१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोक क्षेत्र नं. १: युवा र पाका उम्मेदवारको रोचक भिडन्त

सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले छोडेको सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ को निर्वाचन रोचक बन्ने देखिएको छ।  

जिल्लाको राजनीतिमा ‘चतुर नेता’ को छवि बनाएका माधव सापकोटा (सुबोध) र सरेश नेपाल यस क्षेत्रमा आमने–सामने छन्। माओवादीका सापकोटा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका हुन। एमालेका नेपाल एक्लै प्रतिस्पर्धामा उत्रिएका छन्। यहाँ सापकोटा र नेपालबीच नै मुख्य प्रतिस्पर्धा हुँदै छ।

केन्द्रीय जिम्मेवारीका कारण दुबै नेता ‘हेभिवेट’ उम्मेदवार हुन्। सापकोटा माओवादी पोलिट्ब्यूरो सदस्य छन् भने नेपाल एमाले केन्द्रीय सदस्य। ४० वर्षीय सापकोटा संसदीय राजनीतिमा पहिलो पाइला चाल्दै छन्। उमेरले ६० वर्ष कटेका नेपाल भने चुनावी मैदानका भूक्तभोगी र पारंगत हुन्। पहिलो पटक चुनावी मैदानमा होमिए पनि लगातार चार संसदीय (संविधान÷प्रतिनिधि सभा) र दुई स्थानीय तह निर्वाचनमा मुख्य कमाण्डर बनेर पार्टी र उम्मेदवारलाई जिताएको अनुभव सापकोटासँग छ।  

यस क्षेत्रबाट २०७४ को प्रतिनिधिसभा चुनावमा सभामुख अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए। उक्त चुनावमा एमालेसमेतको मतले अग्निप्रसादले कांग्रेसका मोहनबहादुर बस्नेतलाई पराजित गरेका थिए। अग्निप्रसादले ४० हजार ५ सय चार मत पाउँदा बस्नेतले २९ हजार ७ सय ९८ मात्रै पाए। यो पटक युवालाई अवसर दिने भन्दै सभामुख अग्निप्रसादले मैदान खाली गरिदिए भने गठबन्धन बनेका कारण क्षेत्र नं. १ माओवादीको भागमा पर्दा बस्नेत सिन्धुपाल्चोक २ मा पुगे।  

सापकोटा सभामुख अग्निप्रसादका भतिजा हुन्। पारिवारीक ‘लिगेसी’ भन्दा पनि उनी संघर्ष गरेरै स्थापित भएका नेता हुन्। नेपाल २०७४ मा क्षेत्र नं. १ (क) प्रदेश सभाको उम्मेदवार बनेर निर्वाचित भएका थिए। त्यतिबेला पार्टी एकता गर्ने घोषणा गर्दै बनेको वाम गठबन्धनका उम्मेदवारलाई जिताउने चुनावी कमाण्डर सापकोटा नै थिए। उनै चुनावी कमाण्डर सापकोटासँग नेपाल यसपटक प्रतिस्पर्धा गर्दै छन्।  

भोटेकोसी, त्रिपुरासुन्दरी, सुनकोसी, बलेफी, जुगल गाउँपालिका, बाह्रविसे नगरपालिका र चौतारा नगरको वडा नं. २, ३, ४, ९ र १० क्षेत्र नं. १ मा समेटिएका छन्। पछिल्लो स्थानीय तहको मत परीणामलाई हेर्दा यहाँ गठबन्धनको पल्लाभारी छ।  

उक्त परीणाम अनुसार यहाँ कांग्रेस पहिलो शक्ति हो। कांग्रेस एक्लैले ३४ हजार ९ सय ६१ मत ल्याएको थियो। त्यस्तै गठबन्धनको माओवादीले १९ हजार ३ सय ३४ र एकीकृत समाजवादीले २ हजार ३ सय ९१ मत पाएका थिए। एमालेले २६ हजार ५ सय ५९ मत प्राप्त गरेको थियो। यसरी हेर्दा गठबन्धनसँग ५६ हजार ६ सय ८६ मत छ। एमालेभन्दा गठबन्धन ३० हजार १ सय २७ मतले अघि छ।  

