८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

चन्द्रौटामा सद्भाव फर्काउँदै निर्वाचन

उत्तरी क्षेत्रमा पहाडबाट झरेको समुदायको बसोबास छ। दक्षिणतिर मधेसी समुदायसँगै आसपासका गाउँमा मुस्लिम समुदायको पनि उत्तिकै बाक्लो बस्ती छ। बीचमा महेन्द्र (पूर्व–पश्चिम) राजमार्ग छ। यही राजमार्गमा पर्ने सहर हो– चन्द्रौटा।

यही चन्द्रौटा सहर एक समय पहाडी–मधेसी, हिन्दु–मुस्लिम सबै समुदाय जोड्ने सद्भावको पुल थियो। बजारमा सबै समुदायका पसल थिए। सबै मिलेरै व्यवसाय गर्थे, उद्योग वाणिज्य संघमा संगठित थिए।

उत्तरी क्षेत्रमा बसोबास गर्ने पहाडी समुदायका मानिस चन्द्रौटा बजार आउँथे। दक्षिण भेकमा बस्ने मधेसी र मुस्लिम समुदाय पनि त्यहीं बजार गर्न पुग्थे। सबैले सद्भावका साथ समय बिताउँथे। हिन्दुका चाडपर्व दसैं, तिहार र छठमा मुस्लिम पनि रमाउँथे। मुस्लिमका इद, बकर इद, रमजानमा हिन्दु पनि रमाउँथे।

‘हिन्दु–मुस्लिम, पहाडे–मधेसीबीचको त्यस्तो सद्भाव सायद अन्यत्र कहीं थिएन होला,’ चन्द्रौटा बजारमा रहेको उसमान विन अफ्फान मदरसाका सदरे मुदरिस (प्रधानाध्यापक) ताजुद्दिन सिरादीले भने, ‘सबै मिलेर, एकअर्कालाई सम्मान गरेर बसेका थियौं।’

चन्द्रौटाको यस्तो सद्भाव १५ वर्षअगाडिको एउटा घटनाले एकाएक तहस–नहस पारिदियो। त्यसले निम्ताएको साम्प्रादायिक द्वेष पूर्ण रुपमा अझै हटेको छैन। तर पनि यहाँका सबै समुदाय अब त्यो तितो यथार्थबाट बिर्सन चाहन्छन्। उनीहरूले मंसिरमा हुने निर्वाचनबाट त्यस्तो द्वेष र विभाजन अन्त्य गर्न चाहिरहेका छन्।

के थियो घटना ?

राज्यको मूलधारमा आउन प्रयासरत मुस्लिम समुदायका त्यतिबेलाका एक चर्चित नेता थिए, अब्दुल मोइद खाँ। लामो समय नेपाली कांग्रेसको राजनीति गरेका खाँ महन्थ ठाकुर, हृदयेश त्रिपाठीलगायतका नेताहरूको अगुवाइमा बनेको मोर्चामा सम्मिलित थिए, जुन पछि गएर तराई मधेस लोकतान्त्रिक पार्टी बन्यो।

तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भए पनि उनी राजदरबारसँग पनि निकट थिए। उनका बुवा मन्नान खाँ दरबारका सल्लाहाकार समेत थिए। राजपरिवारसँग निकट रहेकै कारण सशस्त्र द्वन्द्वकालमा मोइदको घरमा तत्कालीन विद्रोही नेकपा माओवादीले दुईपटक आक्रमण गरेको थियो। त्यसक्रममा एउटा घटनामा दुईजना र अर्को घटनामा मोइदका भाइ डा. इकवाल खाँको मृत्यु भएको थियो। दुवै पटक स्थानीयले मोइदको हत्या योजना असफल बनाइदिए। त्यसक्रममा माओवादीतर्फ ठूलै हताहती भएको अहिले पनि स्थानीय बताउँछन्।  

