१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्र अन्योलग्रस्त

तोकिएको बेला पाहुना गन्तव्य पुग्न सक्ने अवस्था नै भएन

पृथ्वी राजमार्गमा केहीदिन अघि पहिरोमा परेको पोखराबाट काठमाडौं जाँदै गरेको पर्यटक सवार बस। बसलाई पहिरोले क्षति गरेपनि यात्रु भने सुरक्षित थिए। तस्बिरः नागरिक

पोखरामा होटल बुकिङ गरेका विदेशी पाहुनाको एक समूह केहीदिन अघि काठमाडौंबाट बिहान ११ बजे हिँडे। सरासर आउन पाएको भए ती विदेशी पर्यटक बेलुकी ५ बजे नै पोखरा आइपुग्थे। बेलैमा पोखरा आउन पाएको भए उनीहरुले खाना खान र आराम गर्न पनि पाउँथे।  

तर, बाटोको अवरोधले गर्दा ती विदेशी पाहुना पोखरा आइपुग्दा भोलिपल्ट बिहान ३ बज्यो। बेलुकी ५ बजे आइपुग्नुपर्ने ती पाहुना थप १० घण्टा बाटोमा रोकिए। काठमाडौं–पोखराको स्थलमार्गको दूरी ६ घण्टा हो।

पृथ्वी राजमार्ग बिस्तारको कारणले गर्दा पोखरा–मुग्लिन खण्डको यात्रा अवधि केही थपिएको थियो। तर, पछिल्लो पछिल्लो समयको बाढी पहिरोले राजमार्गमा क्षति गर्दा यात्रा अवधि झनै लम्बिएको छ। काठमाडौंबाट बिहान ११ बजे हिँडेर भोलिपल्ट बिहान ३ बजे पोखरा आइपुग्दा ती पर्यटकले १६ घण्टा बाटोमै बिताउनुपरेको व्यवसायीले बताए।

‘पर्यटकीय सिजनको सुरुवातमै विदेशी पाहुनाले यस्तो सकस खेप्नुपरेको छ की भनिसाध्य छैन, होटल बुकिङ गरेका तर, बस्न नपाएका ती पाहुनासँग मूल्य लिन पनि गाहे पर्ने अवस्था सिर्जना गरिदियो,’ उक्त होटलका एक उच्च कर्मचारीले भने, ‘उनीहरुकै नाममा होटलको कोठा बुकिङ गरिसकेकोले पैसा त लिनैपर्ने अवस्था आयो। तर, ती पाहुनाले निकै नै बढी सास्ती खेप्न बाध्य भए। लामो समय राजमार्गमा गुर्जानुपर्दा ती पाहुनासँग खुसीको चमक थिएन, बरु त्रास झल्किएको थियो।’

पछिल्लो पटकको विपद्ले पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्ड छियाछिया छ। राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्दा यात्रा समय अनिश्चित छ। चाँडबाँड मान्न घर फर्किन थालेका र नेपाल घुम्न भनेर टाढाटाढाबाट आएका विदेशी पाहुना अहिले मारमा छन्। ‘काठमाडौं–पोखरा यात्रामा १६ घण्टा लागेको त एउटा प्रतिनिधि घटनाक्रम मात्र हो। त्यो भन्दा डरलाग्दो त अहिले हिँडडुल नै सकसपूर्ण बन्यो।

यसले पर्यटन क्षेत्रमा पनि उत्तिकै क्षति गरेको छ। आाएका पाहुना गन्तव्यमा पुग्न सक्ने अवस्था छैन भने यात्रा पनि जोखिमपूर्ण बनेको छ,’ ती कर्मचारीले भने, ‘स्थलमार्गमा कहाँ कतिखेर पहिरो खस्ने भन्ने त्रास छ। यसले सिजनको पर्यटन क्षेत्रलाई अन्योलपूर्ण बनाएको छ।’

यो बेला पर्यटकीय सिजन हो। विदेशी पर्यटकको धुइरो लाग्ने यो बेलामा अहिले विपद्ले गर्दा यात्रा जोखिमपूर्ण बनेको उनले बताए। ‘१६ घण्टा लगाएर काठमाडौंबाट पोखरा आएका विदेशी पर्यटकले नेपालबारे सन्देश कस्तो लैजालान् भन्ने चिन्ता पनि छ। किनकि पर्यटकीय सिजन चलिरहँदा यात्रा नै असुरक्षित र अनिश्चित बनेको छ,’ उनले भने, ‘स्थलमार्ग मात्र नभई हवाईयात्रा पनि अहिले चुनौतीपूर्ण छ। किनकि यो बेला यात्रुको भार थपिँदा हवाई सेवा पनि सकसपूर्ण बनेको छ। घन्टौ कुरेर मात्र हवाई उडान गर्न पाइने अवस्थाले सकस बढाएको छ।’  

पर्यटन व्यवसायीले यो बेला विदेशी मात्र नभई स्वदेशी पर्यटकसँग पनि उत्तिकै अपेक्षा राखेका थिए। तर, पछिल्लो विपद्ले विदेशी पाहुना त प्रभावित हुने नै भए स्वदेशी पनि प्रभावित हुने चिन्ता उनीहरुमा छ।