यो परीणामले गठबन्धनका सापकोटाले सहज जित निकाल्ने अंकगणित रहे पनि सबै कांग्रेस मत संरक्षण गरेर आफ्नो पक्षमा खसाल्न उनलाई प्रमुख चुनौति रहेको देखिन्छ। क्षेत्र नं. १ माओवादीले पाएकोमा कांग्रेस नेता, कार्यकर्ता असन्तुष्ट रहेको आशंका गरिँदै आएको छ। यो बुझेरै हुन सक्छ, सापकोटाले एकसाथ कांगे्रसको मत र मन जित्ने गरी चुनावी अभियान चलाइ रहेका छन्।  

क्रमशः कांग्रेस कार्यकर्ता उनको पक्षमा खुल्दै गएका छन्। स्पष्ट वक्ता, चट्टानी अडान राख्न सक्ने नेता, भिजन देखाउन सक्ने व्यक्तित्वको छवि बनाएका सापकोटा यस क्षेत्रका युवा माझ लोकप्रिय छन्। उनले जुनसकै पार्टीका युवाको मत आफ्नो पक्षमा पार्न सक्ने सामथ्र्य राख्छन््।  

अंकगणित जे भए पनि एमालेका नेपाल कमजोर उम्मेदवार होइनन्। चुनावी मैदानमा उनी बलिया प्रत्यासी हुन्। तत्कालीन जिविसको उपसभापति र सभापति बनेर १० वर्ष जिल्लाको विकासे नेतृत्व गरेका उनी सिन्धुपाल्चोकमै लोकप्रिय छन्। उनी आफ्नो क्षेत्रमा मतदाताका तीन पुस्ता चिन्ने हैसियत राख्छन्। चुस्त र चलायमान संगठन, जाँगरिला कार्यकर्ताले भरिएको बलियो पार्टीको साथ नेपाललाई छ।  

पार्टीको यही सम्पत्ति परिचालन गरेर गठबन्धनका असन्तुष्ट कार्यकर्ताको मत तान्दै बिजय निकाल्ने रणनीति नेपालले अघि सारेका छन्। गठबन्धनका उम्मेदवार सापकोटाको जित र हार भने कांग्रेस कार्यकर्तामा बढी निर्भर छ। त्यसैले उनी सके सबै, नसके पनि बढीभन्दा बढी कांग्रेसको मत संरक्षण गरेर जित सुनिश्चित बनाउने रणनीतिमा छन्।  

किशोर अवस्थामै भूमिगत भएर १० वर्ष सशस्त्र संघर्ष गरेका लडाकु पृष्ठमूमिका सापकोटाले संविधान रक्षा, समृद्धि र अवस्था परिवर्तनलाई मुख्य राजनीतिक अजेण्डा बनाएका छन्। यसबाहेक उनले छुट्टै स्थानीय घोषणापत्र मतदाताबीच लगेर मत बढाउने रणनीति कार्यान्वयन गरिरहेका छन्। जिल्लाको नेतृत्व गर्दै बागमती प्रदेशको मन्त्रीसमेत बनेका एमाले उम्मेदवार नेपालले भने विकास र जीवनस्तर परिवर्तनलाई चुनावी अजेण्डा बनाएर मतादाताबीच लगिरहेका छन्।  

युवा र पाका उमेर हेभिवेट उम्मेदवारको प्रतिस्पर्धाले यो क्षेत्रको चुनावी ताप बढाउँदै लगेको छ। बलिया यी उम्मेदवारमध्ये यसैले बाजी मार्छ भनेर ठोकुवा गर्नु अहिले हतार हुने छ।

प्रकाशित: १९ कार्तिक २०७९ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App