१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मतदाताका वारेसप्रति चनाखो बन्नू: निर्वाचन आयोग

फाइल तस्बिर।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिबिहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिएका छन्।

अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन उनले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका हुन्।  न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले गत स्थानीय तहको निर्वाचनमा दृष्टिबिहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको भन्दै त्यसप्रति चनाखो हुन आवश्यक रहेको बताए।

‘स्थानीय तहको निर्वाचनको हाम्रो अनुभवले के देखाएको छ भने, दृष्टिविहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेश बनी मतदान गरिदिएको र आफैँ मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको भनि अरुमार्फत मतदान गराएका केही उदाहरण पनि आएका छन्’ उनले भने ‘मतदानको सन्दर्भमा यो गम्भीर प्रकृतिको कसुर हो। यस्ता कार्यलाई कहीँ कतैबाट हुन नदिनको निम्ति सचेत रहन म सबैलाई आग्रह गर्दछु।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियालाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउने कुरामा ध्यान दिन पनि सम्बन्धित प्रमुख निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए। उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा लैङ्गिक र अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण गरी उदाहरण प्रश्तुत गर्न आग्रह गरे। उनले भने, ‘निर्वाचन आयोग समग्र निर्वाचन प्रक्रियालाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउने सन्दर्भमा सधैँ वकालत गर्दै आइरहेको छ। यसै सन्दर्भमा आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्यको निर्वाचन निम्ति साँच्चै नै यो निर्वाचन लैङ्गिक दृष्टिकोणले अपाङ्गता भएका आदरणीय मतदाताको दृष्टिकोणबाट उपयुक्त भएको छ भन्ने सन्देश दिनको निम्ति म हाम्रा सम्पूर्ण मुख्य निर्वाचन अधिकृति ज्युहरु र निर्वाचन अधिकृत ज्युहरु मार्फत सम्पूर्ण मतदान अधिकृत एवं सहायक मतदान अधिकृत ज्युहरुलाई विशेष अनुरोध गर्न चाहन्छु।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थलको सम्पूर्ण व्यवस्थापन गर्दा अपाङ्ग, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी, अशक्तहरुलाई सहज पहुँचको सुनिश्चितता कायम गर्नेगरी मतदान केन्द्र निर्माण गर्न आग्रह गरे। मतदान स्थलमा गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, कृयापुत्री तथा सुत्केरी मतदाताहरुको लागि सामान्य अवस्थाको एउटा विश्रामस्थल निर्माण गर्न पनि उनले निर्देशन दिए।  

‘तपाईहरुले मतदान स्थलको व्यवस्थापन गर्दा र मतदान कार्यको सम्पूर्ण व्यवस्थापन गर्दा विशेष ध्यान दिनुहोला। सबैभन्दा पहिला मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपाङ्गता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी, अशक्त यी सबैलाई सहज हुनेगरी पहुँचको सुनिश्चितता कायम गर्नेगरी मतदान केन्द्र निर्माण गरिदिनुहोस्’ उनले भने, ‘गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, कृयापुत्री तथा सुत्केरी मतदाताहरुको लागि सामान्य अवस्थाको भएपनि एउटा विश्रामस्थल सँगै निर्माण गरिदिनुस्।’  

आयोगले मतदान कक्ष बनाउँदा, मत पेटीका राख्दा, धेरै अग्लो ठाउँमा नबनाइ मतदान गर्ने ठाउँ सकेसम्म होचो कद भएका र अपाङ्गता भएका मतदाताहरुले पनि सजिलै मतदान गर्नसक्ने र मत पेटीकामा आफैले मत खसाल्न सक्नेगरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ। यो पटक निर्वाचन आयोगले मतदानको दिनसमेत आवश्यक व्यवस्थासहित नियन्त्रित र व्यवस्थित ढंगले सवारी साधनलाई पनि सञ्चालन गर्नेगरी आवश्यक प्रवन्ध गर्ने र गम्भीर प्रकृतिका अशक्त, ज्येष्ठ नागरिक लगायतका मतदाताहरुलाई सकेसम्म मतदान केन्द्रसम्म जान र फर्किनको निम्ति आवश्यक समन्वय गरी सवारी साधनको आवश्यक प्रवन्ध गरिदिन पनि आग्रह गरे।

प्रकाशित: २४ कार्तिक २०७९ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App