सर्लाहीको बसबरिया–३ मानपुरका ६० वर्षीय उत्तिम सहनीले वाग्मतीमा जाल हालेर माछा मार्न थालेको चार दशकभन्दा बढी भइसक्यो। त्यति नै वर्ष भयो, उनले निर्वाचनमा भोट हाल्न थालेको पनि। उनी जालमा माछा पार्छन् तर नेताहरू उनलाई जालमा पार्छन्।
‘हरेक चुनावमा नेताले नयाँनयाँ बहाना बनाएर हामीलाई जालमा पार्दै आएका छन्,’ मनुषमारा नहरमा माछा मार्दै गरेका उनले भने, ‘नेताको जालबाट उम्किन कहिल्यै सकेनौं।’ गरिबीका कारण नेताहरूले झुक्याउँदै आएको उनले बताए।
‘सन्तानका लागि राम्रो होला भनेर पटकपटक भोट खसाल्न गयौं,’ जाल हान्दै गरेका उनले आफ्ना दुई छोरालाई देखाउँदै भने, ‘नेताहरूको झुटा आश्वासनले मसँगै यिनीहरू पनि जालमा परिरहेका छन्।’ सहनीको जस्तै धारणा राख्छन्, कौडेनाका ७० वर्षीय चन्द्रदेव पासवान पनि। पञ्चायतकालदेखि भोट हाल्दै आएका उनले आसैआसमा जीवन बिताएको सुनाए। ‘उम्मेदवारहरू फेरिए तर हाम्रो अवस्था फेरिएन,’ उनी भन्छन्, ‘फेरि नयाँ आसमा भोट हाल्न जाँदैछौं।’ चुप लागेर बस्नुभन्दा भएकामध्येबाट राम्रा छान्नुपर्ने उनको भनाइ छ।
गधाको रेसमा गधै पहिलो
कौडेना बजारस्थित पान पसलमा भेटिएका सद्दाम खानले पनि पासवानको भनाइमा सहमति जनाए। ‘गधाको रेसमा गधै पहिलो हुन्छ,’ उनले भने, ‘अब अर्कोे विकल्प पनि छैन।’ आफ्नो निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार दोहोरिएको भन्दै उनले असन्तुष्टि पोखे। उनीजस्तै अधिकांश मतदातामा उत्साहभन्दा आक्रोश बढी देखिएको छ।
बालेनको क्रेज
खानले नेता छान्न विकल्प नभएको सुनाउँदै गर्दा राजधानीबाट छठ मनाउन गाउँ आएका रवीन्द्र चौधरीले विकल्प खोज्नुपर्ने सुझाव दिए। ‘राजधानीले त ठुला दललाई पन्छाएर विकल्प खोजेको छ,’ बालेन्द्र साह ‘बालेन’को तारिफ गर्दै उनले भने, ‘स्वतन्त्रबाट पनि निकास निस्कन सक्छ।’ चौधरीले भनेजस्तै विगतमा भन्दा यसपटक यो जिल्लामा स्वतन्त्र उम्मेदवारको संख्या धेरै छ।
मधेसमा मधेसवादी नेता ‘कमजोर’
सर्लाही मधेसवादी दलका ठुला नेताको वर्चस्व रहँदै आएको जिल्लाका रूपमा चिनिन्छ। यो महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, रामनरेश रायलगायत नेताको राजनीतिक थलोका रूपमा सर्लाही रहेको छ।
तर यस पटकको चुनावमा यी नेताको प्रभाव कम हुँदै गएको मतदाताले बताए। ‘वाचा पूरा नगरेपछि नेता आफैं कमजोर बन्छन्,’ सर्लाही मलघटाका दिनेश कुशवाहले भने, ‘यस्तै हो भने विस्तारै हराउँदै जान्छन्।’
मधेस आन्दोलनसँगै यो जिल्लाबाट थुप्रै नेता मन्त्री र सांसद बने पनि विकास भने नभएको मतदाताको गुनासो छ। ‘अझै पनि सदरमुकामका सडक कच्ची र खाल्डाखुल्डी छन्,’ मलंगवाका गगनदेव झा भन्छन्, ‘२० वर्षपहिले र अहिलेको सदरमुकाम उस्तै छ।’ छिमेकी जिल्लाले केही परिवर्तन गरे पनि आफूहरूले त्यो अनुभव गर्न नपाएको उनको गुनासो छ।
चुनावी लेखाजोखा
सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा जसपा र एमाले गठबन्धनबाट प्रमोद साह तथा वाम–लोकतान्त्रिक गठबन्धनबाट रामप्रकाश चौधरी उम्मेदवार भए पनि चुनावी दौडमा स्वतन्त्र उम्मेदवार हावी देखिएका छन्। एमालेले जसपाका साहलाई टिकट दिएपछि रुष्ट बनेका मानबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
