१६ चैत्र २०८० शुक्रबार
राजनीति

कपिलवस्तुमा ८ प्रतिशत मात्र महिला उम्मेदवार

महिला सहभागीताको सवाल जोडतोडले उठाउने गरेको दलहरुले समेत महिलालाई पत्याएन। महिला सहभागीता नारा दिने दलहरुले महिलालाई विश्वास नगरेका हुन्।

प्रमुख राजनीतिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि महिला उम्मेदवारलाई अघि सार्न सकेनन्। जिल्लामा प्रमुख राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारी ८ प्रतिशत मात्र छ। जिल्लामा प्रतिनिधि सभाको ३ र प्रदेश सभाको ६ सिट छन्।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सूचना अधिकारी अनिता क्षेत्रीका अनुसार कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन्। यी मध्ये ६५ जना स्वतन्त्र उम्मेदवार हुन भने ७८ जना विभिन्न दलका उम्मेदवार हुन्। जिल्लामा प्रतिनिधिसभातर्फका तीन निर्वाचन क्षेत्रमा पाँच जना मात्र महिला उम्मेदवार छन्।

यस्तै प्रदेशसभातर्फका ६ निर्वाचन क्षेत्रमा ६ जना मात्र महिला उम्मेदवार छन्। यी ११ उम्मेदवारमध्ये कोही पनि प्रमुख राजनितिक दलका उम्मेदवार हैनन्। महिला संघकी नेतृ सबित्रा शर्माले आफूहरुले उम्मेदवार बन्न पार्टीमा तीव्र यृच्छा देखाए पनि प्रस्ताव नै लान नपाएको ग्नासो गरिन्। ‘लडने चाहना राखेकी थिए तर पुरुषको वर्चश्व रहेको पार्टीले पत्याएन’ उनले भनिन्,  ‘समानुपातिक तर्फ नाम राखेर महिलाहरुलाई थन्काइएका छन्।’

प्रतिनिधि सभा क्षेत्र नम्बर १ का लागि २१ जना उम्मेदवार छन्। त्यहा दुई जनामात्र महिला उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवार ४४ वर्षीय गितादेवी पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार ४८ वर्षीय सन्जु सिंह विष्ट उम्मेदवार छन्। यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ (१) का लागी ९ जना उम्मेदवार छन्। ती मध्ये एक जना ४० वर्षीय स्वतन्त्र उम्मेदवार विमला परियार। क्षेत्र नम्बर १ (२) का लागी १८ जना उम्मेदवार छन्।

त्यहा  एक जनामात्र महिला उम्मेदवार छिन्। ती हुन् ४६ वर्षीय मंगोल नेशनल अर्गनाइजेसनकी उम्मेदवार लक्ष्मी नेपाली। प्रतिनिध सभा क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार छन्। ती मध्ये एक जनामात्र महिला उम्मेदवार छिन्। उनी हुन् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार ३० वर्षीय सविता शर्मा। कपिलवस्तु क्षेत्र नम्बर २ (१) मा १२ जना उम्मेदवार छन्। ती मध्ये एक जना पनि महिला उम्मेदवार छैनन्। क्षेत्र नम्बर २ (२) मा १० जना उम्मेदवार छन्।

ती मध्ये एक जनामात्र महिला उम्मेदवार छिन्। ती हुन् स्वतन्त्र उम्मेदवार ६२ वर्षीय कबुतरी बरइनी। क्षेत्र नम्बर ३ मा १८ जना उम्मेदवार चुनावी मैदानमा छन्। ती मध्ये स्वतन्त्रबाट आरती रजौरिया भुसाल र नेपाल जनता पार्टीबाट गीता शुक्ला गरी दुई जना मात्र महिला उम्मेदवार छन्। क्षेत्र नम्बर ३ (१) मा १९ जना उम्मेदवार छन्। ती मध्ये नेपाल जनता पार्टीबाट कान्ति गोसाइन र स्वतन्त्रबाट लक्ष्मी हमाल गरी दुई जनामात्र उम्मेदवार छन्।

यस्तै क्षेत्र नम्बर ३ (२) मा २५ जना उम्मेदवार छन्। ती मध्ये मंगोल नेशनल अर्गनाइजेसनकी उम्मेदवार तनमति राका मगर एकमात्र महिला उम्मेदवार हुन्। चुनाव जित्ने र सुरक्षित भन्दै कांग्रेस र एमाले जस्ता ठूला दलहरुले नै पुरुषहरुलाई नै निर्वाचनमा प्राथमिता दिने गरेका अधिकारकर्मी रबि ठाकुर बताउँछन्।

उनले अवसर पाए पनि नेताहरुको पछि लाग्ने आफन्तहरुलाई नै अवसर दिने गरिएको उनको गुनासो छ। नेताहरुले आफ्नो अनुकुल कानुन बनाउँदा गरिब त्याग र निष्ठावान विपन्न, पिछडा वर्ग र महिलाहरु प्रत्यक्ष निर्वाचनमा अवसर नपाएको उनले बताए।

यसरी प्रत्यक्ष निर्वाचनमा महिलालाई विश्वास गरी चुनाव जिताएर राज्यको नेतृत्वदायी भूमिका पठाउन देशका प्रमुख राजनितिक दलहरु नै प्रतिबद्ध नहुनु चिन्ताको विषय भएको महिला अधिकारकर्मी बताउँछन्।महिलालाई नेतृत्वमा नस्वीकार्ने प्रवति अझै पनि यथावत रहेको उनीहरुको भनाइ छ। संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था गरेको छ।

प्रकाशित: १२ कार्तिक २०७९ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App