७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

ठूला दलका अजेन्डा उस्तैउस्तै

कृष्णलाल महर्जन र प्रेमबहादुर महर्जन।

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि यसपटक नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी (नेकपा एस) का कृष्णलाल महर्जन र नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार छन्।

सत्ता गठबन्धनका उम्मेदवार कृष्णलाल निवर्तमान सांसद हुन्। उनी पटकपटक संसदीय अभ्यासमा सहभागी भएका अनुहार हुन्। एमालेका उम्मेदवार प्रेमबहादुर संसदीय निर्वाचन प्रतिस्पर्धामा नयाँ अनुहार हुन्। महर्जनद्वयका चुनावी अजेन्डा भने उस्तैउस्तै छन्। ललितपुर २ अन्तर्गत पर्ने पाटन क्षेत्रलाई दुवै उम्मेदवारले सांस्कृतिक सहर बनाउने लक्ष्य राखेका छन्। विकासका पूर्वाधार निर्माणमा पनि दुवै उम्मेदवारको समान धारणा छ। ललितपुर २ मा पर्ने पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने विषयमा पनि दुवैजनाको समान धारणा छ। दुवैले आफूले जित्ने दाबी गरेका छन्।  

सत्ता गठबन्धनका उम्मेदवार कृष्णलाल यसअघि आफू सांसदमा निर्वाचित भए पनि पार्टीभित्रकै असहयोगका कारण चाहेअनुसार काम गर्न नपाएको र आफ्नो पहलमा सुरु भएका कामलाई पूरा गर्न फेरि पनि उम्मेदवार भएको बताउँछन्। उनी यसअघि एमालेबाट निर्वाचित भएका हुन्।

‘तत्कालीन एमाले नेतृत्वले पूर्वाग्रह राखेका कारण आफूले सुरु गरेका काम पनि पुरा हुन सकेनन्। यसपटक निर्वाचित भएर ती योजनालाई पुरा गर्छु,’ उनले मतदातासँ भन्ने गरेका छन्। उनले धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै ललितपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउने बताए। पाटन क्षेत्रलाई सांस्कृतिक सहरका रूपमा विकास गर्नु आफ्नो पहिलो प्राथमिकता रहेकाले यसपटक पनि जनताको अभिमत पाउनेमा उनी विश्वस्त देखिन्छन्। ललितपुर २ मा बाटो, खानेपानी, बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उनले बताए। उनी यसपटक जनताले गलत प्रवृत्तिका विरुद्ध अभिमत दिने विश्वास गर्छन्। ‘गलत प्रवृत्ति र प्रतिगमनका विरुद्ध विद्रोह गरेका कारण जनताले हामी (नेकपा एससहितका दलका उम्मेदवार) लाई मत दिन्छन्,’ उनले भने। यसपटक आफू सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएकाले पनि जित सुनिश्चित रहेको उनको दाबी छ।  

प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवार प्रेमबहादुरको पनि चुनावी अजेन्डा पाटन र मंगल बजारलाई सांस्कृतिक सहर बनाउने छ। ललितपुर २ मा शिक्षा, रोजगारी, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा गर्नुपर्ने धेरै काम रहेको र आफू निर्वाचित भएपछि ती काम अघि बढाउने बताउँछन्। त्यस्तै उनले वातावरण संरक्षण तथा नदी किनारमा करिडोर बनाउन पहल गर्ने बताए।  

प्रेमबहादुर यसपटकको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने बताउँछन्। आफू संसदीय प्रतिस्पर्धामा नयाँ अनुहार भएको र जनताले पनि अहिले नयाँ अनुहार खोजिरहेकाले आफ्नो जित सुनिश्चित भएको उनी बताउँछन्। यसअघिका सांसदमा विजयी नेता जनतामाझ फर्किएर नआएको भन्दै जनताले अहिले आफूलाई जिताउनेमा उनी ढुक्क देखिन्छन्। ‘जनतामा सांसदमा निर्वाचित भएका नेता फर्केर आउँदैनन भन्ने छाप परेको छ। म त्यो भ्रम तोड्छु। म निर्वाचित भएपछि जनताकै माझमा रहेर काम गर्छु,’ उनले भने।  

प्रतिनिधिसभा सदस्यका लागि ललितपुर २ बाट स्वतन्त्र उम्मेदवार बनेका दिपेश केसीका चुनावी अजेन्डा पनि प्रमुख दलका प्रत्यासीसँग मिल्दाजुल्दा छन्। केसी पनि यस क्षेत्रको संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण गर्ने बताउँछन्। उनी आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, खानेपानी, बेरोजगारी जस्ता समस्या समाधानका लागि पहल गर्ने बताउँछन्। प्रमुख दलबाट उम्मेदवार बनेकाहरू यसअघि जनताबाट परीक्षण भइसकेको र जनताका समस्या समाधान तथा विकास निर्माणमा आफूसँग प्रष्ट योजना भएकाले निर्वाचनमा आफू नै विजयी हुने उनी बताउँछन्। राजनीतिक दलप्रति जनताको वितृष्णा बढेकाले यसपटक स्वतन्त्र उम्मेदवारको पक्षमा जनमत बनेको केसीको तर्क छ।  

ललितपुर २ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट कृष्णलाल विजयी भएका थिए। त्यतिबेला एमालेमा रहेका उनले माओवादीको समर्थनमा नेपाली कांग्रेसका चन्द्र महर्जनलाई पराजित गरेका थिए। कृष्णलालले २७ हजार सात सय १३ मतसहित विजय हासिल गर्दा कांग्रेसका चन्द्रले १६ हजार नौ सय ४५ मत ल्याएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने महालक्ष्मी नगरपालिकामा नगरप्रमुखसहित ६ वडामा एमाले, तीनवटा वडामा कांग्रेस र एउटा वडामा माओवादी केन्द्र विजयी भएका छन्। त्यस्तै यो क्षेत्रमा पर्ने ललितपुर महानगरअन्तर्गतका नौवटा वडामध्ये ६ वटामा कांग्रेस र ३ वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। ललितपुरमा सत्ता गठबन्धन दल, प्रमुख प्रतिपक्षी एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, हाम्रो नेपाली पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेस्नलिष्ट पिपुल्स पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, एकीकृत शक्ति नेपाल, नेपाल सुशासन पार्टी, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रतिस्पर्धामा छन्। नौजना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्।

प्रकाशित: २६ कार्तिक २०७९ ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App