निर्वाचन क्षेत्र नम्बर २ मा वाम लोकतान्त्रिक गठबन्धन ‘भर्सेस’ वाम लोकतान्त्रिक गठबन्धन देखिएको छ। मित्रवत् प्रतिस्पर्धा भन्दै लोसपाबाट राजेन्द्र महतो र माओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेका महेन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ। दुवै मधेसी दलका अगुवा नेता भएकाले ‘मित्रवत्’ प्रतिस्पर्धाको नाम दिइए पनि उनीहरूबीच कसले जित्छ भन्ने आकलन गर्न मुस्किल छ।
नेपाली कांग्रेसको गढमा उठेका मधेसवादी दलका यी नेतालाई अन्ततः कांग्रेसकै मुख्य साथ आवश्यक देखिन्छ। स्थानीय तह निर्वाचनमा कांग्रेसले यो क्षेत्रका ७ पालिकामा जितेको छ। ‘कांग्रेसले यादव र महतोमध्ये जसलाई साथ दियो, चुनाव उसले जित्नेछ,’ कडेना–३ का सद्दाम खानले भने, ‘मधेसमै मधेसवादी नेतालाई कांग्रेसको भरोसा चाहिएको छ।’
त्यस्तै, सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा भने वाम–लोकतान्त्रिक गठबन्धन र एमाले–जसपा गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ। वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका नरेन्द्र साह र एमाले–जसपा गठबन्धनबाट एमालेका हरि उप्रेतीबीच कडा प्रतिस्पर्धा हुने आकलन मतदाताको छ। २०७४ सालको चुनावमा थोरै मतले पराजित नरेन्द्र साह यसपालि वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुन पाएपछि उत्साहित देखिन्छन्। यो क्षेत्रमा उप्रेतीको पकड पनि बलियो देखिन्छ।
सर्लाही ४ मा दुवै गठबन्धनलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन्। यो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट राकेश मिश्रा र वाम–लोकतान्त्रिक गठबन्धनबाट पूर्व जिल्ला सभापति नागेन्द्र राय उम्मेदवार छन्। यी दुवै उम्मेदवारलाई चुनावी मैदानमा स्वतन्त्रले टक्कर दिएका छन्। कांग्रेसले टिकट नदिएपछि बागी उठेका अमरेश सिंह र युवा नेत्री मधुमाला कुमारी यादवबीच यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। आफूअनुकूलको उम्मेदवार माओवादीले नदिएपछि पूर्वसांसद शिवपूजन यादवले छोरी मधुमाला कुमारी यादवलाई स्वतन्त्र रूपमा अगाडि सारेका हुन्। यो क्षेत्रमा शिवपूजन र अमरेशबीच रहेको राजनीतिक टकरावका कारण पनि चुनाव रोचक बनेको छ।
२०७४ सालको चुनावमा यही क्षेत्रबाट उम्मेदवार बनेका शिवपूजनको उम्मेदवारी खारेज भएको थियो। त्यसपछि अमरेश र शिवपूजनबीच टकराव बढ्दै गएको छ। अमरेशलाई वाम–लोकतान्त्रिक गठबन्धनबाट टिकट नदिन यसपटक शिवपूजनले भूमिका खेलेको आरोप लागेको छ। बिएससी नर्सिङ सकाएकी मधुमाला पिता शिवपूजन यादवले टिकट नपाएपछि अचानक राजनीतिमा होमिएकी हुन्। यस पूर्वसांसद शिवपूजन स्थानीयमाझ लोकप्रिय छन्। कतिपयले मधुमालालाई बुवा शिवपूजनले डोर्याएको उम्मेदवार मान्छन्। शिवपूजन भने छोरी सक्षम रहेकाले उम्मेदवार बनेको बताउँछन्। ‘उनी आफैं सक्षम छिन्,’ उनले भने, ‘राजनीतिमा युवा नेतृत्वको आवश्यकता छ।’ छोरीले चुनाव जितेर समाजको मुहार फेर्ने आशा आफूले राखेको उनले बताए। शिवपूजनका कान्छो छोरा राजा यादव पनि रामनगर गाउँपालिका प्रमुख छन्।
मतदान केन्द्रमा सुरक्षा चुनौती
मध्य तराईको सर्लाहीमा सुरक्षा चुनौती छ। जिल्लामा कायम ६ सय मतदान केन्द्रमध्ये सुरक्षाका दृष्टिकोणले सामान्य २७, संवेदनशील २ सय ३७ र अतिसंवेदनशील ३ सय ३६ रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। सुरक्षा प्रबन्ध मिलाउन आफूहरू सक्षम रहेको प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए।
प्रकाशित: १८ कार्तिक २०७९ ००:५१ शुक्रबार