२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'उम्मेदवारको अधिकारमाथि नै हनन् हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्नुस्'

निर्वाचन आयोगले उम्मेदवारहरुको चुनिन पाउने अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले समूह नै बनाएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको चुनिन पाउने अधिकारमाथि नै हनन् हुने खालका सामग्रीहरु पोष्ट गरिरहेका बेला आयोगको यस्तो भनाइ बाहिर आएको हो।

कसैप्रति लाञ्छना लगाउने, कसैप्रति दूराग्रहपूर्ण अभिव्यक्ति दिने अथवा निर्वाचनमा उठेका उम्मेदवारहरुको चुनिने अधिकारमाथि नै हनन् हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

शुक्रबार उनले उम्मेदवारहरुलाई चुनिन पाउने अधिकारबाट वञ्चित गराउन नहुने स्पष्ट पारे। आम मतदातालाई चुन्ने अधिकार भएजस्तै उम्मेदवारलाई चुनिन पाउने अधिकार हुने भएकाले त्यसलाई हनन् गर्न नमिल्ने उनको भनाइ थियो।

आयोगका प्रवक्ता पौडेलले भने, ‘आयोगले आचार संहिता जारी गरेको छ। आयोगले सामाजिक सञ्जालसम्बन्धी नीति पनि जारी गरेको छ। आयोगलाई प्रचलित, कानुन, ऐन, नियमका बारेमा पनि ज्ञान छ। यी सबै विषयहरुलाई मध्यनजर गरेर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहितामा उल्लेखित विषयहरु सबैले पालना गर्नुपर्छ भन्ने कन्सर्न हो। र, यसै सन्दर्भमा मिथ्या सूचना, द्धेषपूर्ण अभिव्यक्तिको कतैबाट पनि प्रशारित हुनुहुन्न भन्ने आयोगको बुझाइ हो। र, आम मतदातालाई चुन्ने अधिकार भएजस्तै उम्मेदवारहरुलाई चुनिने अधिकार पनि हुन्छ। त्यसो भएको हुनाले कसैप्रति लाञ्छना लगाउने, कसैप्रति दूराग्रहपूर्ण अभिव्यक्तिहरु प्रशारण गर्ने विषयहरु अभिव्यक्ति स्वतन्त्रता भित्र पर्दैनन्। त्यसो भएको हुनाले चुनिने हकबाट पनि कसैले वञ्चित नगराैं। वञ्चित गर्नेगरी कसैको चरित्र हत्या गर्ने, कसैका विपक्षमा द्धेषपूर्ण अभिव्यक्तिहरु निकाल्ने, उम्मेदवारहरुका तस्बिरमा गलत चिन्ह लगाउने लगायतका विषयवस्तुहरुले अरुको अधिकार हनन् हुन्छ भन्ने कुरामा आयोगको ध्यानाकर्षण भएको हो।’

आयोगले उम्मेदवारहरुमाथि गालीगलौज नगर्न, चरित्र हत्या गर्ने, अवहेलना गर्ने लगायतका अभिव्यक्ति नदिन पनि सम्बन्धित सबै पक्षलाई पुनः निर्देश गरेको छ। पौडेलले छद्म नामबाट कसैले पनि उम्मेदवारहरुको चरित्र हत्या गर्न नपाउने समेत बताए।

उनले सीमाभित्र बसेर मात्रै निर्वाचनमा खर्च गर्न पनि उम्मेदवारहरुलाई भनिएको बताए। सम्बन्धित टेक कम्पनीहरुसँग सम्पर्कमै रहेकाले उनीहरुले सामाजिक सञ्जालमा गरेको खर्चको विवरण समेत लिइरहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहिता वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिता जारी गरेको उल्लेख गर्दै त्यसका कडाइका साथ पालना राजनीतिक दल र त्यसका उम्मेदवारहरुको ध्यानाकर्षण गराउँदै आएको छ।

प्रकाशित: ११ कार्तिक २०७९ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App