१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

गठबन्धनको नाटकीय केन्द्र

संविधानसभाबाट संविधान निर्माणपछि भएका सबै निर्वाचनमा चर्चाको केन्द्रमा रहेको जिल्ला हो, चितवन। त्यसमा पनि चितवन ३ र त्यही भूगोलभित्र अटाएको भरतपुर महानगरपालिकाको चर्चा सधैं चरमचुलीमा रहँदै आएको छ। त्यसको एउटै कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हुन्। यस क्षेत्रको चर्चा उनकै वरिपरि घुमेको छ। चितवन दाहालको गृहजिल्ला हो।

पहिलो संविधानसभा सदस्य निर्वाचन २०६४ मा रोल्पा र काठमाडौं १० बाट जितेका दाहाल दोस्रो संविधानसभा निर्वाचन २०७० मा काठमाडौं १० र सिरहा ५ बाट लडेका थिए। त्यसबेला उनले काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसीसँग पराजित हुँदा सिरहाबाट जिते। तर उनको त्यो जितलाई ‘सन्देह’का रूपमा हेरिन्छ।

यसरी गृह जिल्लाबाहिरको निर्वाचन ‘डरलाग्दो’ हुँदै गएपछि दाहालले २०७४ मा चितवन फर्कने मनशाय बनाए। चितवन पनि ‘सुरक्षित’ थिएन। जित सुनिश्चितताका लागि नेपाली कांग्रेस वा नेकपा एमालेसँगको तालमेल गर्ने जुक्ति उनले निकाले। जुन नेपाली राजनीतिमा खासै अभ्यास थिएन। २०७४ को स्थानीय निर्वाचनमा भने राप्रपा र एमालेले आंशिक स्थानमा तालमेल गरेका थिए।

दाहालले पनि २०७४ को स्थानीय तह निर्वाचनमा गृहनगर भरतपुरमा कांग्रेससँग तालमेलको पहिलो अभ्यास गरे। मेयर पदमा छोरी रेनु दाहालका लागि ‘छापामार’ शैलीमा उनले कांग्रेसका उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गराए। जसमा कांग्रेस सभापति शेरबहादुर देउवाको सहारा लिए। उपमेयरमा माओवादी केन्द्रले कांग्रेसलाई सघाउने भयो। रेनुलाई चुनाव जिताउन ठुलै तिकडमबाजी गर्नुपर्‍यो। दाहालको मिसन सफल भयो । रेनुले मेयर जितिन्।

भरतपुरमा सफल भए पनि देशभर कांग्रेससँगको तालमेल सफल नहुने र आफ्नो निर्वाचन क्षेत्र पनि असुरक्षित हुने देखेका दाहालले सोही वर्षको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेसँग देशव्यापी गठबन्धन गरे। त्यही गठबन्धनका बलमा उनी चितवन ३ मा आफैं उम्मेदवार भए। छोरी जिताउन कांग्रेसको साथ लिएका दाहालले आफू जित्न एमालेको साथ लिए।

एमाले र माओवादी केन्द्रले गठबन्धन गरेपछि कांग्रेसले पनि राप्रपासँग गठबन्धन गरेर विक्रम पाण्डेका लागि चितवन ३  छाड्यो। यसरी गठबन्धनको रस्साकस्सीमा यो क्षेत्रका दुई बलिया शक्ति कांग्रेस र एमाले उम्मेदवारविहीन भए।  

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यही क्षेत्रमा रहेको भरतपुर महानगरपालिका गठबन्धनकै कारण चर्चामा रह्यो। २०७४ को संसदीय चुनावपछि जुटेको एमाले–माओवादी केन्द्रबीचको गठबन्धन पार्टी एकीकरण पूरा नहुँदै विभाजन भयो। माओवादी केन्द्र फेरि कांग्रेससँगकै गठबन्धनमा आइपुग्यो।

यही कारण दाहालले कांग्रेससँगकै गठबन्धनमा पुनः रेनुलाई मेयर बनाउन चाहे। चितवन कांग्रेसका नेता तथा कार्यकर्ताले पटक–पटक उनलाई भरतपुर छाड्न नसकिने अडान लिए। यसबाहेक आफ्नो सहयोगमा जितेकी रेनुले कांग्रेसका विपक्षमा काम गरेको, अघिल्लो संसदीय निर्वाचनमा कांग्रेस उम्मेदवार हराउन लागेको आरोप लगाइरहे। अन्ततः केन्द्रको सहमतिले रेनुले मेयरको टिकट पाइन्। चितवन कांग्रेसका पुराना नेताहरू विद्रोहमा उत्रिए। नयाँ नेताहरू बाध्य भएर रेनुलाई जिताउन लागे।  