माओवादी आक्रमणपछि तत्कालीन राजदरबारले मोइदको घरमा नेपाली सेनाको क्याम्प राखिदियो। ‘त्यतिबेला राजाको दरबारमा सेना थियो तर निजी घरमा कतै थिएन। माओवादी आक्रमणपछि दरबारको निर्देशनमा मोइदको निजी घरमा सेना बस्योे,’ मदरसाका सदरे मुदरिस सिरादीले भने।

मोइदको २०६४ भदौ ३० गते गोली हानेर हत्या गरियो। सेनाको घेरामा बस्ने मोइदको घरभन्दा बाहिर निस्किएका बेला गोली हानेर हत्या गरिएको थियो। स्थानीय जानकारका अनुसार कसैले फोन गरेर उनलाई घरबाहिर बोलाएको थियो। बाहिर गाउँमा पुगेपछि अपरिचित समूहका केही व्यक्तिहरूले उनीसँग केही समय कुराकानी गरे। कुराकानी गरेपछि सोही समूहका एक व्यक्तिले उनीमाथि गोली प्रहार गरे। उनको मृत्यु भयो। गोली हान्ने को थिए ? किन मोइदलाई फोन गरेर घरबाहिर बोलाए ? किन उनी बाहिर गए ? यी प्रश्नहरू अहिलेसम्म अनुत्तरित छन्। ‘उहाँ आफै निकै भद्र र सहज प्रकारको समाजसेवी हुनुहुन्थ्यो। जोकोहीले बोलाउँदा पनि भनेको ठाउँमा पुग्नुहुन्थ्यो,’ मदरसाका सदरे मुदरिस सिरादीले भने्, ‘त्यही कमजोरीको फाइदा हत्याराले उठाएको हुनुपर्छ।’

मोइदको हत्यापछि शान्त चन्द्रौटाको रुप रौद्र बन्योे। घटना भएको एक घण्टा नबित्दै चन्द्रौटाको दक्षिण भेकतिरबाट घरघरमा आगलागी हुन थाल्यो। ‘हामीले त्यो खबर सुनेपछि धमाधम पसल बन्द ग¥यौं,’ चन्द्रौटाका व्यवसायी महादेव पोखरेलले सम्झिए, ‘केहीबेरपछि मानिसको समूहले बजार आगो लगाउन थाल्यो। पार्किङ गरेर राखिएका दुई सय ट्रक जलाइए।’ त्यसक्रममा चन्द्रौटा, कृष्णनगर, गणेशपुर, बिसनपुर, चनईलगायतका क्षेत्रमा साम्प्रादायिक हिंसा भड्किएको थियो। सुरुमा पहाडी र मधेसीबीच भड्किएको हिंसा पछि मधेसी हिन्दु र मुस्लिम समुदायमा रुपान्तरण भयोे। त्यसक्रममा १४ जनाको ज्यान गयो। केही बलात्कृत भए। १० हजारभन्दा बढी बजार र आसपासका घर छाडेर भागे। मधेसी र मुस्लिम समुदाय भारततर्फ र पहाडी समुदाय पहाडतिर लागे।

हिंसा भड्किरह्यो। प्रशासनले निषेधाज्ञा लगाइरह्यो। ‘त्यो घटनापछि मुस्लिम, हिन्दु, मधेसी र पहाडी समुदायबीच ठूलै खाडल देखियो। त्यसको रुप त मधेस आन्दोलनमा झन् गहिरियो,’ कपिलवस्तु घटना पीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका स्थानीय व्यवसायी पोखरेलले भने, ‘त्यतिबेला राजनीतिक दलका नेताले पनि भाषण गर्दा साम्प्रादायिता ओकल्थे। तीनका भाषण स्मरण गर्ने हो भने अहिले पनि साम्प्रादायिकता भड्किन सक्छ।’

