२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्याङजामा फाटेको मन कसले जोड्ने ?

धनराजलाई आफ्नैको त्रास, पद्मालाई विपक्षीको आश

धनराज गुरुङ र पद्मा अर्याल

कांग्रेसको राजनीतिमा स्याङ्जाको नाम प्रायः अगाडि आउँछ। त्यसको कारण हो–लामो समयसम्म राष्ट्रिय राजनीतिमा स्याङजाले पकड जमाउनु। तर, पछिल्लो समय स्याङजामा कांग्रेस कमजोर बन्दै गएको त्यहाँका पुराना नेता कार्यकर्ताले अनुभव गरेका छन्। त्यसको झनै एकमात्र कारण हो–आफ्नै नेताबीचको इगो बढनु। कांग्रेसका नेताबीचको लामो समयदेखिको इगोले गर्दा निर्वाचनमा आफ्नैभित्र असहयोगसम्म गरेको छ।  

यस्तै इगोको त्रासमा अहिले स्याङजा–२ का कांग्रेस उम्मेदवार धनराज गुरुङ रहेका छन्। जो मतदातामाझ बलियो उम्मेदवार हुदाहुँदै पनि पार्टीभित्रकै इगोको मारमा पर्ने आशंका छ। एमालेकी सचिव पद्मा अर्यालसँगको प्रतिश्पर्धी हुन गुरुङ। गुरुङ पहिलो पटक प्रत्यक्ष रुपमा चुनाव लड्न लागेका छन भने अर्याल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन।

विश्लेषकका अनुसार कांग्रेस एकढिक्का भए धनराजलाई जित्न सहज छ। तर केहीगरि कांग्रेस एकढिक्का हुन सकेन भने त्यसको लाभ पद्माले पाउनेछिन्। पहिला पनि पद्माले यसकै लाभ पाएकी थिईन। यसअघि पद्माले कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई हराएकी थिईन। २०७४ को निर्वाचनमा तत्कालिन एमाले र माओवादीबीच तालमेल गरेर बाम गठबन्धन गर्दा त्यसको लाभ अर्यालले लिएकी थिईन। त्यत्तिमात्र नभई कांग्रेसभित्रकै इगोका कारण अर्यालले अघिल्लो चुनावमा कांग्रेसबाटै लाभ उठाएकी थिईन। २०७४ सालको चुनावमा तत्कालीन उपप्रधानमन्त्री तथा कांग्रेसका हस्ती गोपालमान श्रेष्ठलाई ३ हजार ७१५ मतले पराजित गरेकी पद्माको मनोबल अहिले पनि उच्च छ।  

केपी ओली नेतृत्वको सरकारमा भूमि सहकारी तथा गरिबी निवारणमन्त्रीको रहेकी पद्माको नाम नेपालको ‘चुच्चे नक्सा’ सार्वजनिक गरेपछि झनै चर्चा बढेको थियो। एमालेको सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा एमालेले प्रत्यक्ष चुनाव लडाएका मध्येका उच्च तहकी नेता हु्न्। अहिले धनराज र पद्माबीच चुनावी प्रतिश्पर्धा हुँदा स्याङजा २ निकै नै चर्चामा छ।  

विश्लेषकहरुका अनुसार स्याङजा २ आफैमा कांग्रेसका लागि बलियो क्षेत्र हो। तर, त्यहाँ कांग्रेस आन्तरिक इगोमा फस्दा त्यसको लाभ एमालेले लिन सक्ने सम्भावना छ। एमालेले भने संगठन परिचालनमा विशेष ध्यान दिएको र कांग्रेसभित्रको इगोको फाइदा लिन सक्ने देखिएको छ। धनराजलाई ‘टुरिष्ट’ उम्मेदवारको ट्याग लाग्ने पनि गरेको छ। किनकी उनी स्याङजा १ का बासिन्दा हुन। अहिले कांग्रेसले भोजराज अर्याललाई प्रदेशको ‘क’ उम्मेदवार बनाएको छ  भने ‘ख’ मा महेश भट्टराई उम्मेदवार छन। त्यस्तै एमालेले ‘क’ मा मोहन रेग्मी र ‘ख’ मा बुद्धिमान श्रेष्ठलाई उम्मेदवार बनाएको छ।  