रेनुले पुनः दोस्रो पटक जितिन्। एमालेले पनि राप्रपासँग गठबन्धन गरेको थियो। यसैकारण भरतपुर महानगरपालिका गठबन्धनकै कारण चर्चामा रह्यो। जसको केन्द्रमा दाहाल र उनको परिवार नै रह्यो।  

यति हुँदा पनि दलीय ‘भोट शक्ति’ मा कांग्रेस, एमाले कमजोर भएनन्। माओवादी केन्द्रको शक्ति दाहाललाई एकल जिताउन सक्नेगरी बढ्दै बढेन। जसले गर्दा मंसिरमा हुने प्रतिनिनिधसभा सदस्य निर्वाचनमा पनि दाहालका लागि चितवन ३ सुरक्षित देखिएन। यो निर्वाचन क्षेत्रबाट चुनाव लड्दा अर्को दलको भर पर्नैपर्ने दाहालको बाध्यता कायम नै रह्यो।

यसरी अर्को दलको भर पर्दा जतिबेला पनि चुनाव हार्नसक्ने भयले दाहाललाई अहिले यो क्षेत्र छाड्न बाध्य बनाएको हो। उमेर र पार्टीको क्षयीकरण हुँदै गएको शक्तिका कारण यो चुनाव पनि उनलाई हार्न छुट छैन। यसकारण दाहाल मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गृह क्षेत्र छाडेर  

सुरक्षित स्थान खोज्दै गोरखा २ पुगेका छन्। यसरी पछिल्लो पाँच वर्ष चर्चाका कारण ‘दाहालमय’ भएको क्षेत्रमा दाहाल अहिले उम्मेदवार छैनन्।

दाहाल गए, ‘नाटक’ गएन

चितवन ३ मा दाहाल प्रवेश गर्दा भएका नाटकीय राजनीतिक शृंखलाहरू दाहालले छाड्दा पनि सकिएका छैनन्। जसले अहिले पनि यो क्षेत्रलाई चर्चाको केन्द्रमै राखेको छ। दाहालले छाड्दा पनि सत्ता गठबन्धनको भागबण्डामा माओवादी केन्द्रले यो क्षेत्र छाड्न मानेन। कांग्रेसले निकै बल गर्दा पनि माओवादीले लिइछाड्यो। यो क्षेत्रमा माओवादीले राजनीतिभन्दा बाहिर रहेका व्यक्तिलाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रका तर्फबाट फिजिसियन डा. भोजराज अधिकारी उम्मेदवार बनेका छन्।

दाहालले छाड्दा पनि यो सिट कांग्रेसले नपाएपछि स्थानीय नेता तथा कार्यकर्ता भड्किएका छन्। यही कारण कांग्रेसबाटै आधा दर्जन ‘बागी’ उम्मेदवार छन्। उनीहरूबीच एकअर्कालाई समर्थन गर्ने क्रम चलिरहेको छ। कांग्रेसबाट बागी उठेकामध्ये सबैभन्दा बलिया २०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा दाहालपुत्री रेनुलाई मेयरमा सघाउन देउवाको पत्रले उम्मेदवारी खोसिएका दिनेश कोइराला देखिन्छन्। २०७४ मा मेयरको उम्मेदवारी खोसिएपछि सोही वर्षको मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा चितवन ३(क) बाट प्रत्यक्ष उम्मेदवार बनेका थिए कोइराला। उतिबेला माओवादी केन्द्रले एमालेलाई सघाएकै कारण उनी पराजित भए।

यसबाहेक गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा रेनुविरुद्ध कांग्रेसबाटै बागी उठेका पूर्वसांसद जगन्नाथ पौडेल फेरि अहिले बागी उठेका छन्। उनले त्यतिबेला १४ हजार ७ सय २८ मत बटुलेका थिए। यस क्षेत्रमा भइरहेका गतिविधि विपक्षी गठबन्धनबाट पनि उत्तिकै रोचक छन्। सुरुमा एमालेले यहाँ राप्रपाका उपाध्यक्ष पूर्वमन्त्री विक्रम पाण्डेलाई सघाउने चर्चा थियो। तर उम्मेदवारी दर्ताको अन्तिम समयमा एमालेले आफ्नै जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनायो। त्यसपछि पाण्डे राप्रपाको एकल शक्तिका बलमा चुनाव लड्ने भएका छन्।