मुस्लिम अगुवा मोइदको हत्या र त्यसपछि भड्किएको साम्प्रादायिक हिंसाको कारण अझै पनि पत्ता लागेको छैन। मोइदको हत्याका विषयमा अनेक आशंका छन्। ढाका टोपी लगाएर आएका व्यक्तिले गोली चलाएको प्रत्यक्षदर्शीले बताउने गरेका छन्। गोली हान्ने मधेसी वा पहाडी को भन्ने विषयमा अहिलेसम्म्म पनि अन्योल छ। यसैकारण साम्प्रदायिक हिंसाको असर मधेसी र पहाडी दुवै समुदायतर्फ परेको जानकारहरूको भनाइ छ। गोली हान्नेले ढाका टोपी लगाएकाले नेपाली भएको अनुमान स्थानीय बहुसंख्यकको छ। माओवादीले पहिला पनि उनको घरमा आक्रमण गरेकाले सोही पक्षबाटै हत्या भएको आशंका एकथरीको छ। अर्काथरीले मोइदको बढ्दै गरेको ओजका कारण नेपाली राजनीतिमा मुस्लिम समुदायबाट ठूलै नेता बन्नसक्ने देखेपछि भारतीय कट्टर हिन्दुवादी संस्था आरएसएसले हत्या गरेको हुन सक्ने आशंका गर्छन्।

घटनापछि सरकारले पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकको नेतृत्वमा छानबिन आयोग बनायो। आयोगले सरकारलाई प्रतिवेदन बुझायो। तर त्यो प्रतिवेदन आजसम्म पनि सार्वजनिक गरिएको छैन। स्वयं मल्लिकले पनि आयोगले भेट्टाएका तथ्य बाहिर चुहाएका छैनन्। पीडित पक्षसँगको भेटमा उनले त्यो प्रतिवेदनमा सत्यतथ्य सबै उल्लेख गरेको तर आफूले सार्वजनिक गर्न नमिल्ने बताउने गरेका छन्।

पीडित पक्षले सत्यतथ्य सार्वजनिक गर्न, राहत तथा क्षतिपूर्ति दिन माग गर्दै संघर्ष गरे पनि सुनुवाइ भएको छैन। सर्वोच्च अदालतमा मुद्दा छ तर पेसी सरेको स¥यै छ। ‘घटनापछि सबै पार्टीका सरकार बनेका छन्। हामीले सबैजसो दलका नेतालाई भेटेका छौं। तर हाम्रो आवाजमा कोही कसैले चासो दिएनन्,’ संघर्ष समितिका अध्यक्ष पोखरेलले भने, ‘न्यायालय धाउँदा पनि हाम्रो मुद्दा उपेक्षामा प¥यो। राज्य नै डराउने, प्रतिवेदन गोप्य राख्ने, खास कुरा के हो ? हामीले जान्न त चाहेका छौं।’

सद्भाग फर्काउँदै निर्वाचन

त्यतिबेला भड्किएको सम्प्रादायिकता हिंसाका बाछिटालाई त्यसयता भएका आवधिक निर्वाचनले हटाउँदै लगेको बुझाइ स्थानीयको छ। ‘भोटस्वार्थ’ ले नेताहरूलाई पनि साम्प्रादायिक आवाज सद्भावमा परिणत गर्न बाध्य पारेको स्थानीय जानकारको भनाइ छ। समुदाय जोड्न राजनीतिक दलका नेताभन्दा स्थानीय सामाजिक तथा व्यवसायिक संस्थाका अगुवाले भूमिका खेलेका छन्। राजनीतिक दलका नेताहरूले पनि साम्प्रादायिक आवाजभन्दा विकास र सामाजिक, आर्थिक विकासका मुद्दालाई चुनावी अजेन्डा बनाइरहेका छन्।

पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा साम्प्रादायिक आवाज सुनिए पनि २०७४ सालमा भएका निर्वाचन, गत वैशाखमा भएको स्थानीय तह निर्वाचन र मंसिरमा हुन लागेको निर्वाचनसम्म आइपुग्दा साम्प्रादायिक आवाज शून्यमा झरेको देखिन्छ। दलहरूले उम्मेदवार सबै धर्म र समुदायलाई समेटेर उम्मेदवार बनाउनुपर्ने बाध्यता र सँगै भोट माग्न जानुपर्ने अवस्थाले परस्परको सद्भाव कसिलो बन्दै गएको छ।

