४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बारा २ मा दुवै गठबन्धनका उम्मेदवारलाई स्वतन्त्रको चुनौती

१ सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाहा, २ एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहायक यादव र ३ स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवाली।

चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि दुवै गठबन्धनका उम्मेदवारहरुलाई स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरुले चुनौती दिएका छन्।

गठबन्धनको सिफारिसमा प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका भन्दा स्वतन्त्रबाट उम्मेदवार बनेका लोकप्रिय र बलियो रहेकोले दुवै गठबन्धनका उम्मेदवारहरुलाई स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरुले चुनौती दिएका हुन्।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा, एमाले–जसपा गठबन्धनबाट जसपका रामसहायक यादव चुनावी मैदानमा रहेका छन्। स्वतन्त्रबाट वरिष्ठ अधिवक्ता अरुणकुमार ज्ञवाली, राम किशोर यादव, रबिन्द्र यादव लगाएतका प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि प्रतिस्पर्धामा रहेका छन्।

नेपाली काँग्रेस महासमिति सदस्य समेत रहेका अरुण ज्ञवालीले प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएर मतदातासँग मत माग्दै हिडेका छन्। काँग्रेसबाटै बागी बनेर जिल्ला सभापति राजेश राय यादवका भाइ रोशन भनिने रबिन्द्र यादवले पनि स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्।

त्यसैगरी जसपाबाट बागी बनेर रामकिशोर यादवले पनि प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्रबाट उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनका शिवचन्द्र कुशवाहालाई काँग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुले विश्वास गर्न सकेका छैनन् भने जसपाका रामसहायक यादवलाई पार्टी र एमालेकै कार्यकर्ताहरुले सहयोग नगर्ने अवस्थामा पुगेको पत्रहटीका बिगन यादवले बताएका छन्।

अघि प्रतिनिधिसभा सदस्यमा विजयी भएर मन्त्री बन्दा समेत जसपा नेता यादवले निर्वाचन क्षेत्रका जनतालाई आश्वासन दिएका कामहरु पूरा गर्न नसक्नु र क्षेत्रका जनताहरुसँग पनि भेटघाट नगर्नु कार्यले यादव प्रति मतदाताको आक्रोश रहेको उनले बताए।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कुशवाहा पहिलो संविधान सभाको निर्वाचनमा विजयी बने पछि क्षेत्रको जनताको भावना बुझेर काम नगरेकोले र उनकै गठबन्धनका काँग्रेस पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले समेत सहयोग नगरेका अवस्था रहेको यादवले बताए।

दुवै गठबन्धनका उम्मेदवारहरु भन्दा स्वतन्त्रबाट उम्मेदवारी दिएकालाई नै क्षेत्रका जनताहरुले मत गर्ने सम्भावना रहेको अर्को बबुआइनका उत्तिमलाल चौरसियाले बताए। क्षेत्रका मतदाताहरुले २ नम्बर निर्वाचन क्षेत्रमा घर भएको र स्वतन्त्र उम्मेदवारलाई अहिलेसम्म रुचाउँदै गएको चौरसियाले बताए।

स्वतन्त्रबाट उम्मेदवारी दिएको रामकिशोर यादव निर्वाचन क्षेत्र नम्बर १ बाट आएर २ मा उम्मेदवार बनेका छन्। रबिन्द्र यादव निर्वाचन क्षेत्र नम्बर ३ बाट २ मा आएर उम्मेदवार बनेका छन् भने अधिवक्ता अरुण ज्ञवाली निर्वाचन क्षेत्र नम्बर २ मै रहेको गंजभवानीपुर निवासी भएकोले उनीप्रति अन्यको भन्दाबढी मतदाताहरुको झुकाव बन्दै गएको चौरसियाले बताए।

अन्य क्षेत्रमा घर भएका उम्मेदवारहरुले यस क्षेत्रमा आएर चुनाव लडेर विजयी भएर गएपछि क्षेत्रको भन्दा आफ्नै घर परिवारको विकासमा मात्रै केन्द्रित हुँदा क्षेत्रका जनता ठग्दै गएको देखेर नै आफू क्षेत्रको जनताको चाहना पूरा गर्नकै लागि प्रतिनिधिसभामा उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार ज्ञवालीले बताए।

क्षेत्र भएर बग्ने खोलाहरुमा बाँध बाँधेर त्यसको पानीलाई किसानको खेत खेतसम्म पुर्‍याउने र अर्को पढे लेखेका युवाहरुलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न लोक सेवा तयारी गर्ने शैक्षिक संस्था खोल्ने मुख्य चाहना रहेको ज्ञवालीले बताए। लगभग एक लाख दुई हजारको हाराहारीमा मतदाता संख्या रहेका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा  महागढीमाई र  पचरौता नगरपालिका, देवताल, सुवर्ण र करैयामाई गाउँपालिकामा गरेर  ५ वटा स्थानीय तह रहेका छन्।

गत स्थानीय तहको  निर्वाचनमा महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकामा काँग्रेसका प्रमुख विजयी भएका छन् भने करैयामाई र देवताल गाउँपालिकामा जनता समाजवादीका प्रमुखमा विजयी भएका छन् त्यसै गरी पचरौता नगरपालिकामा एमालेका प्रमुख विजयी भएका छन्।

प्रकाशित: १५ कार्तिक २०७९ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App