उम्मेदवारी फिर्ताको समयमा एमालेले थप अर्को ‘ट्विस्ट’ आउने निर्णय गर्‍यो। जसले यसक्षेत्रको राजनीतिलाई झन् तरंगित पार्‍यो। उसले आफ्ना उम्मेदवार न्यौपानेको उम्मेदवारी फिर्ता लियो। तर राप्रपा उम्मेदवार पाण्डेलाई समर्थन गरेन। उसले सबैलाई चकित पार्नेगरी कांग्रेसका बागी केन्द्रीय सदस्य कोइरालालाई समर्थन गरिदियो। यसले यो क्षेत्रको चुनाव झन् नाटकीय मोडमा पुगेको छ।

कांग्रेसका बागीलाई भोट माग्दै एमाले

गठबन्धनका रोचक गतिविधिबीच फेरि दोस्रोपल्ट चितवन ३ प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘रुख’ र ‘सूर्य’ विहीन बनेको छ। तर बागीकै रूपमा भए पनि चुनावी मैदानमा कांग्रेसी उम्मेदवारको लर्को छ। जसमध्ये कोइरालालाई एमालेले संस्थागत रूपमै मत मागिरहेको छ।

कोइरालाका लागि कांग्रेस भने संस्थागत रूपमै विपक्षमा छ। पार्टीनियमअनुसार उनी स्वतः साधारण सदस्यबाट निष्काशनमा परिसकेका छन्। बरु कांग्रेसले संस्थागत रूपमा गठबन्धनको मर्मअनुसार माओवादी केन्द्रका उम्मेदवार अधिकारीलाई भोट मागिरहेको छ।

तर कांग्रेसका बहुसंख्यक नेता तथा कार्यकर्ता आन्तरिक रूपमा आफ्नै बागी उम्मेदवारका पक्षमा रहेको स्रोत बताउँछ। यही कुराको दाबी स्वयं कोइराला पनि गर्छन्। ‘म बागी उम्मेदवार भए पनि कांग्रेसकै उम्मेदवार हुँ। मलाई बहुसंख्यक कांग्रेसको साथ छ। भोट पनि आउँछ,’ कोइराला भन्छन्, ‘कांग्रेसका आम कार्यकर्ताकै मनोभावनाअनुसार नै म उम्मेदवार बनेको हुँ।’ एमालेले आफूलाई निःसर्त सहयोग गरेको उनको दाबी छ। ‘उहाँहरूको उम्मेदवार जित्ने अवस्था थिएन। तर, दाहालको क्षेत्रमा माओवादीलाई कमजोर बनाउने उहाँको रणनीति होला। त्यही भएर मलाई सहयोग गरेको हुनुपर्छ,’ उनले भने।

आ–आफ्नै दाबी

चितवन ३ मा प्रतिनिधिसभा सदस्यका लागि २० जना उम्मेदवार छन्। जसमध्ये आठजना दलीय उम्मेदवार छन् भने, १२ जना स्वतन्त्र उम्मेदवार छन्। धेरैजसो कांग्रेसकै बागी छन्।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अधिकारी, एमालेको सहयोगप्राप्त कांग्रेसका बागी कोइराला र राप्रपाका पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसकै अर्का बागी जगन्नाथ पौडेल उनीहरूको पछिपछि छन्। यस्तै जनता समाजवादी पार्टीका काशीम मियाँ, नेपाल मजदुर किसान पार्टीका पदम थापामगर, राष्ट्रिय नागरिक पार्टीका नवराज घले, मंगोल नेशनल अर्गनाइजेसनका फइन्द्रजंङ गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका जंगबहादुर पुन मगर, राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल उम्मेदवार छन्। स्वतन्त्रबाट राजन सापकोटा, तारानाथ पौडेल, सुमित्रा राई गिरी, भीमसेन बस्नेत, नन्दराज उपाध्याय, वासुदेव सापकोटा, बद्री सिलवाल, हरि तामाङ, तारा प्रसाद पौडेल र चन्द्र विलास अधिकारीको उम्मेदवार छन्।

