६ वैशाख २०८१ बिहीबार
राजनीति

दुई नेताप्रति संकेत गर्दै ओलीले भनेः टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक छैन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन्।

भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र? भनि प्रश्न समेत गरे। शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टिकरण समेत दिए।

ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरी टिकट नपाउनु स्वभाविक भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए। उनले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने आश्वासन समेत दिए।

आवश्यक्ता भन्दा बढी अवसर पाएकाहरु फेरी पनि अवसरको पछि कुँदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने भनाइ राखे। अध्यक्ष ओलीले आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिबद्धता समेत व्यक्त गरे। अध्यक्ष ओलीले मंसीर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गरे।

उनले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहोर्‍याउँदै त्यस लक्ष्य प्राप्तिका लागि आगामी मंसीर ४ गतेको निर्वाचन सार्थक हुने विश्वास समेत व्यक्त गरे।

अध्यक्ष ओलीले भने, ‘अब परमादेश होइन् जनादेश खासगरी मंसीर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसीर ४ गतेको निर्वाचनबाट गर्दैछौं। त्यसकारण म सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरुलाई यो निर्वाचन साधारण आवधिक निर्वाचन मात्रै होइन। यो निर्वाचन वास्तवमा असाधारण निर्णय गर्नुपर्ने, देश जित्ने कि हार्ने भन्ने कुराको टुंगो लाग्ने निर्वाचन यस्तो फैसला गर्नुपर्नेछ, यस निर्वाचनबाट। म सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु–यो निर्वाचनलाई हामीले सार्थक निर्वाचन र देशका निम्ति, देशको हितको पक्षमा फैसला गर्ने गरीको निर्वाचनको रुपमा यसलाई अगाडि बढाउन म सबैलाई योगदान गर्न आग्रह गर्न चाहन्छु।’

अध्यक्ष ओलीले परमादेशी सरकार बनाउने गम्भीर गल्ती विगतमा गरेपनि अब न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए। 

प्रकाशित: ५ कार्तिक २०७९ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App