापनादेखि प्राविधिक धारका विषय अध्यापन गर्ने, छात्राहरुका लागि पुस्तक तथा छात्रवृत्तीको व्यवस्था, नैतिक शिक्षाका लागि सँस्कृत, उर्दु र अवधी भाषालाई प्रोत्साहन गर्ने संकल्प गरिएको छ।  

यस्तै स्वास्थ्य क्षेत्रलाई सुधार गर्न भेरी अस्पताललाई मेडिकल कलेजका रुपमा रुपान्तर गर्ने संकल्प गरिएको छ। स्वास्थ्य बीमालाई सरल र सुलभ बनाउने, प्रत्येक नागरिकलाई स्वास्थ्यको पहुँच, डुडुवा क्षेत्रमा निःशुल्क प्रयोगशाला, एम्बुलेन्स, ज्येष्ठ नागारिक उपचार, पशु पालक किसानलाई निःशुल्क पशु उपचार, बीमा तथा सम्पूर्ण नागरिकलाई सबै किसिमका औषधी निःशुल्क उपलब्ध गराउने कार्यक्रम ल्याउने काँग्रेसले संकल्प गरेको छ।  

यहाँको कृषि क्षेत्रलाई पनि सबल बनाउन विभिन्न किसिमका कार्यक्रम ल्याउने संकल्प गरिएको छ। किसानलाई सहज रुपमा मल, खाद, बीउ–विजन उपलब्ध गराउने, घरमा रहेका फोहोरबाट कम्पोष्ट मल उत्पादन, सिक्टा सिँचाइलाई व्यवस्थित बनाइ किसानलाई नहरसँग जोड्ने, ग्रामिण वडा तथा डुडुवालाई तरकारी पकेट क्षेत्रमा विकास गर्ने, कोल्ड स्टोरको व्यवस्थापन लगायतलाई संकल्प पत्रमा समेटिएको छ।  

त्यसैगरी खानेपानी तथा सरसफाइका लागि राप्ती नदीको पानीलाई खानेपानीमा रुपान्तर गर्ने, ल्याण्डफिल साइडलाई प्रविधीयुक्त बनाउने, ठाउँ–ठाउँमा आवश्यकता अनुसारका सार्वजनिक शौचालय निर्माण, मुल सडक र राजमार्गको दुबैतिर बृक्षारोपण गर्ने जस्ता कुरालाई कांग्रेसले प्राथमिकतामा राखेको छ।  

नेपालगन्जमा पर्यटक आगमनका लागि यस क्षेत्रका धार्मिक स्थालको विकास, साँस्कृतिक संग्रहालय स्थापना, नेपालगन्ज विमानस्थलको स्तारोन्नती र अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा विकास, मसानघाटमा निःशुल्क काठ दाउरा व्यवस्थापन गर्ने संकल्प गरिएको छ।  

युवा स्वरोजगार तथा खेलकुदलाई पनि संकल्प पत्रमा जोड दिइएको छ। जसमा सिपमूलक तालिम, रोजगार सूचना केन्द्र, रोजगारीका कक्षाहरु निःशुल्क उपलब्ध, निःशुल्क इन्टरनेट, एक वटा एक खेलकुद मैलान जस्ता कुराहरु पत्रमा उल्लेख छ। भौतिक पूर्वाधारतर्फ नेपालगन्जमा चक्रपत निर्माण, यस क्षेत्रका टोल÷बस्तीमा आवश्यकता अनुसार सडक बिस्तार, डुवान तथा ढल निकासलार्ई व्यवस्थित, राप्ती नदी तथा डुडुवा खोलामा भरपर्र्दो तटबन्ध गर्ने काँग्रेसको संकल्प पत्रमा उल्लेख छ।

त्यस्तै आर्थिक विकासका लागि नेपालगन्जको व्यापार बढाउन आवश्यक समन्वय तथा कार्यान्वयन, उद्योगलाई सहुलियत कर्जा तथा कर छुट, खाली रहेको सरकारी संरचनाको उपयोग, व्यवसायीलाई पुँजी, प्रविधि तथा उत्पादनको बजारीकरण गर्ने जस्ता कुरा पनि समेटिएका छन्।  

संकल्प पत्रमा महिला तथा पछाडी परेका समुदायको उत्थान तथा विकासका लागि विभिन्न किसिमका कार्यक्रम लागु गर्ने, छाडा पशु चौपायलाई व्यवस्थापन गर्ने ठोस योजना कार्यान्वयन, घर–घरमा सामाजिक सुरक्षा भत्ता लगायतका विषयलाई पनि काँग्रेसले प्राथमिकतामा राखेको छ। उक्त कार्यक्रममा उपस्थिती क्षेत्र नम्बर २ का प्रतिनिधीसभाका उम्मेदवार राणा र प्रदेशसभाका उम्मेदवारद्धय वर्मा र हमालले आफूहरु निर्वाचित भएपछि संकल्प पत्रमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए।

सो क्रममा काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बालिमकीले काँग्रेसका तीनै जना उम्मेदवार निष्ठावान र निस्कलंकित रहेको बताए। ‘नेपाली काँग्रेस जे भन्छ त्यही गर्छ, तपाईहरु गाउँ–गाउँमा गएर भन्नुस्, हाम्रा उम्मेदवार निष्ठावन छन्, निस्कलंकित छन्,’ उनले भने ‘चाहे सुदिप राणा, चाहे राजकुमार वर्मा, चाहे सुरेन्द्र हमाल सबै निस्कलंकित छन्।’ क्षेत्र नम्बर २ मा चुनाव लडिरहेका अरु पार्टीका उम्मेदवारहरु एक अर्काले भ्रष्टाचारका पोल खोला खोल गरिरहेको, तर काँग्रेसले विकास र समृद्धिका लागि आफ्ना उम्मेदवारलाई अगाडी सारेको उनले बताए। उक्त क्षेत्रमा यसअघि काँग्रेस पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला चुनाव लड्ने गरेका थिए।  

प्रकाशित: २८ कार्तिक २०७९ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App