७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनलाई चुनौती थप्दै कांग्रेसभित्रको ‘मतभेद’

कांग्रेसभित्रको विवादको फाइदा इत्तर गठबन्धनलाई

निर्वाचनको दिन नजिकिएसँगै मतदाताको दैलो पुग्ने उम्मेदवारहरुको लर्को बढ्दै छ। मतदातालाई आफ्नो पक्षमा पार्न सत्ता गठबन्धन र जसपा एमाले गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा छ।  

सिरहा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पद्मनारायण चौधरी र जसपा एमाले गठबन्धनबाट एमालेका रामशंकर यादवबीच कडा टक्कर छ। दुबै उम्मेदवार चुनावी परिणाम आफ्नो पक्षमा पार्न मतदाता फकाउन कसरत गर्दै छन्। चुनावी परिणामको आकलन विगतजस्तो सहज भने यसपाली छैन। कारण निर्णायक मतदाताहरु अझै खुल्न सकेका छैनन्। उनीहरु अझै अलमलमै देखिएका छन्।

सिरहा क्षेत्र नम्बर १ मा पाँच पालिकाका ४१ वटा वडा पर्छन्। लहान नगरपालिकाका सम्पूर्ण २४ वडा, धनगढीमाई नगरपालिकाका दुईवटा, लक्ष्मीपुर–पतारी गाउँपालिकाका पाँच वटा वडा, सखुवानन्कारकट्टी गाउँपालिकाका पाँच वडा र भगवानपुर गाउँपालिकाका पाँचवटा वडा यो क्षेत्रमा समेटिएका छन्।  

गत स्थानीय तह निर्वाचनमा ४१ मध्ये कांग्रेसले २२, एमालेले नौ, जसपाले छ, एकीकृत समाजवादीले तीन र माओवादीले एक वडा जितेका थिए। त्यसवेला लहानमा कांग्रेस–जसपा–माओवादी गठबन्धन थियो। अहिले जसपा एमालेसँगको गठबन्धनमा छ। अहिले सत्तारूढ गठबन्धन (कांग्रेस–माओवादी–समाजवादी) का २७ वडाध्यक्ष छन्। उनीहरूले ३४ हजार दुई सय ९७ मत पाएको देखिन्छ।

१४ वडा जितेको एमाले–जसपा गठबन्धनको ३४ हजार एक सय ३६ मत छ। यससँगै यस क्षेत्रमा जनमत पार्टीले वडा नजिते पनि एक हजार तीन सय ७४ मत पाएको छ। क्षेत्र नम्बर १ मा मतदाताको कुल संख्या एक लाख ६ हजार दुई सय एक छ भने २३ उम्मेदवार छन्। स्थानीय तह निर्वाचनको गणितले सत्ता गठबन्धनको पल्ला भारी देखिएको छ। 

प्रतिनिधिसभा निर्वाचन ०७४ मा यस क्षेत्रबाट नेपाली कांग्रेसका प्रदीप गिरी निर्वाचित भएका थिए। गिरीले २३९५१ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका गंगा यादव २१३७१ मत ल्याएर दोस्रो भएका थिए। त्यो बेला प्रदीप गिरीको जितमा संगठनको मत भन्दा पनि व्यक्तित्वको मत निर्णायक रहेको यस क्षेत्रका बुद्धिजीबी बताउँछन्। अहिले उम्मेदवार मात्र नभई अवस्था र माहोल पनि फेरिएको छ। एमालेको अडिग मतदाता र जसपाको साथले ढुक्क देखिन्छन्। यता नेपाली कांग्रेसभित्र १४ औं अधिवेशनदेखि जारी मतभेद अझै कायमै देखिन्छ। जो यस निर्वाचनमा उम्मेदवारको जितको तगारो बन्ने देखिन्छ।  

सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र राजकिशोर यादवबीच प्रतिस्पर्धा छ। चित्रलेखा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार हुन्। राजकिशोर एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका हुन्।