अर्का पदयात्रा पर्यटन व्यवसायी धर्मराज पन्थी भन्छन्, ‘हामीले यो सिजनमा विदेशी पाहुनाको आगमन ह्वात्तै बढ्नेमा आशावादी थियौ। तर, नेपालमा घटेका केही घटनाक्रमले पर्यटक भित्रिने मुख्य सिजनलाई नै मार परेको छ। सिजनको आगमन प्रभावित भइसकेको छ। अझ पछिल्लो बाढी पहिरोको घटनाले त झनै अप्ठेरो थपिएको छ।’ हवाई र स्थलमार्गका दुर्घटनादेखि स्थलमार्गमा पहिरोको त्रासले पर्यटन क्षेत्रमा अन्योल थपिदिएको उनले बताए।

उनका अनुसार यति बेला पोखराका होटलको अकुपेन्सी कम्तीमा पनि ७० प्रतिशत हाराहारीमा हुनुपर्ने हो। तर, निकै नै कम अकुपेन्सीमा अहिले होटल चलिरहेको पन्थीले बताए।

‘पाहुना आउनै पाएनन्। पाहुना भित्रिने समयमा प्राकृतिक विपद्ले सर्वत्र क्षति गरेको छ,’ उनले भने, ‘आउने तयारीमा रहेका पाहुना समेत अब अन्यत्र डाइभर्ट हुने पक्का छ। नेपालको यात्रा असुरक्षित रहेको भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा फैलिने पक्का छ।’ पर्यटकीय सिजन भएपनि पर्यटकीय क्षेत्र लेकसाइड सुनसान बनेको उनले सुनाए।

होटल क्षेत्रमा उच्च तहमा कार्यरत प्रशासक गुप्त गिरी पनि पछिल्लो घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित हुने पक्का भएको बताउँछन्। ‘पर्यटन क्षेत्र सामान्य घटनाक्रमले त प्रभावित हुन्छ। अहिले त सबैतिर तहसनहस हुनेगरि विपद् निम्तिएको छ। यसले पर्यटन क्षेत्रलाई प्रभावित पारेको छ,’ उनले भने, ‘नेपालको यात्रा अनिश्चित र असुरक्षित हुन्छ भन्ने सन्देश प्रवाह भएको छ। त्यसले सिजनको बेलाको आगमनलाई प्रभावित पार्नेछ।’  

अर्का पर्यटन व्यवसायी बोबरजंग गुरुङ पनि पर्यटन क्षेत्रलाई अहिलेको विपद्ले निकै नै त्रसित बनाएको बताउँछन्। ‘होटल र रेस्टुरेन्ट क्षेत्रलाई त अहिले निकै नै अप्ठेरो पारेको अवस्था हो। यातायात क्षेत्रमा भने चाँडबाँडका कारण आन्तरिक यात्रुले गर्दा केही राहत मिलेको छ। तर, विदेशीको आगमनमा भने प्रभाव पारेको छ,’ उनले भने, ‘सिजनको आगमन प्रभावित भयो। विदेशी पाहुना आउने सिजनमा अहिले सबैतिर सुनसान बनेको छ।’  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार यो सिजनमा नेपाल आउनेगरि बुकिङ गरेका विदेशीले धमाधम बुकिङ रद्द गरिरहेका छन्। ‘विदेशी पाहुनाले धमाधम बुकिङ क्यान्सिल गरेको भनेर व्यवसायीले गुनासो सुनाईरहेका छन्’ व्यवसायीको भनाई उद्धृत गर्दै लामिछानेले भने, ‘नेपालमा पछिल्ला केही घटनाक्रमले पाहुना आगमन त प्रभावित भएको थियो । त्यसैमाथि झनै प्रभाव पार्नेगरि प्राकृतिक विपद् निम्तियो। त्यसले गर्दा पाहुना आउन त्रसित भएका छन्।’

उनका अनुसार यो बेला पदयात्राका लागि उत्तम समय मानिन्छ। पदयात्राका लागि विदेशी पाहुना नेपाल आउन चाहने हुन। तर बाढीपहिरोले गर्दा नेपालको यात्रा असुरक्षित र अनिश्चित भन्ने सन्देश फैलिँदा प्रभावित भएको उनले बताए । ‘नेपालप्रति विदेशी पाहुनाको भिन्दै बुझाई थियो। तर,यात्रा अनिश्चितताले गर्दा पाहुनाहरु हच्किएका छन्,’ लामिछानेले भने।  

उनले यो बेला आन्तरिक पाहुनाको समेत यात्रा गर्ने समय भएपनि अहिलेका घटनाक्रमले आन्तरिक पाहुना पनि बढी प्रभावित हुने पक्का भएको बताए। ‘आन्तरिक पनि अहिले हत्तपत्ति बाहिर निस्कने अवस्थामा छैनन्। किनकि राजमार्गको यात्रा असुरक्षित र सकसपूर्ण बनेको छ। त्यसले गर्दा पाहुनाको हिँडाइ अघिल्ला वर्षभन्दा कमजोर हुने पक्का छ,’ लामिछानेले भने।

प्रकाशित: १९ आश्विन २०८१ १७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App