१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

गएको पाँच वर्ष खेर गयो, अब दिनुहुन्न: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दावी गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरे। उनले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे।

महामन्त्री थापाले भने, ‘गएको पाँच वर्ष खेर गयो। अबको पाँच वर्ष खेर जान दिनु हुन्न। त्यो जान नदिने जिम्मेवारी हाम्रो हो। मैले त नेताहरुलाई भनेको छु–पाँच वर्ष पनि होइन। गठबन्धन त जित्यो, जित्यो अब। संघमा पनि जित्यो, सात वटै प्रदेशमा पनि जित्यो। सात वटा प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो। संघमा पनि हाम्रो सरकार बन्ने हो। हामी मिलेर पाँच वटा पार्टीको जोड्दै गर्दा त देशभरको स्थानीय सरकार त हाम्रो ४५० भन्दा बढि पुग्छ। अनि ४५० वटा भन्दा बढि स्थानीय सरकार हाम्रो हुने, ७ वटा प्रदेशको सरकार हाम्रो हुने। अनि, संघको सरकार हाम्रो हुने। त्यो जनमत हामीले प्राप्त गर्ने। अनि, निराश र आक्रोशित भएको जनताको त्यत्रो तागत लिएर आएपछि हामीले काम गर्न सकेनौं। जनतालाई महशुस गराउने सकेनौं, संकेत मात्र पनि दिन सकेनौं भने त्यो बेलामा हाम्रो हालत पनि के हुन्छ भने सिंहदरवारमा हुन्छौं। सांसदको टाउको गनिरहेका हुन्छौं। बहुमत पुगिरहेको हुन्छ। तर, बाहिर सडकमा जनता निस्केर हाम्रो विरुद्धमा संघर्ष गरिरहेको हुन्छ। हामी यो कुरामा प्रष्ट हुन आवश्यक छ। यो चुनौति सानो छैन।’

महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि बताए। त्यसका लागि पार्टी भित्रका साथीहरुले आफूलाई साथ दिनुपर्ने उनको भनाई थियो।

प्रकाशित: ९ कार्तिक २०७९ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App