चित्रलेखा २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका राजलाल यादवबाट पराजित भएकि यादव २०७० को दोस्रो संविधानसभामा समानुपातिक सदस्य भइन्। र, २०७४ को आम निर्वाचनमा पनि समानुपातिक सांसद भएकि थिइन्। २०५६ मा निर्वाचित भएपनि उनी उपसभामुख बनिन्। २०७० समानुपातिक सांसद भएपछि शिक्षामन्त्री भइन्। ०७४ मा समानुपातिक सांसद उनी कांग्रेसको प्रमुख सचेतक छिन्। हुन त उनी २०५१ को आम निर्वाचनमा पनि उम्मेदवार बनेकि थिइन् तर पराजित भइन्।

पहिलो मधेस विद्रोहसँगै राजनीतिमा उदाएका राजकिशोर २०६४ को संविधानसभामा निर्वाचनमा सिरहाको निर्वाचन क्षेत्र नम्बर ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। ०७० को दोस्रो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट चुनाव लडेका यादव नेपाली कांग्रेसका प्रदीप गिरीसँग पराजित भए। पुरानो ६ नम्बर क्षेत्र ४ नम्बरमा गाभिएपछि ०७४ को आम निर्वाचनमा यादव यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए। यादव २१,२४४ मत ल्याएर निर्वाचित हुँदा माओवादी केन्द्रका अजयशंकर नायकले १७,५७५ मत ल्याएर दोस्रो भएका थिए।  

यस क्षेत्रमा १ लाख ७ हजार ४ सय ६५ मतदाता छन्। नवराजपुर, बरियारपट्टी र औरहीका सम्पूर्ण ५÷५ वडा, लक्ष्मीपुर पतारी गाउँपालिकाको १ वडा, सुखीपुर नगरपालिकाको १० वटा वडा, धनगढीमाई नगरपालिकाको १२ र गोलबजार नगरपालिकाको १ वडा गरी ४१ वटा वडा यस क्षेत्रमा पर्छन।

गत स्थानीय तहमा कांग्रेसले १२, एमालेले १०, जनता समाजवादी पार्टीले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनमत पार्टी १ वडा जितेका छन्। स्थानीय तह वडाका आधारमा सत्ता गठबन्धनले ३३ हजार ८ सय ९५ मत पाएको देखिन्छ। एमाले–जसपा गठबन्धनले ३२ हजार ३ सय ४८ मत पाएको छ । स्थानीय तहमा एउटा वडा जितेको जनमत पार्टीले ४ हजार ९ सय ६६ मत पाएको थियो।

यस क्षेत्रमा उम्मेदार नेपाली कांग्रसकी चित्रलेखा यादवप्रती मतदाताको असन्तुष्टिको बाढी छ। ०५६ मा निर्वाचित हुँदाको प्रतिबद्धता पूरा नगरेको देखि यस क्षेत्रका जनताको दुःखमा मलम लगाउने मामिलामा उदासिन रहेको जनअसन्तुष्टि छ।  

राजकिशोर यस क्षेत्रका लागि नयाँ उम्मेदवार भएकाले उनलाई जभरोसाको मतले फाइदा पुग्ने स्थानीय बुद्धिजीबी बताउँछन्। यहाँ एमाले जसपाको बलियो संगठनको मत र भरोसाको मतको संगमले राजकिशोरको पल्ला भारी देखिन्छ, स्थानीय बुद्धिजीबी बिल्टु यादवले भने।

सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका विश्वनाथ प्रसाद साह र जसपा नेकपा गठबन्धनबाट एमालेका लिलानाथ क्षेष्ठबीच प्रतिस्पर्धा छ ।  

श्रेष्ठले २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कडा टक्कर दिएर चर्चामा आएका थिए। त्यतिखेर दाहालले १५ हजार २ सय ४४ मत पाउँदा श्रेष्ठले १४ हजार ३ सय २३ मत प्राप्त गरेका थिए । विवादास्पद मतगणनामा दाहालले ९ सय २१ मतान्तरले श्रेष्ठलाई हराएका थिए ।  