उम्मेदवार रहेकामध्ये अधिकांश आफूले जित्ने दाबी गर्छन्। माओवादी केन्द्रका उम्मेदवार अधिकारी सत्ता गठबन्धनको मत नै बढी रहेको त्यसमा पनि एमालेको मतसमेत आफूलाई आउने दाबी गर्छन्। ‘कांग्रेसले शतप्रतिशत मत दिन्छ। दिनेश (दिनेश कोइराला) दाइ एमालेकै उम्मेदवार भइसक्नुभयो, त्यसैले चितवनका कट्टर कांग्रेसले एमालेलाई मत दिन्नन्,’ उनले भने, ‘उता एमालेले खाँटी कम्युनिष्टबाहेक अन्त मत दिदैनन्। उहाँहरूका लागि दिनेश दाइ कम्युनिस्ट नै होइन्। त्यसैले दुवैतिरका मत पाएर म सहजै जित्छु।’ बरु कोइरालाभन्दा आफ्नो प्रतिस्पर्धी राप्रपाका उम्मेदवार पाण्डे रहेको उनले दाबी गरे। ‘मेरो बुझाइमा दिनेश दाइ तेस्रोमा हुनुहुन्छ। मेरो प्रतिस्पर्धा राप्रपासँगै हुन्छ,’ उनले थपे।

कोइरालाले चितवनमा माओवादी केन्द्र र दाहालको नाटकविरुद्ध कांग्रेस–एमालेको आफू साझा उम्मेदवार बनेको बताए। ‘चितवनको भूमिका माओवादी केन्द्र र प्रचण्ड (दाहाल) का कारण गठबन्धनका नाममा भइरहेको नाटकविरुद्ध संयोगले ठूला दुवै दलको म साझा उम्मेदवार बनेको छु,’ उनले भने, ‘यसपटक दुवै पार्टीका मतदाताले एकैसाथ मलाई मत दिएर त्यो नाटक सदाका लागि अन्त्य गर्दैछन्।’ कांग्रेसका अन्य बागीले पनि आफूलाई समर्थन गर्ने र गरिरहेको उनले बताए।

राप्रपाका उम्मेदवार पाण्डेले आफू उम्मेदवारी दिँदा नै निर्वाचित भइसकेको टिप्पणी गरेका छन्। उनको यस क्षेत्रमा व्यक्तिगत प्रभाव राम्रो मानिन्छ। अहिले चितवन ३ मै पर्ने तत्कालीन चितवन ५ मा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उनी विजयी भएका थिए।

पाण्डेको माडी र पश्चिम भरतपुरका केही वडामा राम्रो प्रभाव मानिन्छ। मन्त्री भइसकेको र ठूलै ठेकेदार भएकाले आर्थिक परिचालन पनि ठूलै मात्रामा गर्नसक्ने भएकाले उनी बलियो प्रतिस्पर्धीका रूपमा हेरिएका छन्।  

आफू अन्य उम्मेदवारभन्दा सिनियर र यस क्षेत्रको विकासमा धेर काम गरेको र गर्नसक्ने भएकाले जनताले सहजै जिताउने दाबी पाण्डेको छ। ‘मैले मेरो प्रतिस्पर्धी कसैलाई देखेकै छैन। प्रतिस्पर्धी हुन जनतामा भिजेको, काम गरेको र गर्नसक्ने पात्र हुनुपर्छ। कोही छ त्यस्तो ?’ उनले भने, ‘त्यसैले अहिले मेरो विकल्पमा चितवनका जनताले अर्कोलाई देखेका छैनन्।’

स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेर बागी उठेका पौडेलले आफ्नो पक्षमा ३२ हजार भन्दा बढी मत आएर जित्ने दाबी गरेका छन्। उनले भने, ‘म सहजै जित्छु। उतिबेलै १६ हजार मत बदर भएर १६ हजार मत आएको थियो। अहिले त्यस्तो हुँदैन। झन् बढेर आउँछ, सदर पनि हुन्छ।’

कांग्रेस–एमाले मत निर्णायक

कांग्रेस र एमालेका आफ्नै आधिकारिक चुनाव चिह्नका उम्मेदवार नभए पनि निर्वाचन नतिजाका लागि भने उनीहरूकै मत निर्णायक छ। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ यसक्षेत्रमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो शक्ति बनेका थिए। जसमा कांग्रेसले २६ हजार एकसय ३७, एमालेले २४ हजार एकसय ५५, माओवादी केन्द्रले २२ हजार नौसय ८८ र तत्कालीन राप्रपा प्रजातान्त्रिकले पाँच हजार छ सय ३३ मत पाएका थिए।

यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वडा र माडी नगरपालिकाका सबै नौवटा वडा समावेश छन्।

