२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

उदयपुरको बेलका र चौदण्डीगढीमा पनि नमूना मतदान

नमूना मतदानमा खटेका कर्मचारी र मतदाता। तस्विरः महेश्वर

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा चुनावलाई लक्षित गरी एकसाताअघि सदरमुकाममा ‘नमूना मतदान’ कार्यक्रम आयोजना गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले मंगलबार जिल्लाका थप दुई स्थानीय तहमा नमूना मतदान सम्पन्न गरेको छ।  

बुधबार जिल्लाको चौदण्डीगढी र बेलका नगरपालिकामा नमुना मतदान कार्य सम्पन्न गरेको हो। निर्वाचन आयोगको निर्देशन र कार्यतालिकामा विभिन्न स्थानीय तहमा छुट्टाछुट्टै नमूना मतदान कार्यक्रम गर्नुपर्ने भए अनुसार गरिएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए। उनका अनुसार अन्य स्थानीय तहमा पनि संभव भएसम्म छिट्टै नमूना मतदान कार्य गर्ने योजना छ।  

चौदण्डीगढीमा नगरपालिका प्रशासकीय भवन र बेलाकामा पनि नगरपालिका कार्यालय भवनमै नमूना मतदान कार्यक्रम गरिएको हो। नमूना मतदानमा दुवै नगरपालिकाका नगरप्रमखु, उपप्रमुख, वडाध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो। मतदान कार्यमा सुरक्षाकर्मी र म्यादी प्रहरीलाई परिचालन गरी चुनाव सम्पन्न गर्ने, मतपेटिका र मतदाताको सुरक्षा गर्ने लगायत अभ्यास पनि गराइएको थियो।  

नमूना मतदानमा समानुपातिक तथा प्रत्यक्षतर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे पनि अभ्यासबाट जानकारी गराउन नमूना मतदान गराइएको कोइरालाले बताए। त्यसैगरी मतपत्र खसेपछि सुरक्षित गर्ने तरिका, बाकस सुरक्षित र मत गणनासम्मका कामहरुको नमूना प्रदर्शन गरिएको थियो।  

कोइरालाले नमुना मतदानमा चौदण्डीगढीमा ५७ र बेलाका नगरपालिकामा ५८ जनाले मतदान गरेका थिए। जसमा क्रमशः चौदण्डीगढी र बेलकामा ६ मत र ८ मत बदर भएको पाइएको छ। सदर र बदर मतबारे मतदातालाई जानकारी गराउन यसले ठूलो भूमिका खेल्ने निर्वाचन कार्यालयको बुझाइ छ।  

आगामी चुनावमा ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीयतह रहेको उदयपुरमा २ लाख २८ हजार ९ सय ४६ मतदाता छन्। त्यसैगरी जिल्लाभरी १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र रहेका छन्।  

प्रकाशित: १६ कार्तिक २०७९ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App