प्रतिनिधिसभा निर्वाचन २०७४ मा श्रेष्ठ २३ हजार २ सय २७ मत ल्याएर निर्वाचित हुँदा संघीय समाजवादी फोरमका असेश्वर यादवले २१२२० मत ल्याएर दोस्रो भएका थिए।

विश्वनाथ साह २०४८ को आम निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन सिरहा–५ मा जनमोर्चा नेपालबाट उम्मेदवार बने पनि पराजित भएका थिए ।  

क्षेत्र–३ मा गोलबजार नगरपालिकाका १२ वडा, नरहा गाउँपालिकाका १ र २, विष्णुपुर गाउँपालिकाका १ र ५, अर्नमा गाउँपालिकाका १, २ र ३ तथा सिरहा नगरपालिकाका २२ वटै वडा गरी ४१ वडा पर्छन्। स्थानीय तहको निर्वाचन परिणमअनुसार एमाले र जसपाका वडाध्यक्षले प्राप्त गरेको मत परिणामको आधारमा अगाडि देखिन्छ।

स्थानीय निर्वाचनमा एमाले–जसपाले २३ वटा र सत्ता गठबन्धनले १७ वटा वडामा जित हात पारेको थियो। एमाले–जसपा गठबन्धनले ३५ हजार २ सय २१ मत पाउँदा सत्ता गठबन्धनले ३३ हजार ९ सय ७० मत पाएको थियो। कुनै पनि वडा नजिते पनि जनमत पार्टीले १ हजार ७७ मत प्राप्त गरेको थियो । १ लाख ९ हजार २ सय ७१ मतदाता रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

सिरहा क्षेत्र नम्बर ४ मा एमाले जसपा गठबन्धनबाट जसपाका विरेन्द्र महतो र सत्ता गठबन्धनबाट एकिकृत समाजवादीका धर्मनाथ साहबीच प्रतिस्पर्धा छ।

यो क्षेत्रमा कर्जन्हा, कल्याणपुर, मिर्चैया नगरपालिकाका क्रमशः ११, १२ र १२ वटा वडा, विष्णपुर र नरहा गाउँपालिकाको ३÷३ वटा वडा पर्छन्। स्थानीय तह निर्वाचनको परिणामअनुसार माओवादी केन्द्रलाई ११,८८६ नेपाली कांग्रेसलाई १२,८११ र एकिकृत समाजवादीलाई ३,६१५ मत गरी कूल २८,३१२ मत आएको छ। एमालेलाई १४,६७१ र सजपालाई १२,८९४ मत गरी कूल २७,५६५ मत आएको छ।  

सिरहामा संस्थापन र इत्तर गरी दुई गुटबीच पहिलादेखि नै गहिरो मतभेद कायम छ। जसको प्रभाव र परिणाम विगतको स्थानीय र संसदीय चुनावमा छताछुल्ल भएको छ। यसपालीको संसदीय चुनावमा पनि निर्वाचन क्षेत्र नम्बर ३ ख मा सत्ता गठबन्धनको साझा उम्मेदवार एकिकृत समाजवादीका प्रमोद यादव हुँदा नेपाली कांग्रेसबाट संजय प्रकाश यादव बागी बने। उनी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। उनी कांग्रेस संस्थापन इत्तरका उम्मेदवार हुन्।

यादवलाई उम्मेदवारी फिर्ता गराउन संस्थापन पक्षले निकै कसरत गरेपनि सम्भव नभएको कांग्रेस सूत्रले बताए। संजय प्रकाशको उम्मेदवारीले सत्ता गठबन्धनको उम्मेदवारलाई यस क्षेत्रमा प्रत्यक्ष प्रभाव त पर्छ नै यसको बाछिटा जिल्लाभरी पर्ने कांग्रेसीजनको भनाइ छ। कांग्रेस कमजोर पर्नुमा आन्तरिक विवाद र मतभेदसँग उम्मेदवार छनौट मुख्य कारण रहेको ती कांग्रेसजनले बताए।

प्रकाशित: २७ कार्तिक २०७९ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App