४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनाव बहिस्कार आरोपमा माओवादी मजदुर पार्टी महासचिव राई पक्राउ

पक्राउ परेर २४ घण्टापछि छुटेका मामपा महासचिव राई। तस्विरः महेश्वर

माओवादी मजदुर पार्टी (मामपा)का महासचिव हिमालसिंह राई पक्राउ परेका छन्। आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव बहिस्कार गर्ने अभियान चलाउँने क्रममा मंगलबार सदरमुकाम गाईघाट बजारबाटै उनी पक्राउ परेका हुन्।

केही दिनयता चुनाव बहिस्कार अभियान छोडेका उनी बजारमा पर्चा पम्प्लेट बाँड्दै, टाँस्दै हिडेका राई मंगलबार दिउँसो आफ्नै निवासबाट पक्राउ परेका हुन्। पक्राउ परेको २४ घण्टामै उनलाई बुधबार दिउँसो प्रहरीले तारेखमा छाडेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेशकुमार पोदारले राईलाई २४ घण्टा हिरासतमा राखेर चुनाव बिथोल्ने गतिविधि नगर्ने शर्तमा कागज गराई छाडिएको बताए। उनका अनुसार महासचिव राईले चुनाव अवधिभर बहिस्कार अभियान नचलाउने शर्तमा हस्ताक्षर गरेका छन्।

यसैबीच मामपाले बुधबार साँझ एक विज्ञप्ती प्रकाशित गरी चुनाव बहिस्कार गर्न पाउने लोकतान्त्रिक अधिकारको उपयोग गर्न नदिएकोमा भत्र्सना गरेको छ। नेपालको संविधान अनुसार लोकतान्त्रिक अधिकारको उपयोग गर्दै पार्टी केन्द्रीय समितिको निर्णय अनुसार चुनाव बहिस्कार अभियान चलाउने क्रममा पक्राउ गरेर अधिकारको हनन् गरेको विज्ञप्तीमा उल्लेख छ।  

पार्टीका संस्थापक महासचिव रहेका राईले जारी गरेको विज्ञप्तीमा राज्यसत्ताको यस्तो गतिविधिले मजदुर किशासन वर्गप्रति शोषण र दमनको अनुभूति भएको उल्लेख गरेका छन्। राज्यको यस्तो शोषणपूर्ण कदमको घोर बिरोध र भत्र्सना मामपाले गर्ने पनि विज्ञप्तीमा उल्लेख छ।  

उदयपुरमा मात्र कार्यक्षेत्र बनाइरहेको मामपा लगायत देशभर ४ वटा राजनीतिक दलहरुले मंसिर ४ को चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन्। नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपा, विश्वभक्त दुलाल (आहुती) नेतृत्वको नेपाल कम्युष्टि बैज्ञानिक समाजबादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले चुनाव बहिस्कारको घोषणा गरेका छन्।  

प्रहरीले अन्य बहिस्कारबादी पार्टीका नेता कार्यकर्ताको पनि खोजी गरिरहेको जनाएको छ। चुनावलाई शान्तिपूर्ण, भयरहित, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गराउने प्रहरीको दायित्व अनुसार निर्वाचनबिरोधी गतिविधि गर्न नदिन प्रहरी दृढ रहेको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए।  

उनले आउँदो मंसिर ४ गते हुने चुनावमा जिल्लाभरीका मतदाताले शान्तिपूर्ण र भयरहित वातावरणमा भाग लिएर रोजेको उम्मेदवारलाई मतदान गर्न पाउने ग्यारेन्टी गर्न बहिस्कारबादी र चुनावबिरोधी समूहलाई चलबलाउन नदिन प्रहरी प्रधान कार्यालयले आदेश दिएको बताए। आफुहरु माथिको आदेश अनुसार काम गर्नुपर्ने बाध्यता भएकाले यस्ता गतिविधिविरुद्ध सचेत भएर क्रियासिल रहेको फुयालले बताएका छन्।

प्रकाशित: २३ कार्तिक २०७९ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App