समावेशी उम्मेदवारी

चन्द्रौटा बजार अहिले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ। चन्द्रौटा शिवराज नगरपालिकामा पर्छ। यो निर्वाचन क्षेत्रमा शिवराज नगरपालिकाका एउटा वडाबाहेक सबै, महाराजगन्ज नगरपालिकाका तीनवटा वडा, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका पर्छन्।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट कांग्रेसका अभिषेकप्रताप शाह, एमालेका मंगलप्रसाद गुप्ता र जनता प्रगतिशील पार्टीका ईश्वरीदयाल मिश्र मुख्य प्रतिस्पर्धी रहेको स्थानीय बताउँछन्। शाह लगातार तीन निर्वाचनका विजेता हुन्। उनले यसपटक पनि आफूले सजिलै जित्ने दाबी गरिरहेका छन्। ‘अरुको गणना १ बाट हुन्छ। मेरो पाँचहजार एकबाट हुन्छ। त्यसैले मेरो प्रतिस्पर्धा कोहीसँग हुन्न र छैन। यो क्षेत्रबाट अकोर्ले जित्न मैले उम्मेदवारी दिनु नै हुन्न,’ उनले भने, ‘यहाँ जतिपटक म उठ्छु जित्छु।’

एमालेका उम्मेदवार गुप्ता जीवनको अधिकांश समय कांग्रेसमा बिताएका नेता हुन्। कांग्रेसबाट जसपा हुँदै उनी केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन्। यो क्षेत्रमा एमाले र जसपाको गठबन्धन भएका कारण उनी हौसिएका छन्।

जनता प्रगतिशील पार्टीका उम्मेदवार मिश्र अघिल्लोपटक हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए। उनी २०६४ सालको संविधानसभा सदस्य निर्वाचित भई मन्त्रीसमेत बनेका थिए।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले प्रदेशसभा (क) मा मुस्लिम नेता एहसान अहमत खाँ र कांग्रेसले प्रदेशसभा (ख) मा मधेसी समुदायका वीरेन्द्र कनौडियालाई उम्मेदवार बनाएको अवस्था छ। कनौडिया लुम्बिनी प्रदेश सरकारका मन्त्री पनि हुन्। एमालेले प्रदेशसभा (क) मा पहाडी समुदायका अर्जुनकुमार केसीलाई उम्मेदवार बनाउको छ। उनी यसअघि पनि प्रदेशसभा सदस्य थिए। एमालेले प्रदेशसभा (ख) मा मुस्लिम समुदायका रजाउर्रहमान खाँलाई उम्मेदवार बनाएको छ। अन्य दलले पनि सबै समुदायलाई समेटेर उम्मेदवार उठाएका छन्।

यसरी सबै समुदायका मिलाएर उम्मेदवार बनाउँदा सद्भाव कायम गर्न सहयोग पुगेको स्थानीय बताउँछन्। ‘कपिलवस्तुमा उत्तर–दक्षिण जोड्ने निर्वाचन क्षेत्र बन्नु नै सुखद रह्यो। जसले पहाडी र मधेसी समुदायलाई एउटै क्षेत्रमा जोड्यो,’ चन्द्रौटाका व्यवसायी पोखरेलले भने, ‘पछिल्लो डेढ दशक आवधिक निर्वाचन भइरहे। जसले भोटकै लागि भए पनि नेतालाई सबै समुदायसँग जोड्यो। त्यसको प्रभाव जनता–जनतामा पनि प¥यो। यसले विभिन्न समुदायबीच सद्भाव कायम गर्न ठूलै मद्दत गरेको छ।’

प्रकाशित: २३ कार्तिक २०७९ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App