गत स्थानीय तह निर्वाचनमा यी वडाहरूमा दलीय वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो, राप्रपा चौथो र नेकपा एकीकृत समाजवादी (नेकपा एस) पाँचौ शक्ति देखिएको छ। एमालेको २९ हजार सातसय ७१, कांग्रेसको २९ हजार तीनसय ४३, माओवादी केन्द्रको १० हजार नौसय ४० राप्रपाको छ हजार एकसय ९८ र नेकपा एसको पाँचहजार ३७ मत छ।

यस्तो समीकरणले यसक्षेत्रमा आफ्ना उम्मेदवार नभएका एमाले र कांग्रेसकै मत बढी भएकाले उनीहरूकै मत निर्णायक देखिन्छ।

को हुन् भोजराज अधिकारी

पेसाले चिकित्सक रहेका भोजराज अधिकारी फिजिसियन हुन्। उनको जन्म २०३६ साल फागुन १९ गते चितवनकै कुरिनटारमा भएको हो। उनको प्रारम्भिक शिक्षा सरकारी विद्यालयबाटै भएको हो। सुरूवातदेखि नै उनी अब्बल विद्यार्थी थिए।

त्यसपछिको शिक्षा उनले अमृत साइन्स क्याम्पस (अस्कल) बाट आइएस्सी गरेका थिए। त्यसपछि छात्रवृत्तिमा मणिपाल शिक्षण अस्पताल पोखराबाट एमबिबिएस गरे। त्यहाँबाट उतिर्ण भएपछि उनले तीनवर्ष चितवनकै जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरे। यसैक्रममा उनले काठमाडौं विश्वविद्यालयको छात्रवृत्ति कोटामा नाम निकालेपछि एमडिजिपी अध्ययन गरे। त्यहाँबाट उत्तीर्ण भएपछि उनले भरतपुर अस्पातलमा ९ वर्ष फिजिसियनका रूपमा काम गरेका छन्।

त्यसपछि माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री र गगन थापा स्वास्थ्यमन्त्री भएका बेला अधिकारी राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्ष भएका थिए। पछिल्लो पटक कोभिड–१९ को महामारी फैलिँदा भरतपुर अस्पतालमा ७२ घण्टामा छ सय शड्ढयाको अस्पताल बनाउँदा उनले संयोजन गरेका थिए। त्यसपछि उनी भरतपुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका थिए।

सक्रिय राजनीतिक पृष्ठभूमि खासै छैन। तर उनी ८ कक्षा पढ्दै नेकपा मसालको विद्यार्थी संगठनमा सक्रिय रहेको दाबी गर्छन्। अधिकारी २०६२ सालदेखि माओवादी केन्द्रको सक्रिय सदस्य र पछिल्लो समय पार्टीको स्वास्थ्य विभागको सचिव छन्। माओवादी अध्यक्ष दाहालले चितवन ३ छाडेपछि उनले त्यहाँ उम्मेदवार हुने मौका पाएका हुन्।

को हुन् दिनेश कोइराला

कांग्रेसबाट बागी उम्मेदवार रहेका दिनेश कोइराला २०२८ साल वैशाख २९ गते जन्मिएका हुन्। उनी चितवनको भरतपुर महानगरपालिका–६ का स्थायी बासिन्दा हुन्। कोइरालाको राजनीतिक जीवन विद्यार्थी कालदेखि नै सुरु भएको हो। २०५० सालमा ललितपुरको बालकुमारी कलेजमा नेवि संघको इकाइ समिति अध्यक्ष चुनिएका उनले सोही कलेजमा २०५३ सालमा स्ववियु अध्यक्ष जिते। २०५७ सालमा विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचित नेविसंघको केन्द्रीय समितिमा उनी सदस्य थिए।

त्यसपछि उनी २०५८ सालमा चितवन कांग्रेसको प्रवक्ता भए। यही समयमा उनी कांग्रेसको चितवन–काठमाडौं सम्पर्क समितिको अध्यक्ष थिए। चितवनबाट कांग्रेसको तीनपटक महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनेका उनी १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। अहिले कांग्रेसले प्रतिनिधिसभाको टिकट नदिएपछि उनी विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका ह्न्।

को हुन् विक्रम पाण्डे

राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे ६९ वर्षका भए। पाण्डेका अनुसार २०४८ सालबाट उनी राजनीतिमा आएका हुन्। २०४६ सालको परिवर्तनपछि उनी राजनीतिमा प्रवेश गर्न चाहन्थे। तर दुईवर्षसम्म कुन दलमा जाने भनेर निष्कर्षमा पुग्न सकेनन्। उतिबेला कांग्रेस र कम्युनिस्टहरू पञ्चशक्तिहरूलाई गालीको वर्षा गर्थे। यसकारण उनीहरू शक्तिमा आएपछि पञ्च नेताहरूमाथि कारबाही हुन्छ भन्ने सोचेका थिए उनले तर भएन्।