एकजना विश्लेषकका अनुसार स्याङजा २ मा एकीकृत समाजवादी र माओवादी निकै नै कमजोर छन्। त्यसैले कांग्रेससाई गठबन्धनको बलियो साथ छैन। कांग्रेस आफैमा बलियो रहेकोले इगो नराखि सघाउने हो भने धनराजलाई सहज हुने नत्र अघिल्लो चुनावमा जस्तै एमालेकी पद्माले कांग्रेसको साथ पाएर लाभ लिन सक्ने ती विश्लेषकको भनाई छ। ‘धनराजलाई आफ्नै साथ, पद्मालाई विपक्षीको आश छ। कांग्रेसको प्रभाव भएको क्षेत्र हो। प्रदेश र संघमा नै कांग्रेस अब्बल छ। तर, कांग्रेसभित्रको इगोले गर्दा कांग्रेसलाई नै नोक्सान हुन सक्छ,’ श्रोतले भन्यो, ‘एमालेले कांग्रेसभित्रको इगोको फाइदा उठाउन सक्छ।’

स्याङजाको राजनीतिमा २०४८ सालमा गोपालमान श्रेष्ठले १ नम्बर क्षेत्रबाट जितेका थिए। तर, २०५१ मा गोपालमान २ नम्बरमा सरे। श्रेष्ठ विरुद्ध कांग्रेसकै नेताहरुले बागी उम्मेदवारी दिएपछि क्षेत्र फेरेको पहिलो पटक नै हार बेहोर्नुप¥यो। २०५६ र २०६४ मा गोपालमानले स्याङजा २ बाट निरन्तर जित हात पारे। २०७० मा समानुपातिक उम्मेदवार बनेका श्रेष्ठ २०७४ मा पनि त्यही क्षेत्रबाट उम्मेदवार बनेका थिए। तर, पद्मासँग हार बेर्हाेन पुगे। त्यसो हुनुको कारण थियो–गोपालमानलाई सधैं एकै क्षेत्रमा उम्मेदवार बनेको आरोप थियो। त्यही आरोपमा फस्दा कांग्रेसीको भोट गोपालमानले गुमाएका थिए।  

‘अहिले यहाँ निकै नै कडा प्रतिश्पर्धा छ। कार्यकर्ता र संगठन परिचालनमा एमाले अब्बल देखिन्छ। कांग्रेसले सदाचारको कुरा मात्र गरेको छ,’ श्रोतले भन्यो, ‘कांग्रेसका उम्मेदजार धनराज भ्रष्टाचार विरुद्धका कुरा गरेका छन्। सदाचारको कुराले मात्र मतदाता रिझाउन सहज देखिन्न।’  

अहिले स्याङजामा एमाले र कांग्रेसबीच प्रतिश्पर्धा भईरहँदा एकातिर सदाचार र अर्काेतिर तडकभडक कुरा सुनिने गरेका छन्। श्रोत भन्छः धनराजका विकासे नारा आकर्षक छैनन। धनराजले भ्रष्टाचार विरुद्ध कुरा गर्दा माओवादी नै खुसी छैन।’ पद्मा भने मन्त्री रहँदा कुनै न कुनै रुपमा मतदातालाई रिझाउन सकेको र त्यसको लाभ अहिले पनि लिन सक्ने देखिएको छ  

‘गोपालमानलाई २०७४ मै आफ्नै कार्यकर्ताले बिदा गर्न खोज्दा हारेका हुन्। कांग्रेसका मतदाताले त्यतिबेला एमालेलाई सघाउँदा त्यसको लाभ पद्माले लिएकी थिइन,’ श्रोतले भन्यो, ‘अहिले पनि धनराजलाई कांग्रेसकै कारणले डर छ। धनराजलाई मात्र नभई सिंगै कांग्रेस उम्मेदलाई असर पर्ने देखिएको छ। जबकी आफ्नै नेता गोपालमानले समेत जिल्लाका उम्मेदवारलाई जिताउन उत्तिसारो पहल गरेको कांग्रेस कार्यकर्ताले नै देखेका छैनन।’ गोपालमान असन्तोष हुनुको कारण आफ्नो क्षेत्र खोसेर अर्काे गुटलाई दिएको आरोप छ। गोपालनमानको असहयोग भईरहे एमालेबाट भन्दा पनि कांग्रेसबाटै धनराजलाई अप्ठेरो पर्न सक्ने श्रोतको विश्लेषण छ। 

