coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘लोकतन्त्र र गणतन्त्र स्थायी बनाउन गठबन्धन’

लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाउन अहिले गठबन्धनको आवश्यकता रहेको नेताहरूले बताएका छन्। शनिबार संयुक्त निर्वाचन परिचालन समन्वय समिति प्रदेश १ ले विराटनगरमा आयोजना गरेको संयुक्त भेलामा बोल्दै लोकतान्त्रिक–वाम संयुक्त गठबन्धनका शीर्ष नेताहरूले यस्तो बताएका हुन्।  

भेलालाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र डा. शेखर कोइरालालगायतले सम्बोधन गरेका थिए।  

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले प्रतिगमन र देश वर्वाद बनाउन खोज्नेविरुद्ध जोखिम मोलेर एक भई अघि बढेकाले कुनै पनि शंका वा संकोच मान्नुपर्ने अवस्था नरहेको बताए। ‘अहिले यो वा त्यो भन्ने समय नभएकाले गठबन्धनका उम्मेदवारलाई खुलेर सहयोग गर्न जरुरी छ,’ उनीहरूले सबै नेता तथा कार्यकर्ताहरूले आम जनतालाई गठबन्धनका पक्षमा मतदान गराउन नेताहरूले अग्रह गरे।  

यसअघि पनि गठबन्धनभित्रका दलका हामीहरूले एकअर्काको चिह्नमा मतदान गरिसकेको बताउँदै, उनीहरूले, ‘हामीलेहरूले जुन जोखिम मोलेर एकताका साथ लोकतन्त्र र गणतन्त्र बचाउन लागी परेका छौं। त्यो सबै जनताले बुझेकाले हाम्रो गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन हुन्छ भन्नेमा हामीहरू ढुक्क छौं। कांग्रेसका शीर्ष नेताले हँसिया हथौडामा र माओवादीका शीर्ष नेताले रुख चिन्हमा मतदान गरिसकेको हुँदा तमाम कार्यकर्ता र जनताले कुनै संकोच मान्नु हुँन्न भन्नेमा हामीहरू रहेका छौं।’  

‘गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका नेताहरूको गणतन्त्र ल्याउनका लागि ठूलो योगदान रहेको बताउँदै, प्रधानमन्त्री देउवाले भने, ‘कुरो हँसिया हथौडाको छ। मैले त त्यसमा भोट हालिसकेँ। गिरिजा बाबुले उसबेला नै हँसिया हथौडामा भोट हालिसक्नुभयो। सम्झौता गर्दाका बेलामा गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा भोट हालिसकेको हुँदा मैले पनि हँसिया हथौडामा भोट हालिसकेको छु।’

लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन गठबन्धनका सबै उम्मेदवारलाई मतदान गरी विजयी बनाउन उनले आग्रह गरे। ओलीले पनि गठबन्धन गरेका छन्। तर, उनीहरू जस्तो सत्ताका लागि नभई आफूहरूले गरेको गठबन्धन संविधान र लोकतन्त्रको पक्षमा रहेको हुँदा आफ्नो पार्टीका उम्मेदवार भएका स्थानमा रुखलाई र तालमेल गरिएका क्षेत्रमा गठबन्धन दलको चुनाव चिह्नमा भोट दिन उनले भने। ‘हामी शीर्ष नेताले त हँसिया हथौडामा भोट हालिसकेको हुँदा तपाईंहरूले कुनै संकोच मान्नु पर्ने अवस्था छैन,’ प्रधानमन्त्री देउवाले भने, ‘जहाँ जोसँग जस्तो किसिमको गठबन्धन छ सोहीअनुसारको एकअर्कालाई सहयोग गर्दै कमल, हँसिया हथौडा वा रुख चिन्छ त्यसमा मतदान गर्न फेरि पनि सबैलाई अग्रह गर्दछु।’  

त्यस्तै नेकपा माओवादीका अध्यक्ष दाहालले कुनै खास अवधिको निर्वाचनको खास अर्थ र महत्व हुने र सबै निर्वाचन एकै प्रकारको नहुने बताउँदै, अध्यक्ष दाहालले भने, ‘कुनै समयको निर्वाचन एउटा लोकतन्त्रिक अभ्यासका लागि हुन्छ। मंसिर ४ को आमनिर्वाचन ‘संग्रामु का रूपमा हुन लागेको छ। अहिलेको निर्वाचनमा २ वटा विचार, २ वटा प्रवृत्ति, २ वटा संस्कृति र २ वटा गठबन्धनबीचमा ‘संग्राम’का रूपमा हुँदैछ।’  

आफूहरूको गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन हो भने अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन भएको टिप्पणी गरे। उनले शान्ति सम्झौता र संविधान रक्षाका लागि कांग्रेससहितको गठबन्धन निर्माण गरिएको हुँदा गठबन्धनको मर्म र भावना अनुरूपका उम्मेदवारलाई विजयी बताउन सबैलाई आग्रह गरे। गठबन्धनलाई जिताएर बहुमतको सरकार बनेमा अहिले टिकट नपाएकाहरूलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताउँदै, अध्यक्ष दाहालले भने, ‘गठबन्धनको बहुमत आएर सरकार बन्यो भने विभिन्न स्थानमा नियुक्तिका धेरै अवसरै अवसर हुन्छ। तर, चुनाव हारियो भने चाहिँ हामी सबैको हालत खराब हुने भएकाले सबैले समयमै सचेत हुनुपर्छ।’

‘एकताबद्ध भएर चुनावी अभियानमा विजयीको झण्डा फहराउनका लागि उत्प्रेरित गराउन हामी आएका छौं,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘त्यो समय, अवस्था र सरकारको ठीक तरिकाले नेतृत्व हुन नसकेकाले बेठीक मान्छेको हातमा पुगेको मुलुकलाई संकटबाट जोगाउनका लागि हामीले जोखिम मोलेका हौं। लोकतन्त्र धरापमा पर्दै, संघीयता खारेज हुन्छ कि भन्ने हामीलाई डर थियो। लोकतन्त्र र गणतन्त्रलाई जोगाउँदै स्थायी बनाउनका लागि आफूले त्याग गरेको हो।’

‘सबै पार्टीभित्र आ–आफ्नै किसिमका समस्या होलान्। तर, अहिले त्यसलाई एकातर्फ राखेरपछि आन्तरिक रूपमा छलफल वा समीक्षा गरौंला,’ नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले भने। समाज र राष्ट्रका समस्यामा हाम्रो ध्यान केन्द्रीत बनाउने समय आएकाले गठबन्धन बनाइएको भन्दै नेपालले भने, ‘हाम्रो गठबन्धन प्रतिगामी गठबन्धनविरुद्ध भएकाले सबै जना एकजुट भएर अघि बढ्नुपर्छ। अर्कोतर्फ रहेको प्रतिगामी गठबन्धन फेरि पनि टाउको उठान खोज्दैछ। त्यसलाई परास्त पार्दै संविधा र गणतन्त्रको रक्षाका लागि हाम्रो गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन तमाम नेता, कार्यकर्ता एकै ठाउँमा उभिन जरुरी रहेको छ।’

प्रकाशित: ६ कार्तिक २०७९ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App