यसैक्रममा सूर्यबहादुर थापा चितवन आएर एउटा कार्यक्रममा भाषण गरे। उनको भाषण पाण्डेलाई चित्त बुझ्यो। राष्ट्रियताको रक्षाका लागि राप्रपा नै उपयुक्त शक्ति ठान्दै उनी त्यसको सदस्य भए। त्यसपछि उनी राप्रपाको जिल्ला कमिटिका विभिन्न पदमा बस्दै पोखरा महाधिवेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। उनी पार्टीको सहमहामन्त्री, महामन्त्री हुँदै दुईपटक उपाध्यक्ष भइसकेका छन्।

उनी २०५६, २०६४, २०७० र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन लडिसकेका छन्। यसकारण यसपटकको निर्वाचन उनको पाँचौ हो। उनले २०७० मा संविधानसभा सदस्य निर्वाचनमा मात्रै जितेका थिए। त्यसपछि उनी तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारमा २०७३ सालमा वनमन्त्री भएका थिए। २०७४ सालको निर्वाचनमा कांग्रेसको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँगै लडेका उनी पराजित हुन पुगेका थिए। यसपटक उनी राप्रपाकै एकल शक्तिका बलमा निर्वाचन लड्दैछन्।

पाण्डे नेपालको ठूला निर्माण व्यवसायीमध्येका एक हुन्। उनको ‘क’ वर्गको कम्पनी कालिका कन्स्ट्रक्सनले नेपालका अधिकांश ठूला ठेक्काहरू हत्याउँदै आएको छ। राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर पनि उनकै कम्पनीले निर्माण गरेको थियो। जसमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रूपैयाँ मागदाबी गर्दै उनीविरुद्ध मुद्दा चलाइएको छ। केही समय पुर्पक्षका लागि थुनामा रहेका पाण्डे २०७५ माघ २ गते विशेष अदालतमा चार करोड रूपैयाँ धरौटी राखेर छुेटका हुन्। अहिले उनले यो मुद्दामा सफाइ पाइसकेका छन्।

को हुन् जगन्नाथ पौडेल

चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलको जन्म २००९ सालमा कास्की जिल्लामा भएको हो। उमेरले उनी ७१ वर्षका भए। हाल भरतपुर महानगरपालिका ७ कृष्णपुरमा बस्छन्। उनको राजनीतिक यात्रा २०२७ सालबाट सुरु भएको हो। उनी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य रहेको बताउँछन्। उनले राजनीतिशास्त्रमा एमए र कानुनमा बिएल गरेका छन्। २०३४ सालमा बिपी कोइरालालाई देशद्रोहको मुद्दा लाग्दा तत्कालीन अधिवक्ता कुसुम श्रेष्ठको सहयोगीका रूपमा उनी न्यायको लडाइँमा संलग्न थिए। त्यसपछि उनले २०३४ देखि २०४२ सालसम्म नेपाल ल क्याम्पसमा अध्यापन गरे। त्यसबीचमा उनी अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलको सदस्य र महामन्त्री भएर काम गरे।

२०४२ सालको सत्याग्रहमा उनी राज्यविप्लवको मुद्दा लागेर जेल पुगेका थिए। उनी २०४६ मा पनि जेल परेका थिए। बहुदल आएपछि २०४९ सालमा पौडेल भरतपुर नगरपालिकाको उपमेयर निर्वाचित भए। उनी २०५४ सालमा राष्ट्रियसभा सदस्य बने। त्यसयता उनी लगातार कांग्रेसको राजनीतिमा सक्रिय छन्।

गत स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाकोे मेयर कांग्रेसले माओवादी केन्द्रलाई दिएपछि उनले पार्टीनिर्णयविरुद्ध विद्रोह गरे। उनलाई चितवन कांग्रेसका पूर्व सभापतिद्वय कृष्णलाल सापकोटा र टीकाराम न्यौपाने, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, नेतृ मीना खरेल, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याललगायतको सहयोग रह्यो। चुनावमा उनले १४ हजार ७ सय २८ मत पाए। त्यसयता उनी पार्टी कारबाहीमा छन्। अहिले फेरि स्वतन्त्र उम्मेदवार भएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएका छन्।

प्रकाशित: ७ कार्तिक २०७९ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App