संख्यात्मक हिसाबले कांग्रेस बलियो छ तर, संगठन परिचालनको कमजोर छ। यता एमालेको मतदाता कम भएपनि संगठित शक्ति लगाएको छ। कांग्रेसको पार्टी संयन्त्र सक्रिय हुन सकेको छैन। ठुलो समुहको नेतृत्व गोपालमानले गर्छन। तर, गोपालमान निस्कृय बसेको आरोप कार्यकर्ताको हुँदा त्यसको मार धनराजलाई पर्ने आशंका जिल्लाबासिको छ।  

स्याङजा २ मा कांग्रेसका मतदाता छन । तर, मतदाता हुँदाहुँदै कांग्रेसलाई नै डर छ। आफ्नै अन्तरघात हुने त्रासमा कांग्रेस छ । यस्तै त्रास एमालेलाई पनि नभएको होइन, तर धनराजलाई भन्दा कम छ। स्थानीय तह निर्वाचनमा आफ्ना एमालेकै नेताहरले उम्मेदवारलाई असहयोग गर्दा लाभ कांग्रेसलाई भएको हो। त्यत्तिमात्र नभई एमालेभित्रको द्वन्द्व कम गर्न र आफुविरुद्ध परिचालित हुन सक्ने देखेर पद्माकै बलमा नारायण मरासिनीलाई १ नम्बरको उम्मेदवार बनाउन लगाएको आरोप पद्मा माथि लाग्ने गरेको छ। किनकी मरासिनीलाई जिल्ला अध्यक्षमा पराजित गर्न पद्माको बल रहेको स्थानीय कार्यकर्ताको भनाई छ।  

‘आफ्नै विरुद्ध आइपर्ने त्रास देखेर पद्माले नारायण मरासीनिलाई १ नम्बरमा उम्मेदवार बनाउन लगाएकी थिइन। नत्र हिँजो जिल्ला अध्यक्ष बनाउन अर्यालकै असहयोग थियो,’ श्रोत भन्छ, ‘आफु बलियो बन्नका लागि मरासिनीलाई अन्यत्र पन्छाएको र कांग्रेसको साथ पाए जित्ने आशमा पद्मा छिन्।’  

एकजना विश्लेषक तुलसी गिरीका अनुसार स्याङजा कांग्रेसभित्रको अन्तरद्वन्द्व चरम अवस्थामा छ । हिजोदेखि एकाकार भएका कांग्रेसका नेताहरु पछाडि पर्दै गएपछि एकअर्काबीच इगो सुरु भएको हो। ‘ २०५१ देखि नै इगो मेटाउने भन्दा पनि बढाउने काम भएको हो,’ गिरीले भने, ‘पार्टीभित्रै भद्रगोल छ। कांग्रेसको अन्तरआत्मादेखिको एकता भड्किएको अवस्था छ। आफ्नै साथीले एमालेलाई भन्दा पनि कांग्रेसलाई टाढा देख्ने अवस्था छ।’ गिरीको विश्लेषणमा कांग्रेसभित्र फाटेको मन जोड्ने प्रयास भएन, बरु बढाउँदै लगियो। त्यो पुरानो इगो अहिले पनि उस्तै रहेको उनी बताउँछन। त्यसको असर गत स्थानीय तहको चुनावमा पनि देखिएको थियो।  

‘धनराजलाई पाहुना उम्मेदवार समेत भन्न भ्याएका छन,’ गिरीले भने। धनराज १ नम्बरका बासिन्दा हुन। उनी अहिले २ नम्बरको चुनावी मैदानमा छन। ‘आत्मैदेखि कांग्रेसका नेताहरु धनराजको पक्षमा कत्तिको लागेका छन् भन्ने हो। धनराजलाई उत्ति सजिलो छैन, त्यो हुनुको कारण पार्टीभित्रकै इगो मुख्य कारण हो,’ उनले भने, ‘मान्छेमा उत्साह जगाउन नसक्नु कारण मुख्य हो।’

हुन त यस्तै असन्तोष एमालेकी पद्मा अर्याल प्रति पनि छ। ‘पद्माप्रति पनि एमाले सन्तुष्ट त छैन,’ उनले भने, ‘एकअर्काबीचको असन्तोषको लाभ कसले पाउने भन्ने मात्र हो। तर अन्तोषको बढी भार कांग्रेसमा धेरै छ ।’ कसैले घात नगरे धनराज बलियो मान्नुपर्ने भएपनि आफ्नैबाट डराउनुपर्ने अवस्था धनराजलाई रहेको उनले बताए।  

प्रकाशित: २४ कार्तिक २०७९ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App